२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

चितवनमा एकै दिन मरे दुई गैंडा 

रासस

काठमाडौँ — चितवन राष्ट्रिय निकुञ्जमा मंगलबार एकै दिन दुई गैंडा मरेका छन् । यी सँगै चालू आर्थिक वर्षमा प्राकृतिक कारणले मरेका गैंडाको संख्या १३ पुगेको छ । सोमध्ये दुई राष्ट्रिय वन क्षेत्रमा हुन् भने अन्य निकुञ्ज क्षेत्रमा हुन् । 

चितवनमा एकै दिन मरे दुई गैंडा 

निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार निकुञ्जको तमासपुर क्षेत्रमा अन्दाजी १८/२० वर्षको पोथी गैंडा मृतावस्थामा फेला परेको हो । अर्को एक गैंडा सुखीभार क्षेत्र नजिक मृतावस्थामा फेला परेको छ । उनका अनुसार सो गैंडा ३० वर्षको पोथी हो ।


निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. विजयकुमार श्रेष्ठका अनुसार तमासपुरमा भेटिएको गैंडा विषाक्त खानाका कारणले मरेको प्रारम्भिक अध्ययनमा देखिएको छ । विषाक्त घाँस खाएर गैंडा मरेको हुन सक्ने श्रेष्ठले जानकारी दिए । अर्को गैंडा मर्नाको कारण खुल्न सकेको छैन ।


गत आर्थिक वर्षमा ४३ गैंडा प्राकृतिक कारणले मरेका थिए । आर्थिक वर्ष २०७४/७५ मा २६ र २०७३/७४ मा २५ गैंडा कालगतिले मरेका थिए । गैंडाको मृत्युदर उच्च भएपछि निकुञ्ज विभागले मृत्युको कारण अध्ययन गर्न समिति बनाएर काम गरिरहेको छ ।


विगत केही वर्षयता चोरी सिकारीबाट गैंडा मारिएका छैनन् तर कालगतिले मर्ने क्रम बढेपछि संरक्षणको क्षेत्रमा चिन्ता व्यक्त गरिएको छ । यसैगरी माउले छाडेका दुई बच्चालाई उद्धार गरी राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा राखिएको छ । श्रेष्ठका अनुसार एउटा अन्दाजी तीन हप्ताको पोथी तमासपुर क्षेत्रबाट र अर्को चार महिनाको भाले बच्चा सौराहा नजिकैबाट उद्धार गरी राखिएको छ ।

प्रकाशित : माघ १५, २०७६ २०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?