नेकपाको महाधिवेशन ०७७ चैत २५ देखि ३० सम्म

नेकपाको नारा :  'समृद्ध नेपाल, सुखी नेपालीको आधार- सुदृढ पार्टी, सुशासन र लोकप्रिय सरकार'
बबिता शर्मा

काठमाडौँ — नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले ०७७ चैतमा महाधिवशेन गर्ने प्रस्ताव केन्द्रीय समितिमा राखेका छन् । बुधबारदेखि काठमाडौंको राष्ट्रियसभागृहमा सुरु भएको केन्द्रीय समिति बैठकमा दुवै अध्यक्षको तर्फबाट दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा ०७७ चैत्र २५ देखि ३० सम्म राष्ट्रिय महाधिवेशनको मिति तय गरेका छन् । 

नेकपाको महाधिवेशन ०७७ चैत २५ देखि ३० सम्म

राष्ट्रिय महाधिवेशनअघि ०७७ भदौ देखि मंसिरसम्म सबै स्थानीय र प्रदेश तहका अधिवेशन सम्पन्न गर्ने कार्यतालिका अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमा उल्लेख छ । मंसिर २९ देखि पुस ६ गतेसम्म बसेको स्थायी समिति बैठकमा राष्ट्रिय महाधिवेशनको मिति तय गर्न अध्यक्षद्वयलाई जिम्मेवारी दिएका थिए । स्थायी समितिमा अध्यक्षद्वयले पेस गरेको राजनीतिक प्रतिवेदनमा ०७७ चैतभित्र उल्लेख थियो । सोही प्रतिवेदनलाई परिमार्जित गरी दुवै अध्यक्षको तर्फबाट दाहालले केन्द्रीय समितिमा उक्त मितिसहितको प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

उक्त राजनीतिक प्रतिवेदनमा महाधिवेशन अगाडि देशव्यापी अभियान सञ्‍चालन गर्ने प्रस्ताव गरिएको छ । उक्त अभियान आगामी फागुन १ देखि सुरु भएर असार मसान्तमा सम्पन्न गर्नुपर्ने योजना अध्यक्षद्वयले केन्द्रीय समितिमा प्रस्तुत गरेका छन् ।

आगामी फागुन १ देखि १५ सम्ममा प्रदेश, जिल्ला र स्थानीय समितिहरूले बैठक बसेर अभियानको कार्ययोजना बनाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ । फागुन मसान्तसम्म पार्टी तथा जनवर्गीय संगठनहरू केन्द्र, जिल्ला र स्थानीय तहमा कार्यकर्ता भेला आयोजना गरी अभियानसम्बन्धी अन्य कार्यक्रम सञ्‍चालन गर्ने, चैत र वैशाखमा केन्द्रीय संगठन विभागको योजना र निर्देशनअनुरुप सदस्यता नवीकरण सम्पन्न गर्नुपर्ने, जेठ मसान्तसम्म घरदैलो, पदयात्रा र टोलभेला तथा सभाको आयोजना गर्नुपर्ने र असार महिनामा स्थानीय तहहरूमा जनसभा गर्नुपर्ने अध्यक्षद्वयको प्रतिवेदनमा छ ।

प्रतिवेदनअनुसार आगामी साउन दोस्रो हप्ता जिल्ला नेकपाका समितिले आ-आफ्नो जिल्लाको अभियान समिक्षा गर्ने र प्रतिवेदन तयार गरी प्रदेश समितिमा पठाउनुपर्ने कार्यतालिका तय गरिएको छ ।

साउन महिनाको तेस्रो हप्ता प्रदेश समितिले आ-आफनो प्रदेशको अभियानको समीक्षा गर्ने र प्रतिवेदन तयार गरी केन्द्रीय समितिमा पठाउनुपर्ने प्रतिवेदनमा लेखिएको छ । साउन महिनाको चौथो हप्ता केन्द्रीय समितिले मुलुकभर सञ्‍चालन गरेको अभियानको समीक्षा गर्ने र प्रतिवेदन पारित गर्ने कार्यसूची प्रतिवेदनमा छ ।

अध्यक्षद्वयले केन्द्रीय समितिमा प्रस्तुत गरेको प्रतिवेदनमा मुलुकभर सञ्‍चालन गर्ने अभियानको नारा पनि लेखिएको छ । उक्त नारा 'समृद्ध नेपाल, सुखी नेपालीको आधार- सुदृढ पार्टी, सुशासन र लोकप्रिय सरकार' रहेको छ ।

उक्त नारा लिएर जनतामाझ जाने नेकपाको अभियानको नेतृत्व केन्द्रीय सचिवालय, प्रदेश र जिल्ला समितिहरूले गर्ने प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित : माघ १५, २०७६ १५:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?