१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नेकपा केन्द्रीय कमिटी बैठक : ओली भन्छन्- ‘सरकारविरुद्ध प्रचार आक्रमण डरलाग्दो गरी छेडिएको छ’ 

झन्डै २ घण्टा भाषण गरेका प्रधानमन्त्री ओलीले करिब एक घण्टा सरकारले गरेका कामको वर्णन गरे र भने, ‘तर सरकारविरूद्ध प्रचार आक्रमण डरलाग्दो गरी छेडिएको छ ।’
बिनु सुवेदी

काठमाडौँ — नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले झन्डै डेढ वर्षपछि बसेको केन्द्रीय कमिटी बैठकमा सरकारविरुद्ध प्रचार आक्रमण छेडिएको बताएका छन् । पार्टी र सरकारका कामलाई लिएर केन्द्रीय सदस्यले उठाउने सम्भावित प्रश्नको बैठकको सुरुमै जवाफ दिँदै उनले दुई वर्षमा सरकारले असाधारण उपलब्धि हासिल गरेको दाबी गरे । ‘तर सरकारविरुद्ध प्रचार आक्रमण डरलाग्दो गरी छेडिएको छ,’ उनले भने । 

नेकपा केन्द्रीय कमिटी बैठक : ओली भन्छन्- ‘सरकारविरुद्ध प्रचार आक्रमण डरलाग्दो गरी छेडिएको छ’ 

पार्टीको दोस्रो केन्द्रीय कमिटी बैठकमा बुधबार उद्घाटन मन्तव्य दिँदै प्रधानमन्त्री ओलीले पार्टी र सरकारको काम, यति होल्डिङ्स प्रालिसँगको सम्बन्ध, एमसीसीलगायत विषयबारे छुट्टाछुट्टै व्याख्या गरेका थिए । यी विषयमा सचिवालय सदस्यहरूबीच नै मतभेद छ । केन्द्रीय कमिटी सदस्यहरूले पनि मुख्य गरी यिनै विषयमा सरकार र पार्टीसँग जवाफ माग्ने तयारी गरिरहेका छन् ।


झन्डै २ घण्टा भाषण गरेका प्रधानमन्त्री ओलीले करिब एक घण्टा सरकारले गरेका कामको वर्णन गरेका थिए । उनले विश्वको कुनै पनि सूचकमा नेपालको अवस्था नकारात्मक नरहेको तर्क गरे । उनले बेलायती पत्रिका दि इकोनोमिस्टले समेत उच्च आर्थिक वृद्धि गरिरहेका १० मुलुकको सूचीमा नेपाललाई समावेश गरेको तर नेपालमा नकारात्मक मात्रै प्रचारबाजी भइरहेको बताए । भ्रष्टाचारमा मुछिएकाबाट १४ अर्ब ४६ करोड ९४ लाख बिगो दाबी गरेर मुद्दा चलाइएको जानकारी दिँदै उनले सरकार भ्रष्टाचार हटाउन डटेर लागिपरेको दाबी गरे । भूकम्पपछिको पुनर्निर्माणमा पनि सरकारले असाधारण उपलब्धि हासिल गरेको उनको जिकिर थियो ।

प्रधानमन्त्री ओलीले निर्यात २७ प्रतिशतले बढेको, आयातमा कमी आएको, भुक्तानी सन्तुलन बचतमा रहेको, उत्पादन र उत्पादकत्व बढेको तथा धान, गहुँ र मकैको उत्पादन बढेको तथ्यांक प्रस्तुत गरेका थिए । उनले विकास निर्माणका काममा पनि धेरै उपलब्धि भए पनि व्यवस्थित प्रचार हुन नसकेको गुनासो गरे ।


यतिका विषय बचाउ

प्रधानमन्त्री ओलीले यति होल्डिङ्स र सरकारलाई जोडेर अनावश्यक प्रचार गरिएको भन्दै आक्रोश पोखे । ‘यति होल्डिङ्ससँग हाम्रो एकदम घनिष्ठ या मितेरी साइनो हो कि भनेजसरी प्रचार गरियो,’ उनले भने, ‘यतिसम्म कि तत्कालीन महासचिव मदन भण्डारीले पासाङ ल्हामु हिमाल आरोहण गर्न जानुभन्दा अगाडि बिदाइ गरेको फोटोलाई जोडेर अहिले ल्याइएको छ ।’


