३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

नोवल कोरोना भाइरस : जाँदा थर्मल गन, आउँदा स्क्यानर

मकर श्रेष्ठ

फातिमा बानु — गोन्जाओ उडानका लागि चाइना साउथर्न एयरलाइन्सले मंगलबार दिउँसो १२ बजेर ४० मिनेटमा उडान भर्नुपर्ने थियो । यात्रुहरू साढे ९ बजे नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल छिरिसकेका थिए । एयरलाइन्सका कर्मचारी 
आफ्ना यात्रुको स्वास्थ्य परीक्षण गर्न, झोलाको तौल लिन र बोर्डिङ पास दिन तयारी अवस्थामै थिए ।

नोवल कोरोना भाइरस : जाँदा थर्मल गन, आउँदा स्क्यानर

काउन्टरमा यात्रु आउनेबित्तिकै उनीहरू ‘थर्मल गन’ निधारमा तेर्स्याउँथे, जसले यात्रुको तापक्रम तत्काल पत्ता लगाउँथ्यो । शरीरमा ९८ डिग्रीभन्दा कम तापक्रम भएका यात्रुलाई मात्रै बोर्डिङ पास दिइन्थ्यो । गोन्जाओ जानेमा नेपालीसहित चिनियाँ र अन्य मुलुकका यात्रु थिए । बोर्डिङ पास लिने क्रम साढे ११ बजेसम्म चल्यो ।


चीनबाट फर्किएका एक नेपालीमा नोवल कोरोना भाइरस भेटिएपछि विदेश जाने र आउने यात्रुको स्वास्थ्य जाँचमा कडाइ गरिएको छ । ‘अन्य मुलुकबाट आउने यात्रुको मात्रै होइन, चीन जाने यात्रु पनि स्वस्थ छन् कि छैनन् भनेर सम्बन्धित एयरलाइन्स कम्पनीले परीक्षण गरेर मात्रै पठाउने गरेका छन्,’ विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ता चन्द्रलाल कर्णले भने । अरू देशबाट आउने यात्रुको भने स्वास्थ्य मन्त्रालयले नै स्वास्थ्य परीक्षणको व्यवस्था मिलाएको छ ।


अध्यागमनमा यात्रुको विवरण टिपाउने डेस्कमा १ बजे पुग्दा जहाजबाट उत्रिएका यात्रु आइरहेका थिए । यात्रु अध्यागमन पुग्नुअघि नै हेल्थ डेस्क राखिएको छ, जहाँ मास्क लगाएका चिकित्सक र नर्सहरू बसेका हुन्छन् । यहाँ यात्रुको पूर्ण शरीर देखिने गरी दुईवटा थर्मल स्क्यानर मेसिन झुन्ड्याइएको छ । त्यसको मनिटरमा यात्रुको तापक्रम देखिन्छ । उक्त थर्मल स्क्यानर चार दिनअघि जडान गरिएको हो । थर्मल स्क्यानरमा देखिने विवरण हेर्न दुईवटा मनिटरसहितको डेस्क राखिएको छ । स्क्यानरले कैद गरेको यात्रुको तापक्रम मनिटरमा हेर्न स्वास्थ्यकर्मीहरू खटिएका हुन्छन् । यात्रुले भने आफ्नो तापक्रम स्वास्थ्यकर्मीले निगरानी गरेको थाहा पाउँदैनन् ।


‘९८ डिग्रीभन्दा बढी तापक्रम भएको यात्रुलाई फर्काएर सामान्य जाँच गर्छौं,’ हेल्थ डेक्सका एक स्वास्थ्यकर्मीले भने, ‘हामीलाई शंका लागेमा अरू हिँड्ने बाटोसमेत प्रयोग नगरी रनवेबाटै एम्बुलेन्सबाट अस्पताल पठाउँछौं ।’ स्वास्थ्य मन्त्रालयले विमानस्थलमा एक जना विशेषज्ञसहित आठ जनाको टोली खटाएको छ । जसमा चार जना नर्स, तीन जना एमबीबीएस चिकित्सक छन् । डेस्कमा चिनियाँ र अंग्रेजी भाषामा तयार गरिएको फ्लेक्स राखिएको छ । जसमा उच्च ज्वरो, टाउको दुखाइ, घाँटी दुख्ने, शरीर दुख्ने, पखाला लागेको लक्षण भएमा हेल्थ डेस्कमा सम्पर्क गर्न भनिएको छ । ‘यो डेस्क चिनियाँ यात्रुलाई लक्षित भएकाले चिनियाँ भाषामा पनि लेखिएको हो,’ एक स्वास्थ्यकर्मीले भने ।


