कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सहिद दिवस : गंगालालले जब कान्छाको मुख हेर्छु भने...

मातृका दाहाल

काठमाडौँ — विजयलाल श्रेष्ठ (८५) का जेठा दाइ सहिद गंगालाल श्रेष्ठ । माइला दाइ पुष्पलाल नेपाल कम्युनिस्ट पार्टीका संस्थापक । दुवैको गर्विलो इतिहास छ । दुवैप्रति अहिलेको पुस्ताले पनि उत्तिकै श्रद्धा र आदर गर्छ । 

सहिद दिवस : गंगालालले जब कान्छाको मुख हेर्छु भने...

विसं १९९१ मा जन्मिएका विजयलालका साइँला र काइँला दाइको पनि निधन भइसकेको छ । विजयलाल पुष्पलाल स्मृति प्रतिष्ठानका उपाध्यक्ष हुन् तर उनलाई धेरैले गंगालाल र पुष्पलालको भाइका रूपमा चिन्छन् । सहिद गंगालाल र नेकपाका संस्थापक पुष्पलालका कान्छा भाइ हुनुमा उनी गर्व गर्छन् ।


राणा शासनविरोधी आन्दोलनमा लागेकै कारण वि.सं. १९९७ माघ १०–१६ भित्र शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल र दशरथ चन्द मारिए । उनीहरूकै स्मरणमा वि.सं. २०१२ देखि माघ १०–१६ मा औपचारिक रूपमा सहिद सप्ताह मनाउने गरिएको छ ।


यही मेसोमा विजयलालसँग भेट्न महाराजगन्जस्थित निवास पुग्दा उनले चित्त दुखाए अनि फिस्स हाँस्दै भने, ‘तपाईं गंगालालको ‘सराद्धे’ गर्न आउनुभएको त होला नि, बस्नुस् ।’


हरेक वर्ष माघ १६ आसपास पारेर उनलाई सम्झने धेरै हुँदा रहेछन् । सबैले वर्षैपिच्छे सहिद दिवसमा मात्रै गंगालालको स्मरण गर्ने गरिएकामा उनको चित्त दुखेको रहेछ । ‘नबोलौं भने बोल्नै छोड्यो, ठूलो पल्ट्यो भन्छन्, बोलौं भने के बोलौं र खै, नेताहरूका गतिविधि हेर्दा त सहिद परिवारको सदस्य भन्न पनि ग्लानि हुन्छ,’ उनले सुस्केरा हाले ।


अग्नि सापकोटालाई सभामुख बनाएकामा नेकपाप्रति उनको चित्त दुखाइ रहेछ । उनलाई अहिलेको राजनीतिक गतिविधि पटक्कै चित्त बुझेको छैन ।


‘दाजुले खोलेको पार्टीले देश चलाइरहेको छ नि, कस्तो लागेको छ ?’ यो प्रश्नले विजयलाल केहीबेर अवाक बने । बोल्न खोज्दा गला अवरुद्ध भयो । केहीबेर आँखा टिलपिल बनाउँदै उनले भने, ‘पुष्पलालले हत्या आरोपितलाई राज्य सञ्चालन गर्न दिनका लागि पार्टी खोलेका थिएनन्, गंगालालले यस्तो किसिमको होला भनेर प्राण आहुति दिएका थिएनन् । गंगालाल र पुष्पलाल अहिलेका नेताका गतिविधि हेरेर धरधरी रोइरहेका होलान् ।’ कम्युनिस्ट नेताहरू करोडपति/अरबपति हुँदै गएको उनलाई मन परेको छैन ।

बाँसबारीस्थित सहिद गंगालाल हृदयरोग केन्द्र पुग्दा दाइको सालिक हेरेर विजयलाल एकोहोरिन्छन् । शोभाभगवती नदीकिनार पुग्दा केहीबेर रोकिन्छन् ।


जन्मेको तीन वर्षमै आमा गुमाएका उनले त्यसको तीन वर्षमा वि.सं. १९९७ माघ १५ मा दाजु गंगालाललाई गुमाएका थिए । उनी गंगालालभन्दा १६ वर्ष कान्छा छन् ।


प्रमाणपत्र तह पढ्दै गर्दा गंगालाल तत्कालीन प्रजापरिषद्को कार्यक्रममार्फत् राणाशासनको विरोधमा लागिसकेका थिए । रुसी क्रान्ति र भारतमा ब्रिटिस उपनिवेशविरोधी मुभमेन्टको प्रभाव गंगालालमा परेको थियो । रुसमा कोही धनीगरिब हुन्न भन्ने छाप परेरै गंगालाल राणाविरोधी आन्दोलनमा होमिएको विजयलालको बुझाइ छ । शुक्रराज शास्त्रीलगायतको संगत उनमा थियो ।


गंगालालबारे त्यति धेरै स्मरण नभए पनि न्युरोडस्थित घरबाट पक्रेर लगेको अहिले पनि विजयलालको मानसपटलमा ताजै छ । विसं १९९७ कात्तिक २ गते घरबाटै पक्राउ परेका गंगालाललाई सिंहदरबार लगिएको थियो । अहिले रक्षा मन्त्रालय रहेको पुतली बगैंचामा थुनिएको थियो । गंगालाललाई विजयलालको मुख हेर्न मन लागेछ । ‘कान्छालाई लिएर आउनू, साह्रै हेर्न मन छ’ भनेर एक दिन सन्देश पठाएछन् । सन्देश कर्मचारीले पुष्पलाललाई पुर्‍याएछन् । पुष्पलाल ६ वर्षको भाइलाई लिएर सिंहदरबार गए ।


