ढुंगानालाई नै किन नेविसंघ अध्यक्ष बनाउन चाहन्छन् देउवा ?

मधुसुधन भट्टराई

काठमाडौँ — लामो समयको गलफत्तीपछि अन्ततः नेविसंघको तदर्थ समिति बन्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा समूह तथा बरिष्ठ नेता रामचन्द्र पौडेल समूहको विवादले गर्दा नेविसंघको किचलो लम्बिइरहेको थियो । सभापतिले विधान मिचेको भनी उठेको किचलो अन्ततः नेविसंघको विधान मिचेर नै सहमतिमा पुगेको हो । 

ढुंगानालाई नै किन नेविसंघ अध्यक्ष बनाउन चाहन्छन् देउवा ?

देउवा, पौडेल र सिटौला पक्षबीच भएको सहमतिअनुसार अब ४८ वर्षीय राजीव ढुंगाना नेविसंघ तदर्थ समितिको अध्यक्ष बन्ने छन् । जबकि नेविसंघमा १२ औं महाधिवेशनमा ३२ वर्ष उमेर कटेको व्यक्ति नेविसंघको अध्यक्ष बन्न नपाउने विधान पारित भइसकेको छ । तर, महाधिवेशन आयोजक समितिको समेत काम गर्ने तदर्थ समितिमा चाहिँ सभापति देउवाले किन ४८ वर्षिय ढुंगानाकै लागि अड्डी लिए भन्ने प्रश्न उठेको छ ।

ढुंगानालाई अध्यक्ष बनाउन देउवा एक वर्षदेखि लागिरहेका छन् । ढुंगानालाई अध्यक्ष बनाउनकै लागि देउवा ९ जना महामन्त्री बनाउन समेत तयार भए ।

माघ २३ गते बोलाइएको पार्टी केन्द्रीय कार्यसमिति बैठक अगावै ढुंगानालाई पत्र दिने तयारी देउवाको छ । शुक्रबार संस्थापन इतर समूहसँग देउवाले अध्यक्ष आफूले लिनेगरी १ सय २७ सदस्यीय तदर्थ समिति बनाउने सहमति गरेका हुन् ।

नेविसंघको विवाद मिलाउने वार्तामा बसेका नेताहरु भन्छन्, ‘सभापतिज्यू अरु सबै दिन तयार हनुहुन्थ्यो । तर, अध्यक्ष आफूलाई चाहिने र राजीव ढुंगाना नै हुनुपर्ने अडान जहिलेबाट नेविसंघको तदर्थ समिति बनाउने छलफल भयो, त्यहीबेलाबाट राख्दै आउनु भयो । पात्र अर्को गरौ, अध्यक्ष तपाई नै राख्नुस् भन्दा पनि मान्दै मान्नुभएन । बहुमत सदस्य अरुलाई दिएर भए पनि ढुंगानालाई अध्यक्ष बनाउन निश्चित गरेरै छाड्नु भयो ।’

देउवाले किन ढुंगानाका लागि हत्ते गरे त ? कांग्रेसका जानकारहरु यसका केही कारण बताउँछन् । ढुंगाना देउवालाई पार्टी फुटाउँदादेखि साथ दिएका कार्यकर्ता हुन् । पार्टी फुटाउने बेला आफूलाई सहयोग गरेका सबैलाई पद दिइसकेको तर ढुंगानालाई अहिलेसम्म उपयुक्त पद दिन नसकेकाले यसपटक अध्यक्ष बनाउनु आफ्नो बाध्यता रहेको देउवाले निकटस्थहरुसँग बताउने गरेका छन् । उनी निकटहरुका अनुसार एकीकृत पार्टीको सभापति बनिसक्दा पनि देउवाले पार्टी फुटाउदा सँगै जाने र सहयोग गर्नेको सूची बनाएर राखेका छन् । आफ्नो गुटको आधारका रुपमा उनले त्यो सूचीलाई लिने गरेको बताइन्छ ।

दोस्रो, कांग्रेसभित्र तत्कालीन पूर्वाञ्चल तथा अहिलेको प्रदेश–१ मा देउवाको पकड कमजोर मानिन्छ । यो क्षेत्रमा कोइराला समूहको पकड बलियो मानिन्छ । १४ औं महाधिवेशनमा पुनः सभापतिको उम्मेदवार बन्ने आंकाक्षा पालेका देउवाको बुझाईमा पूर्वमा आफू बलियो बनाउन कोइराला परिवारलाई कमजोर बनाउनै पर्छ । त्यसका लागि पद दिएर आफ्नो पक्ष बलियो छ भन्ने देखाउन खोजिरहेका छन् । यसअघि झापाका विश्वप्रकाश शर्मालाई प्रवक्ता बनाउँदा पनि देउवाले त्यही रणनीति अख्तियार गरेको एक केन्द्रीय सदस्य बताउँछन् ।

