१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

नाकामा छाप नलाग्दा दिल्लीमा रोकिए नेपाली

तेस्रो मुलुक जान हवाई भाडा सस्तो हुनाले नेपालीहरु सडकमार्गबाट नयाँदिल्ली आउँछन् तर नाकामा प्रस्थान छाप नलगाइँदा यहाँबाट उड्न पाउँदैनन् 

(नयाँदिल्ली) — युक्रेनमा अध्ययनरत एक नेपाली विद्यार्थी एक महिनाअघि सडकमार्ग हुँदै दिल्ली आए । दिल्लीबाटै युक्रेन उड्ने योजनामा रहेका उनी विमानस्थलमै रोकिए । कामकाजी भिसामा युक्रेन जान लागेका नेपाली दम्पती पनि दिल्ली विमानस्थल आइपुगेका थिए । हवाई भाडा सस्तो भएकाले दिल्लीबाटै उड्ने तयारी गरेका उनीहरूलाई पनि उड्न दिइएन ।

ती विद्यार्थी र दम्पतीसँग गन्तव्य मुलुकको भिसा वा अन्य कुनै कागजात नभएकाले दिल्लीको इन्दिरा गान्धी विमानस्थलका अध्यागमन अधिकारीले रोकेका होइनन् । रोकिनुको कारण हो, उनीहरू सडक मार्ग दिल्ली आउनु । सडकबाट काठमाडौं–दिल्ली यात्रा गर्दा राहदानीमा नेपालबाट बाहिरिएको र भारत प्रवेश गरेको छाप लागेको थिएन । राहदानीमा छाप नलाग्नुको कारण भने करिब आठ महिनाअघि अध्यागमन विभागले जारी गरेको नयाँ सूचना हो ।


विभागले भारत हुँदै तेस्रो मुलुक जान खोज्ने नेपालीले नाकामा पासपोर्ट देखाई प्रस्थान छाप लगाउनु नपर्ने सूचना प्रमुख नाकाका अध्यागमन कार्यालयका लागि जारी गरेको थियो । विभागले काँकडभिट्टा, पशुपतिनगर, विराटनगर, वीरगन्ज, बेलहिया, सुनौली, जमुनाहा, मोहना र गड्डाचौकीस्थित अध्यागमन कार्यालयलाई निर्देशन दिएको थियो । विभागले उक्त सूचना भारतीय पक्षलाई पनि जानकारी गराएको जनाएको थियो तर दुई देशका अध्यागमन अधिकारीबीच समन्वय नहुँदा भारत हुँदै तेस्रो देश जाने नेपाली समस्यामा पर्दै आएका छन् ।


‘नाकाका अध्यागमन कार्यालयमार्फत राहदानीमा प्रस्थान छाप लगाएर मानव तस्करहरूले नेपाली युवालाई अवैध रूपमा विदेश पठाउने गरेको सूचनाका आधारमा त्यस्तो निर्देशन दिइएको हो,’ अध्यागमन विभागका महानिर्देशक ईश्वर पौडेलले भने । नेपालका विभिन्न स्थानबाट दिनहुँ भारतका दिल्लीलगायत सहरका लागि यात्रु बस चल्छन् तर विभागले नयाँ सूचना नेपाली यात्रु र बस व्यवसायीलाई भने दिएको छैन । यसबारे दिल्लीस्थित दूतावासलाई पनि औपचारिक जानकारी गराइएको छैन । ‘नेपालीले उड्न पाइएन भनेर दूतावास आएपछि के हो भनेर विभागको सूचना हेर्दा मात्र थाहा भयो,’ दूतावास स्रोतले भन्यो ।


विभागको निर्णयका कारण नेपाल र भारतबीच अन्तर्राष्ट्रिय नाका भए पनि नेपालीहरू सडक मार्गबाट भारत हुँदै तेस्रो मुलुक उड्न नपाउने भएका छन् । त्यसरी उड्न नपाएकाले दिल्लीस्थित नेपाली दूतावासबाट पनि सहयोग पाउँदैनन् । दूतावासले सडक मार्गबाट आएकालाई तेस्रो मुलुक उड्नका लागि ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) जारी गर्न नमिल्ने जवाफ दिने गरेको छ । ‘आफ्नै नागरिकले दु:ख पाएको देख्दादेख्दै पनि केही गर्न सक्ने अवस्था छैन । हाम्रै निकायले सडक मार्गबाट जान नदिने नीति लिएपछि दूतावासले एनओसीले कसरी जारी गर्न मिल्यो ?’ दूतावास स्रोतले भन्यो । विमानस्थलमा रोकिएका यात्रुले मानसिक तनावसँगै थप आर्थिक भारसमेत बेहोर्न बाध्य भएको गुनासो गरेका छ । दूतावासबाट एनओसी नपाएपछि उनीहरूसँग नेपाल फर्कनुको विकल्प रहँदैन ।


दिल्लीमै ट्राभल एजेन्सी चलाएका प्रकाश पन्तले सरकारी निकायहरूले नयाँ नियम लागू गर्नुअघि त्यसले नागरिकमाथि के–कस्तो प्रभाव पार्छ भनेर अध्ययन नगर्ने हुनाले समस्या हुने गरेको बताए । ‘हाकिमैपिच्छे नयाँ नियम लागू हुन्छन्, अनि नेपालीले दु:ख पाउने नै भए,’ उनले भने । कतिपय घटनामा त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अधिकारीका कारण नेपालीले सास्ती खेपिरहेका छन् । काठमाडौंकी एक महिला एनजीओकर्मी कामको सिलसिलामा दिल्ली हुँदै अस्ट्रेलिया जाने तरखरमा थिइन् । उनी त्रिभुवन विमानस्थलबाट दिल्ली उडिन् । दिल्लीमा केही दिनको बसाइपछि अस्ट्रेलिया जान इन्दिरा गान्धी हवाई अड्डा पुगेकी उनलाई अध्यागमन अधिकारीले राहदानी हेरेर उड्न दिएनन् ।


अध्यागमन अधिकारीको भनाइ सुनेपछि उनी छाँगाबाट खसेजस्तै भइन् । किनकि त्यतिबेलासम्म पनि उनलाई काठमाडौं विमानस्थलका अध्यागमन अधिकारीले राहदानीमा भारतसम्म मात्र जान पाउने छाप लगाएको पत्तो थिएन । दिल्लीस्थित नेपाली दूतावास पुगे समस्या समाधान भएन । उनी नेपाल फर्कन बाध्य भइन् । अध्यागमनका महानिर्देशक पौडेलले भने भारतीय अध्यागमन कार्यालयले राहदानीमा भारत प्रवेशको छाप नलगाउने गरेकाले सडक मार्गबाट भारत प्रवेश गरेका नेपालीले तेस्रो मुलुक उड्न नपाएको विषयमा अनभिज्ञता प्रकट गरे ।

प्रकाशित : माघ १६, २०७६ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?