नेकपालाई बैठक गर्न सभागृह पनि साँघुरो : तीन ठाउँमा बैठक, १५ समूहमा छलफल

बबिता शर्मा

काठमाडौँ — ठूलो आकारको केन्द्रीय समिति भएपछि राष्ट्रिय सभागृहमा बैठक आव्हान गरेको नेकपालाई बैठकस्थल सानो भएको छ । एकै ठाउँमा बैठक गर्ने र समूहगत छलफल हुने अवस्था नभएपछि बैठक पार्टी मुख्यालय धुम्बाराही र पेरिसडाँडामा पनि छलफल हुने भएको छ । नेकपाको केन्द्रीय समिति सदस्य ४ सय ४५ जना रहेका छन् । 

नेकपालाई बैठक गर्न सभागृह पनि साँघुरो : तीन ठाउँमा बैठक, १५ समूहमा छलफल

नेकपा केन्द्रीय समिति बुधबार बिहान ११ बजेका लागि बोलाइएको छ । मंगलबार साँझ बसेको नेकपा सचिवालयले बैठकका एजेन्डासँगै बैठक सञ्चालनको विधि बनाएको थियो । यही विधिमा सभागृह, धुम्बाराही र पेरिसडाँडामा बैठक चलाउने निर्णय छ । सचिवालयको निर्णयअनुसार बैठकमा १५ समूह बनाएर छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।


सचिवालय बैठकले सहिदहरूप्रति श्रद्धाञ्जली, बैठक उद्घाटन र अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन मन्तव्य र पुष्पकमल दाहालले दुई अध्यक्षको तर्फबाट राजनीतिक प्रतिवेदन प्रस्तुत, महासचिव विष्णुप्रसाद पौडेलद्वारा संगठनात्मक प्रतिवेदन तथा विधान संशोधन प्रस्ताव प्रस्तुत, सातवटै प्रदेशका अध्यक्षहरूद्वारा संगठनातमक कामको रिपोर्टिङ, समसामयिक प्रस्तावहरूको प्रस्तुति र विविध गरी सात एजेन्डा तय गरेको छ ।


समूह विभाजन बुधबार नै हुनेछ । सोही समूहले टीम लिडर चयन गर्नेछ । बिहीबारदेखि समूहगत छलफल हुनेछ । त्यसपछि समूहमा उठेका विषयबस्तु केन्द्रीय समितिको पूर्ण बैठकमा टीम लिडरले प्रस्तुत गर्नेभएका छन् । समूहगत छलफलमा भने सचिवालयका नौ जना नेता सहभागी हुने छैनन् । तर, बैठकमा टीम लिडरले समूगत छलफलका विषयवस्तु पूर्ण बैठकमा पेस गरेपछि त्यसमा उठेका प्रश्नको जवाफ अध्यक्षहरुले दिएपछि १९ गतेसम्ममा बैठक सक्ने तयारी सचिवालयको छ ।

सदस्य संख्या धेरै भएपछि नेकपा केन्द्रीय समितिको बैठक राष्ट्रिय सभागृहमा

२०७५ जेठ १० गते शपथग्रहण र निर्वाचन आयोगमा पार्टी दर्ताका लागि नेकपाको केन्द्रीय समितिको बैठक बसेको थियो । त्यसको २० महिनापछि नेकपाको केन्द्रीय समितिको बैठक बुधबारबाट सुरु हुँदैछ । नेकपामा लामो समयदेखि सदस्यहरुले केन्द्रीय समितिको बैठक बोलाउन माग गर्दै आएका थिए ।


पछिल्लो पटक मंसिर २९ देखि पुस ६ गतेसम्म बसेको स्थायी समिति बैठकले पुस २३ गतेका लागि केन्द्रीय समितिको बैठक आव्हान गरेको थियो । तर, पार्टीको आन्तरिक काम र राष्ट्रिय राजनीतिका मुद्दामा शीर्ष नेतृत्व व्यस्त हुनुपर्ने भएको भन्दै माघ १५ गतेसम्मका लागि बैठक सारिएको थियो । त्यही बैठक बुधबार बस्न लागेको हो ।


बैठकका लागि विभिन्न जिल्लाबाट सदस्यहरु उत्साह र अपेक्षा बोकेर काठमाडौं आइसकेका नेकपाले जनाएको छ ।

प्रकाशित : माघ १५, २०७६ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?