ढुंगानाको पक्षमा देउवाका साथै उपसभापति विमलेन्द्र निधि पनि सकारात्मक थिए । आफ्नो पक्षमा एक महामन्त्री पर्ने भएपछि लोकतान्त्रिक फोरमलाई कांग्रेसमा विलय गराइ उपसभापति बनेका विजय गच्छदार पनि ढुंगानाको नाममा सहमत भए । ढुंगाना गच्छदारकै जिल्ला सुनसरीका हुन् ।

तदर्थ समितिमा अर्का मुख्य दावेदार थिए सल्यानका ऋषिकेशजंग शाह । देउवा निकट तरुण दल अध्यक्ष जीतजंग बस्नेत भने शाहलाई रोक्न चाहन्थे । किनकि शाहका कारण आफूले ११ औं महाधिवेशनमा देउवा पक्षबाट अध्यक्षको टिकट नपाएको जीतजंगको बुझाइ थियो । त्यसअघि रञ्जित कर्ण संयोजकत्वको नेविसंघ तदर्थ समितिमा सहसंयोजक रहेका शाहले विद्यार्थीमाझ बस्नेतको सट्टा नैनसिंह महरलाई साथ दिएका थिए । उनले निकटस्थसँग यसको गुनासो गर्ने गरेका छन् ।

तर, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा भने ढुंगानालाई अध्यक्ष बनाइनुको कारण यी कुनै कारण नभई तोकिएको समयमा अधिवेशन गर्न सक्ने व्यक्ति हुनु भएको बताउँछन् । ‘लामो समय नेविसंघको राजनीति गरेका व्यक्ति हुन् । सालिन र भद्र छन्,’ प्रवक्ता शर्माले इकान्तिपुरसित भने, ‘तसर्थ ढुंगानालाई जिम्मा दिए अधिवेशन गराउन सक्छन् भनेर जिम्मेवारी दिन लागिएको हो ।’ शर्माले ढुंगानाको उमेर ४६ वर्ष भएको बताए । ढुंगाना यसअघि कांग्रेस फुटेर बनेको प्रजातान्त्रिक नेविसंघको कोषाध्यक्ष बनेका थिए ।

उनी प्रदीप पौडेल अध्यक्ष रहेको नेविसंघको कार्यसमिति पछाडि नेविसंघमा छैनन् । त्यो भनेको १३ वर्ष अगाडिको कुरा हो ।

तदर्थ समिति १२७ सदस्यीय, पदाधिकारी भागबण्डा

१ सय २७ सदस्यीय तदर्थ समितिमा नौ महामन्त्री, ६/६ उपाध्यक्ष र सहमहामन्त्री राख्ने सहमति बनेको छ । यसअनुसार सभापति देउवा र बरिष्ठ नेता पौडेल समूहले ३/३, नेता कृष्णप्रसाद सिटौला समूहले २ र उपसभापति विजयकुमार गच्छदारले १ महामन्त्री पाउने छन् । उपाध्यक्ष र सहमहामन्त्री भने देउवा, पौडेल र सिटौलाले २/२ जना बाड्ने सहमति बनेको छ ।

११ औं महाधिवेशनबाट निर्वाचित नैनसिंह महरले गत माघ २८ गते राजीनामा दिएपछि अहिलेसम्म नेविसंघ नेतृत्वविहीन छ । नेविसंघको विधानको २०७५ मा गरिएको सातौ संशोधनअनुसार ३२ बर्ष पुगेको व्यक्ति नेविसंघको सदस्य बन्न नपाउने व्यवस्था छ । त्यही विधानमा भएको व्यवस्था लागु गर्न माग गर्दै नेविसंघका निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठी सोमबारबाट कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आमरण अनशन बसेका छन् । योभन्दा अगाडि उनीसहितका विद्यार्थी नेताहरु ४० दिन विधानमा भएको उमेर हदको व्यवस्था लागु गर्न माग गर्दै रिले अनशन बसेका थिए ।

प्रवक्ता शर्मा भने उमेर हदको व्यवस्था १२ औं महाधिवेशनबाट आउने कार्यसमितिमा मात्रै लागु हुने व्यवस्था विधानले गरेको बताउँछन् । ‘विधानको व्यवस्था संघको १२ औं महाधिवेशनबाट लागु हुनेछ भनेर नेविसंघले पास गरेको हो । कांग्रेस केन्द्रीय कार्यसमितिले अनुमोदन गरेको मात्रै हो । त्यो व्यवस्था १२ औं महाधिवेशनबाट लागू हुनेछ,’ शर्माले भने ।

प्रकाशित : माघ १५, २०७६ ११:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?