ओलीले यतिलाई जग्गा भाडामा दिइएको लगायतका विषयमा विगतका सरकारहरू जोडिएको भन्दै केही नेताको नाम पनि लिए । उनले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा लिजमा दिइएको कालीमाटी र दरबारमार्गको जग्गाबारे अहिले कुरा उठाइएको भन्दै आपत्ति जनाए । ‘शेरबहादुर देउवाजी प्रधानमन्त्री हुँदा हो, त्यतिखेर माओवादी पनि सरकारमा थियो, कालीमाटीको जग्गा लिजमा दिइएको रहेछ । प्रक्रिया पुर्‍याएरै विधिवत् रूपमा दिएको देखिन्छ,’ उनले भने, ‘नारायणहिटी अघिल्तिरको जग्गा पनि भाडामा दिने नीतिअनुसार नै दिइएको रहेछ ।’ उनले उक्त जग्गा १ अर्बमै दिनुपर्नेमा गल्तीले ६ अर्ब लेखिएको र पछि सच्याइएको र उक्त काम अघिल्लो सरकारले गरेको बताए । प्रधानमन्त्री ओलीले पाथीभराको जग्गा पनि सित्तैमा नदिइएको दाबी गरे । ‘सित्तैमा होइन, ८० वर्षका लागि पनि होइन, ९३ रोपनी जमिन ३० वर्षका लागि ९३ रोपनी नै अर्को ठाउँमा किनेर वृक्षरोपण गर्नुपर्ने र त्यहाँ पनि लिज तिर्नुपर्ने सर्तमा दिइएको हो,’ उनले भने, ‘व्यापारिक घरानाको अस्वस्थ प्रतिस्पर्धामा सरकार बीचमा पर्दैन, परेर पनि के काम र ?’


ओलीले विदेशीको लगानी भएको गोकर्ण रिसोर्ट नेपालीले पाएकामा ब्ल्याकमेल गरिएको आरोप लगाए । ‘कि रिसोर्ट बन्द गर्नुपर्‍यो कि त अरू संरचना बनाउन मिल्ने गरी लिज अवधि नसकिँदै समय बढाउनुपर्‍यो,’ उनले भने, ‘कि हामी रिसोर्ट बन्द हुनुपर्छ भन्नेमै गएका हौं ?’


‘एमसीसीबारे विवाद हुँदा क्षति’

प्रधानमन्त्री ओलीले एमसीसी सम्झौताबारे अनावश्यक विवाद हुँदा सरकारले खर्च बेहोर्नुपर्ने अवस्था आएको बताए । उनले नेपालले सबै मापदण्ड पूरा गरेपछि मात्रै सन् २०१२ मा सम्झौता प्रक्रिया अघि बढेको जानकारी गराए । एमसीसीअन्तर्गत आएको रकम सैन्य, सुरक्षा र हातहतियार खरिदमा खर्च नगरिने र एमसीसी इन्डो–प्यासिफिक रणनीतिअन्तर्गत नरहेको बताए ।


तत्कालीन उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले सन् २०१७ मा एमसीसीबारे अमेरिकासँग कुरा गरेको प्रधानमन्त्री ओलीले जानकारी दिए । ‘महराजीले एमसीसी सम्झौता मन्त्रिपरिषद्बाट स्वीकृत गर्न सकिन्छ र संसद्बाट अनुमोदन गर्न अप्ठ्यारो हुँदैन भन्नुभएको थियो,’ उनले भने, ‘त्यसको केहीपछि तत्कालीन अर्थमन्त्रीले न्युयोर्कमा गएर सम्झौता गर्नुभएको थियो ।’ प्रधानमन्त्री ओलीले एमसीसीबारे थप विवाद गरिरहनुनपर्ने बताए । ‘यो सहायता हो । यसमा नेपाललाई होच्याउने, अपमान गर्ने कुरा छैनन् । यो कुनै अर्को कुरासँग जोडिएको छैन । हामीले जुन सम्झौता गरेका छौं, त्योसँग मात्र सबन्धित छ,’ उनले भने, ‘सम्झौताअनुसारको परियोजना ५ वर्षभित्रमा पूरा गरिसक्नुपर्छ । पूरा भएन भने रकम फ्रिज हुन्छ । सम्झौता पनि टुंगिन्छ ।’


प्रधानमन्त्री ओलीले एमसीसी सम्झौता कार्यान्वयनमा जाँदा सार्वभौमसत्तामा कुनै असर नपर्ने दाबी गरे । उनले सम्झौतामा भनिएअनुसार काम नभए अमेरिका र नेपालमध्ये जुनसुकै देशले पनि सम्झौता भंग गर्न सक्ने र नेपालले ६/६ महिनामा हिसाब हेर्न पाउने जानकारी बैठकमा गराए । उनले एमसीसी सम्झौतालाई संसद्ले छिट्टै अनुमोदन गर्ने विश्वास व्यक्त गरे ।


