नेकपा केन्द्रीय समिति बैठकमा छलफलका लागि समूह विभाजन
काठमाडौँ — नेकपाको केन्द्रीय समिति बैठकमा छलफलका लागि १५ समुह बनाइएको छ । बुधबारबाट राष्ट्रिय सभागृहमा सुुरु बैठकमा छलफलका लागि समूह विभाजन गरिएकाे हाे ।
समूह विभाजनपछि सभागृह, पार्टी मुख्यालय धुम्बाराही र पेरिसडाडाँमा समूहगत छलफल हुने भएको छ । एउटा समूहमा २९ जना सदस्य राखिएकाे छ । समूह विभाजन अल्फाबेटका आधारमा गरिएकाे केन्द्रीय सदस्य डोरप्रसाद उपाध्यायले जानकारी दिए ।
समूहमा सचिवालयका सदस्य भने सहभागि हुने छैनन् । समूहलाई टोली नेता चयन गरी प्रतिवेदन, विधान संशोधन प्रस्ताव र संगठनात्मक प्रतिवेदनमाथि छलफल गरेर पूर्ण बैठकमा लिखित प्रतिवेदन प्रस्तुत गर्ने जिम्मेबारी दिइएकाे छ ।
बुधबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन मन्तव्य राखेका थिए भने अध्यक्ष पुष्पकमल दाहालले दुवै अध्यक्षको तर्फबाट राजनीतिक प्रतिवेदन पेस गरेका थिए ।
त्यस्तै बैठकमा महासचिव विष्णु पौडेलले संगठनात्मक प्रतिवेदन र विधान संशोधन प्रस्ताव पेस गरेपछि बुधबारको बैठक सकिएको छ । समूहगत छलफल बिहिबार १ बजेदेखि हुने केन्द्रीय सदस्य उपाध्यायले जानकारी दिए ।