कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

लुम्बिनी विकास कोषको गाडी खरिद प्रक्रिया रद्द

लुम्बिनी — लुम्बिनी विकास कोषले विलासी गाडी खरिद प्रक्रिया रद्द गरेको छ । उपाध्यक्ष अवधेशकुमार त्रिपाठीको अध्यक्षतामा बसेको बैठकले प्रक्रिया रद्द गर्ने निर्णय गरेको हो ।

लुम्बिनी विकास कोषको गाडी खरिद प्रक्रिया रद्द

उपाध्यक्ष त्रिपाठीका लागि कोषले १ करोड ५८ लाख मूल्य पर्ने जापानी गाडी खरिद गर्न टेन्डर आह्वान गरेको थियो । बोलपत्र आह्वान गरेपछि एउटामात्र कम्पनीको आवेदन परेको थियो । प्रस्तावित मूल्यभन्दा एक रुपैयाँ कमको प्रस्ताव आएकाले खरिद प्रक्रिया रद्द गरिएको कोष योजना प्रबन्धक सरोज भट्टराईले बताए । गाडी खरिद गर्दा बढी टीका–टिप्पणी भएर आमजनमानसमा नराम्रो सन्देश गएकाले प्रक्रिया खारेज गरिएको उनले भनाइ छ ।


खरिद प्रक्रियाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बेनामी उजुरी परेको थियो । गत पुस २७ गते कोष परिषद् सदस्य बैजनाथ साहनीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पत्राचार गरेर खरिद प्रक्रिया रद्द गर्न पर्यटनमन्त्री योगेश भट्टराईको ध्यानाकर्षण गराएका थिए ।


मन्त्रालयका कानुन उपसचिव राजन नेपालको संयोजकत्वमा चार सदस्यीय टोली गठन गरिएको थियो । सदस्यमा मन्त्रालयका लेखा उपसचिव गोपीचन्द्र भण्डारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपप्रबन्धक नलविक्रम थापा र पर्यटन विभागका सचिन्द्र यादव थिए । स्थलगत अनुगमन, निरीक्षण र छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्न मन्त्रालयको सचिवस्तरको निर्णयअनुसार निर्देशन दिएको थियो ।


अख्तियारको चासो, चौतर्फी विरोध र छानबिन टोली गठन भएपछि बाध्य भएर कोषले खरिद प्रक्रिया रद्द गरेको स्रोतले जनाएको छ । पजेरोका लागि निओन मोटर प्रालि काठमाडौंको एकमात्र टेन्डर परेको थियो । महिना दिनअघि उक्त गाडी बजारमा लन्‍च भएको थियो । २४७७ सीसीको जापानको मित्सुबिसी पजेरो स्पट वातानुकूलित, अत्याधुनिक प्रविधि र सुविधायुक्त गाडी किन्न लागिएको थियो । ‘फजुल खर्चप्रति सबैको चिन्ता थियो,’ कोषका सदस्य राजेश ज्ञवालीले भने, ‘ढिलो भए पनि राम्रो निर्णय भयो । दान रकमको सदुपयोग गर्नुपर्छ ।’

प्रकाशित : माघ १४, २०७६ २१:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?