बिनाअध्यक्षता बैठक

बैठकको अध्यक्षता पहिलो वरीयताका ओलीले गर्ने कि कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले गर्ने भन्नेमा विवाद भएपछि नेकपा केन्द्रीय कमिटी बैठक औपचारिक अध्यक्षता नगरी सुरु भएको छ । पार्टी एकीकरणपछि सम्भवत: पहिलोपटक नेकपाको बैठक बिनाअध्यक्षता सञ्चालन भएको हो । यसअघि बसेको एउटा केन्द्रीय कमिटी र तीन वटा स्थायी कमिटीको बैठकको अध्यक्षता ओलीले गरेका थिए । गत पुस २९ गतेको स्थायी कमिटीमा ओली उपस्थित भएनन् र पूरै बैठक दाहालको अध्यक्षतामा सञ्चालन भयो । गत पुस ४ गते दुई अध्यक्षबीच भएको कार्यविभाजनमा बैठक संयुक्त अध्यक्षतामा सञ्चालन गर्ने, आम रूपमा बैठकको अध्यक्षता र सञ्चालन दाहालले गर्ने सहमति भएको थियो । त्यसपछिका सचिवालय बैठकमा पनि समान कुर्सीहरू राखेर अध्यक्षता दुवैले गर्दै आएका थिए । ‘केन्द्रीय कमिटी बैठकमा अध्यक्षताका लागि कसैलाई आग्रह गरिएन,’ स्रोतले भन्यो, ‘महासचिवले बिनाअध्यक्षता कार्यक्रम चलाउनुभयो ।’


‘जिउँदा नेताको फोटो किन ?’

बैठकमा केही केन्द्रीय सदस्य राजेन्द्र राई र जगन्नाथ खतिवडाले नेताहरूको फोटो टाँसेर राजावादी चरित्र देखाउन खोजेको भन्दै आपत्ति जनाएका हुन् । ब्यानरमा नेकपाका संस्थापक नेता पुष्पलाल र नेकपाका तत्कालीन महासचिव मदन भण्डारीको फोटो र छेउछेउमा अध्यक्षद्वयका फोटो राखिएका छन् ।


खतिवडाले बैठकमा जिउँदा नेताको फोटो राख्ने चलन कहिलेदेखि आएको हो भन्दै त्यसको निर्णयको माइन्युट देखाउन आग्रह गरेका थिए । राईले पनि माथि आफ्नै फोटो टाँस्ने र तल आफैंले भाषण गर्ने परम्पराको थालनी नै अलोकतान्त्रिक भएको भन्दै बैठकस्थलबाट अध्यक्षद्वयको फोटो हटाउन माग गरेका थिए ।


बैठक सुरु हुनुअघि अध्यक्षद्वयका लागि कुर्सी अरूको भन्दा फरक राखिएका थिए । तर यसअघि कुर्सीकै विषयमा वरिष्ठ नेता माधवकुमार नेपालले कुरा उठाएको स्मरण गर्दै बैठक सुरु हुनु केहीबेर अघि मात्रै सबैका लागि समान कुर्सी व्यवस्था गरियो ।


बैठकको सुरुमै स्थायी कमिटी सदस्य भीम रावलले एमसीसी बैठकको मूल एजेन्डा नै हुनुपर्ने माग गरे । ‘एमसीसीबारे प्रधानमन्त्रीज्यूले पनि धेरै कुरा भन्नुभएको छ, तर धेरै कुरा स्पष्ट हुन अझै बाँकी छ । यसलाई एजेन्डा बनाऔं र सबै केन्द्रीय सदस्यहरू एकमत होऔं,’ उनले भने । रावलको प्रस्तावमा नेताहरू अष्टलक्ष्मी शाक्य, लीलामणि पोखरेल, विजय पौडेल, रामकुमारी झाँक्रीलगायतले समर्थन जनाएका थिए ।


बैठकमा पार्टीले हालै जारी गरेको आचारसंहिता र नेताहरूको सम्पत्तिबारे पनि प्रश्न उठेको छ । नेता लेखनाथ न्यौपानेले नेतृत्वको सम्पत्ति पारदर्शी हुनुपर्ने बताए । बैठकमा पोलिटब्युरो गठन, पार्टी कमिटीमा ३३ प्रतिशत महिला सहभागितालगायत विषयलाई पनि एजेन्डाकै रूपमा अघि बढाउनुपर्ने माग नेताहरूले गरेका छन् । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओली उद्घाटन मन्तव्य सकेर बाहिरिएलगत्तै हात उठाएर बोलेका २८ जना केन्द्रीय सदस्यले बैठकका एजेन्डा थप्न माग गरेका हुन् । जवाफमा अध्यक्ष दाहालले कतिपय विषय राजनीतिक प्रतिवेदनमै समेटिएको र प्रतिवेदनमा नआएका विषयमा छलफल गर्न सकिने बताएका थिए ।

प्रकाशित : माघ १६, २०७६ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?