स्वास्थ्य जाँचबाहेक हरेक जहाजका पाइलटले आफ्ना यात्रु संक्रमित भए/नभएको घोषणा गर्नुपर्ने व्यवस्था गरिएको विमानस्थलका प्रवक्ता कर्णले बताए । ‘जहाजले पनि स्वस्थ व्यक्तिलाई मात्रै चढाउँछ, यात्रुले नै स्वस्थ भएको प्रमाणित गर्नुपर्ने हुन्छ । जहाजका सदस्यले पनि निगरानी गरिरहेका हुन्छन्,’ कर्णले भने, ‘हरेक जहाजका पाइलटले शंकास्पद कुनै यात्रु भए/नभएको मलाई क्लियर गर्नुपर्ने हुन्छ ।’


शंकास्पद सबै डिस्चार्ज

स्वास्थ्य मन्त्रालयले चीनको वुहानबाट फर्किएका एक नेपाली विद्यार्थीबाहेक अरूमा नोवल कोरोना भाइरस नदेखिएको जनाएको छ । शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका शंकास्पद दुई जना बिरामीमा संक्रमण पुष्टि नभएपछि उनीहरूलाई मंगलबार साँझ डिस्चार्ज गरिएको छ । मंगलबार थप दुई जनाको घाँटीको र्‍यालको नमुना परीक्षण गरिए पनि भाइरस नदेखिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुणा झाले जानकारी दिइन् । अहिले अस्पतालमा एक जना पनि शंकास्पद बिरामी नरहेको टेकु अस्पतालका डा. अनुप बाँस्तोलाले बताए । ‘पाँच जना शंकास्पद बिरामी आइसोलेसन वार्डमा भर्ना गरिएकोमा एक जनामा मात्र

संक्रमण देखिएको हो,’ उनले भने ।


हाल स्वास्थ्य मन्त्रालयले शंकास्पद व्यक्तिको चाँडो पहिचान, संक्रमितको उचित व्यवस्थापन र बेग्लै राखेर उपचार गर्ने नीति लिएको छ । संक्रमण पुष्टि भएकाहरूको सम्पर्कमा आएका व्यक्तिको खोजी गरेर निगरानीमा राख्नेसमेत मन्त्रालयले जनाएको छ । मन्त्रालयले चीनमा रहेका नेपालीलाई फर्काउनु आवश्यक नरहेको जनाएको छ । ‘वुहानमा करिब एक सय ९० नेपाली रहे पनि सय जना सम्पर्कमा आएका छन्,’ मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भने, ‘बाँकीलाई भिच्याट समूहमार्फत सम्पर्कमा आउन आग्रह गरिएको छ ।’ नेपाली दूतावाससँग सम्पर्क भइरहेकाले चीनमा रहेका नेपालीलाई फर्काउनु प्राविधिक रूपमा जरुरी नरहेको उनले बताए ।


परीक्षण गर्न एक हजार कीट

नोवल कोरोना भाइरस परीक्षण गर्न सरकारले एक हजार कीट ल्याउने तयारी गरेको छ । अमेरिकाको ‘सेन्टर फर डिजिज एन्ड प्रिभेन्सन’ संस्थाले विश्व स्वास्थ्य संगठनको समन्वयमा नेपाललाई कीटलगायत परीक्षणका आवश्यक सामग्री सहयोग गर्न लागेको हो ।


एक साताभित्र ती सामग्री आइसक्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेककुमार लालले बताए । कोरोना भाइरसको नमुना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई चौबीसै घण्टा तयारी अवस्थामा राखिएको छ । इन्फ्लुएन्जाको नमुना परीक्षण हुँदै आइरहेको विशेष प्रयोगशाला (बीएसएलटु ल्याब) बाटै कोरोनाको परीक्षण भइरहेको छ । प्रयोगशालासँग भएका सयवटा नमुना परीक्षण कीटमध्ये पाँचवटा मात्रै खर्च भएको प्रयोगशालाकी निर्देशक डा. रुणा झाले बताइन् ।


यसैबीच, नमुना परीक्षण संकलन र व्यवस्थापनबारे मंगलबार राजधानीका १३ वटा अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई तालिम दिइएको छ । पाटन अस्पताल, ग्रान्डी अस्पताल, सिभिल, भक्तपुर, प्रहरी, वीरेन्द्र सैनिक, नर्भिक, त्रिवि शिक्षण र वीर अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले तालिम लिएका छन् ।


बीपीमा ‘र्‍यापिड रेस्पोन्स टिम’

सुनसरी– धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले संक्रमण फैलन सक्ने भन्दै सतर्कताका लागि ‘र्‍यापिड रेस्पोन्स टिम’ गठन गर्ने भएको छ । काठमाडौंमा भाइरसको संक्रमण पुष्टि भएपछि पूर्वमा पनि देखापर्न सक्ने भन्दै प्रतिष्ठानले टिम गठनको तयारी गरेको प्रतिष्ठानका निर्देशक प्रा.डा. गौरीशंकर साहले जनाए ।

प्रकाशित : माघ १५, २०७६ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?