‘ओढ्ने/ओछ्याउने पुष्पलालले बोक्नुभयो, मैले हातमा हटकेस बोकेर सिंहदरबार गएको याद छ,’ विजयलालले भने, ‘गंगालाल र पुष्पलाल दुवैले मलाई औधि माया गर्थे । टुहुरो भएकाले पनि होला । म केटाकेटी नाथे, आमा बितेको तीन वर्ष भएको, दाजुले साह्रै माया गरेर बोलाउनुभएको रहेछ, पछि पो त्यसको भाव बुझें ।’ पुतली बगैंचामा भेटेको, शोभाभगवतीमा शव देखेको र परिवारका सदस्यहरू रोएको उनको आँखाअघि झलझली आइरहेको छ ।


गंगालाल देश, जनता, समानता, न्याय र प्रजातन्त्रका लागि लडेका हुन् । अहिलेको भद्रगोल राजनीति सहिदको सपना नभएको विजयलाल बताउँछन् । कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार बने पनि सहिदले देखाएको बाटो नहिँडेको उनको दु:खेसो छ ।


गंगालाललाई गोली हानेर मारेपछि शव उठाउन पनि त्यसबेला मान्छे नपाएको स्मरण गर्दै उनी भन्छन्, ‘सत्ता र लोभमा लागेको भए गंगालालले उतिबेलै माफी पाएर धनसम्पत्ति जोड्न सक्थे तर त्यो बलिदानलाई नेताहरूले दुरुपयोग गरे, कम्युनिस्ट नेता जनताबाट टाढिए, धनाढ्य भए ।’


राणाको त्रासले शव उठाउने मानिस नभएपछि केही आफन्त मिलेर शोभाभगवती किनारबाट गंगालालको शव उठाएको उनलाई माइला दाइ पुष्पलालले सुनाएका थिए । बुबा भक्तलालका साथी शिवकुमार श्रेष्ठ, परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठका काका तुतुभाइ श्रेष्ठ, कान्छा काका शम्भुलाल श्रेष्ठका सम्धी जुक्तमान श्रेष्ठ, फुपूका छोरा आनन्दराम श्रेष्ठ र परिवारका सदस्यले गंगालालको शव उठाएका थिए । ‘त्यही बेलादेखि बुबाले नेवारको काजकिरिया गर्ने गुठी छोडिदिनुभयो,’ उनी भन्छन् ।


भक्तलाल राणाशासनकै बेला डिल्लीबजारमा एउटा सेक्सनको हाकिम थिए । जागिरकै क्रममा सरुवा भएर रामेछाप पुगे । कीर्तिपुरका रैथाने उनको तुलसीमायासँग विवाह भयो । गंगालाल र पुष्पलाल रामेछापमा जन्मिए, विजयलाल ओखलढुंगामा ।


मर्छु भन्ने जान्दाजान्दै राणाशासनको विरोधमा लागेका र अहिलेका आन्दोलनमा मारिएका व्यक्तिलाई समान दर्जा दिइनु ‘सहिदकै अपमान’ भएको उनले बताए । ‘माइला दाजुले कम्युनिस्ट पार्टी निर्माण गरिदिनुभयो, जेठाले प्रजातन्त्र । जनताका हकअधिकार र समानताका लागि प्राण आहुति दिनुभयो तर त्यसको नतिजा हत्या आरोपित सभामुख बने,’ उनी भन्छन्, ‘सहिदको मोल तोक्नेहरू मूर्ख हुन् । देश बनाउन होइन, खान र ब्रह्मलुट गर्नमा सबै एक हुन्छन् ।’


नेकपा अध्यक्ष पुष्पकमल दाहालले सशस्त्र आन्दोलनमा मारिएका ५ हजारको जिम्मा लिन्छु भनेकामा पनि उनको मन कुँडिएको रहेछ । प्रचण्ड ‘धनपति’ नेता भएको उनले टिप्पणी गरे । ‘पुष्पलालले पार्टी जन्माएको नेताहरूलाई धनपति बनाउनकै लागि हो त ?’ उनको प्रश्न छ ।


हरेक वर्ष मनाइने सहिद दिवसमा पनि सरकारले सहिदका परिवारलाई सम्झन छाडेको उनको गुनासो छ । राजा महेन्द्रकै पालामा १/२ पटक उनलाई सहिदका परिवारको नाताले कार्यक्रममा बोलाइएको थियो । त्यसपछि यस्ता औपचारिक कार्यक्रममा निम्तो नआएको उनले बताए ।


नयाँसडकछेउमा जुद्ध शमशेरको सालिक राखिएकामा उनको असन्तुष्टि रहेछ । ‘जसले न्याय, समानता र प्रजातन्त्रका लागि लड्ने व्यक्तिहरूलाई मार्ने शासकको सालिक तिनैको घरछेउ सडकको बीचमा राखिनु सहिदहरूको अपमान हो, त्यसलाई अन्यत्र सार्नुपर्छ,’ उनको माग छ । जुद्ध सालिकबाट केही पूर्वतर्फ दशरथ चन्दका नाममा सहिद स्मारक रंगशाला छ । गंगालालको घर पनि त्यहीँ नजिक थियो ।


शिरमा राजा त्रिभुवनको सालिक भएकै कारण सहिदगेटलाई उपेक्षा गरिनु उपयुक्त नभएको उनको बुझाइ छ । ‘त्रिभुवनले पनि त राणाशासन हटाउन त्याग गरेकै हुन् नि,’ उनले भने, ‘पछि पो निरंकुश बने, जनताका अधिकार खोसे तर प्रजातन्त्र ल्याउनमा त उनको पनि भूमिका छ नि ।’

प्रकाशित : माघ १६, २०७६ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?