कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सभामुखद्वारा चार विधेयक प्रमाणित, प्रदेश प्रहरी गठनको बाटो खुल्ने

जयसिंह महरा

काठमाडौँ — सभामुख अग्निप्रसाद सापकोटाले चार विधेयक प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पठाएका छन् । दुवै सदनबाट पारित भएर लामो समयदेखि प्रमाणित हुन बाँकी थिए ।

सभामुखद्वारा चार विधेयक प्रमाणित, प्रदेश प्रहरी गठनको बाटो खुल्ने

संसदको चौथो अधिवेशनले पारित गरेका प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरीवेक्षण र समन्वय सम्बन्धका व्यवस्था गर्न बनेको विधेयक, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र भूमि सम्बन्धी आठौँ संशोधन विधेयकमा सापकोटाले प्रमाणित गरेर प्रमाणीकरणका निम्ती पठाइएको प्रतिनिधिसभा सचिव गोपालनाथ योगीले जानकारी दिए ।

यी विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण गरेपछि तोकिएको समयमा लागु हुनेछन् ।

औद्योगिक व्यवसाय सम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि भने थप छलफल गर्नुपर्ने भएकाले प्रमाणीत नगरिएको योगीले बताए । उक्त विधेयक दुवै सदनबाट पारित भएर आउँदा पनि दफाक्रम नमिलेकाले कसरी प्रमाणित गर्ने भन्नेबारे छलफल पछि मात्रै प्रमाणित गर्ने तयारी भएको छ ।

'प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक' र 'नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरीवेक्षण र समन्वय सम्बन्धमका व्यवस्था गर्न बनेको विधेयक' राष्ट्रपतिबाट स्वीकृत भएपछि प्रदेश प्रहरी गठनको काम सुरु हुनेछ ।

यी दुई विधेयक प्रमाणीकरण नहुँदा प्रहरी संगठनमा संघीयता कार्यान्वयन हुन सकेको थिएन । अब प्रदेश प्रहरी गठन र नेपाल प्रहरीका कर्मचारीको प्रदेश प्रहरीमा समायोजनको बाटो खुला हुनेछ ।

दुवै सदनबाट पारित भएका विधेयक प्रमाणीकरण नहुँदै तत्कालीन सभामुख कृष्णबहादुर महरालाई बलात्कार प्रयासको आरोप लागेपछि राजीनामा दिएका थिए । सभामुखमा आइतबार सापकोटा नियुक्त भएपछि यी विधेयक अगाडि बढेका हुन् ।


प्रकाशित : माघ १५, २०७६ १४:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?