कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सहिद दिवस : ‘विकृति मौलायो’

विद्या राई

काठमाडौँ — जहानियाँ राणा शासनविरुद्ध आवाज उठाउँदै गर्दा सहिद शुक्रराज शास्त्रीलाई टेकुस्थित रूखमा झुन्ड्याएर मारियो । प्रजातन्त्रका लागि लड्दालड्दै मारिएका उनलाई सरकारले उचित सम्मान दिन नसकेको परिवारको गुनासो छ । 

सहिद दिवस : ‘विकृति मौलायो’

शास्त्रीलाई फाँसी दिइएको २० वर्षपछि जन्मेका नाति आनन्दराज जोशी भन्छन्, ‘सरकारले चार सहिदका नाममा खासै सम्मान गरेजस्तो लाग्दैन, अहिले १५/१६ हजार सहिद पुगे रे ! यो ठाउँमा यो समयमा मर्दै छु भन्ने थाहा हुँदाहुँदै मर्न जानेको मन कति उथलपुथल भएको थियो होला त्यतिबेला ? यसलाई सरकारले गम्भीरतासाथ लिएको देखिँदैन ।’ शुक्रराज आनन्दराजका माइला हजुरबुबा हुन् ।


राणाहरूले आठवटा मुद्दामा फसाएर १९९७ माघ १० गते राति उनलाई टेकुमा झुन्ड्याएर मारेका थिए । माघ ६ मा सर्वस्वहरणसहित फाँसीको सजाय सुनाइएको थियो । यो थाहा पाएपछि शुक्रराजले आफूले लगाउँदै गरेको घडी दलित समुदायका मानिसलाई लगाउन दिएका थिए । मर्नुअघि धोती फेरेका थिए । आनन्दराज भन्छन्, ‘म मरेपछि यो घडी के काम भन्दै मर्नुअघि अर्कालाई लगाउन दिनुभएछ, उहाँ सहिदहरूका हजुरबा सहिद हुनुहुन्छ, यसैमा गर्व छ ।’


पछिल्लो समय सहिदका नाममा विकृति मौलाउँदै गएको उनलाई मन परेको छैन । ‘सहिदका नाममा खेतीपाती भइरहेको छ तर कसैलाई गाली गर्न मन छैन,’ उनले भने । सहिदका नाममा हजारौं, लाखौं रुपैयाँ सरकारसँग दाबी गर्नेहरू धेरै भेटिन्छन्, शुक्रराजका नाममा भने एक रुपैयाँ नलिएको उनले दाबी गरे । ‘हामीले खोजेका नि छैनौं, सरकार खोज्दै आएको पनि छैन,’ आनन्दले भने, ‘सहिदलाई पैसासँग दाँज्न सकिँदैन । तिनको योगदानलाई स्वार्थसँग दाँज्न मिल्दैन ।’


शुक्रराजका नाममा उनको परिवारले अद्वैत मार्गमा सहिद शुक्र माध्यमिक विद्यालय स्थापना गरेको छ । विद्यालय खोल्नका लागि शुक्रराजकी बहिनी चन्द्रकान्ता मल्लले जग्गा दिएकी थिइन् । परिवारका अन्य सदस्यले विद्यालय निर्माण गर्न सहयोग गरेका थिए । चन्द्रकान्ता सर्वहारालाई शिक्षा दिनुपर्छ भन्ने अभियन्ता थिइन् । उनी ०४२ सालमा बितिन् ।


१९५० सालमा ललितपुरको मंगलबजारभित्र भकुम्बहालमा जन्मिएका शुक्रराजका बाबु माधवराज जोशी आर्य समाजका नेता थिए । उनलाई बेलाबेला देशनिकाला गरिन्थ्यो । शुक्रराज काठमाडौंको बांगेमुढामा बस्थे । उनले ‘हृमसूत्र शांकर भाष्य’, ‘स्वर्गको दरबार’, ‘नेपाल भाषा व्याकरण’, ‘संस्कृत प्रदीप’ लगायत पुस्तकहरू लेखेका थिए । संस्कृत भाषामा उच्च श्रेणीमा शास्त्री गरेका कारण उनलाई शास्त्री भनिएको हो ।


पञ्जाब विश्वविद्यालयबाट अंग्रेजी विषयमा स्नातक गरेपछि नेपाल फर्केका थिए । त्यसपछि क्रान्तिकारीहरूसँग घुलमिल भए । १९९३ सालमा ‘नागरिक अधिकार समिति’ मा बसी राणा शासनविरोधी अभियानमा लागे । भारतमा उनले महात्मा गान्धीसँग भेट गरी नेपालका बारेमा कुरा गरेका कारण काठमाडौं फर्केपछि उनलाई राणा सरकारले नजरबन्द गरेको थियो । नजरबन्द तोडेर निस्किएपछि १९९५ साल माघ १३ मा काठमाडौंको इन्द्रचोकमा आमसभा गरी उनले राणा शासकविरुद्ध एकजुट हुन जनतालाई आह्वान गरेका थिए । त्यसपछि राजद्रोहको अभियोग लगाई उनलाई पक्राउ गरेर तीन वर्ष कैद सुनाइएको थियो । त्यही बेला विभिन्न मुद्दामा फसाएर फाँसी दिइएको थियो ।

प्रकाशित : माघ १६, २०७६ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?