कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

अब फेरि इम्बोस्ड नम्बर प्लेट

दीपेन्द्र विष्ट

काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी साधनमा आधुनिक प्रविधियुक्त इम्बोस्ड नम्बर प्लेट जडानलाई निरन्तरता दिने तयारी गरेको छ । सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राख्ने कार्य रोक्न माग गर्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरेपछि पुनः प्लेट जडानको बाटो खुलेको हो ।

अब फेरि इम्बोस्ड नम्बर प्लेट

पर्यटन व्यवसायी भरतकुमार बस्नेतले हालेको रिट गत मंसिरमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित पाँच न्यायाधीशको संवैधानिक इजलासले खारेज गरेपछि मन्त्रालयले नम्बर प्लेट जडानलाई निरन्तरता दिन लागेको हो । बस्नेतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई समेत विपक्षी बनाई सर्वोच्चको संवैधानिक इजलासबाट हेरिने गरी ६ फागुन ०७४ मा रिट दर्ता गराएका थिए ।


देवनागरीको सट्टा अंग्रेजीमा नम्बर प्लेट लेखेको भन्दै सर्वोच्चमा रिट हालिएको थियो । त्यसपछि तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको इजलासले १० फागुन ०७४ मा ‘अंग्रेजीमा उल्लेख भएको इम्बोस्ड नम्बर प्लेट वितरण नगर्न/नगराउन’ अन्तरिम आदेश दिएको थियो ।

सर्वोच्चको आदेशपछि झन्डै २ वर्षदेखि रोकिएको इम्बोस्ड नम्बर प्लेटको काम अघि बढाउने बाटो खुलेको भौतिक पूर्वाधार तथा यातायातका मन्त्रालयका एक उच्च अधिकारीले बताए । ‘अब केही दिनमै इम्बोस्ड नम्बर प्लेट जडान हुन्छ,’ ती अधिकारीले भने, ‘यातायात व्यवस्था विभागलाई निर्देशन दिइसकेका छौं ।’ उनका अुनसार विभागले त्यसबारे तयारी गरिरहेको जनाएको छ । पाँच वर्षअघि बंगलादेशी कम्पनी डेकाटुर टाइगरसँग ५ वर्षमा २५ लाख नम्बर प्लेट छाप्ने गरी ४ अर्ब ९० करोड २० लाख (४३ मिलियन डलर) को सम्झौता भएको थियो ।


यातायात व्यवस्था विभागका अनुसार हालसम्म करिब ४ हजार ६ सयवटा सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिसकिएको छ ।

सरकारसँग ०७३ जेठ १७ मा गरेको सम्झौतामा बंगलादेशी कम्पनी डेकाटुर टाइगरले ५ वर्षभित्र २५ लाख इम्बोस्ड नम्बर नेपाल सरकारलाई उपलब्ध गराउने उल्लेख छ । सम्झौताअनुसार ०७८ जेठभित्र २५ लाख सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्नेछ । तर, ठेक्का अवधि करिब १६ महिनामात्र बाँकी रहेकाले विभागले कम्पनीसँग सम्झौता गरेर म्याद थप्ने तयारीसमेत गरेको मन्त्रालयका ती अधिकारीले बताए । ‘म्याद बढाउनुको विकल्प छैन,×’ ती अधिकारीले भने, ‘अब बरु चाँडै कसरी काम सिध्याउने भन्नेबारे सोच्नुपर्छ ।’ विभागले मोटरसाइकललाई २ हजार ५ सय, तीनपाङ्ग्रे सवारीलाई २ हजार ९ सय, चारपाङ्ग्रे सवारीलाई ३ हजार २ सय र हेभी सवारीलाई नम्बर जडान गर्न ३६ सय रुपैयाँ शुल्क निर्धारण गरेको थियो ।


सवारी साधन तथा सवारीधनीको विवरण उल्लेख गरी राजस्व तिरे/नतिरेको जानकारी लिन सकिने गरी इम्बोस्ड नम्बर प्लेट जडान गरिन्छ । आधुनिक प्लेटमा रेडियो फ्रिक्वेन्सी इन्फर्मेसन डिभाइस र आईएफआईडी जडान गरिने भएकाले सवारीसाधन कुन अवस्थामा छन् भन्ने सजिलै पत्ता लगाउन सकिने उनले बताए । उपत्यका भित्रिने ५ र बाहिरिने ५ स्थानमा आईएफआईडी स्टेसन राखिने विभागको योजना छ । विभागका अनुसार नेपालमा हाल १४ किसिमका नम्बर प्लेट गाडीमा राख्ने गरिन्छ ।

यातायात विभागका महानिर्देशकले इम्बोस्ड नम्बर प्लेट जडान केही दिनभित्र सुरु हुने बताए । ‘प्रक्रिया अघि बढिसकेको छ, केही दिनमै जडान गर्छौं,’ विभागका महानिर्देशक गोगन हमालले भने । उनले प्लेट जडानका लागि सम्झौता गरिएको कम्पनीलाई सम्पर्कमा आउन पत्राचार गरिसकिएको जनाए ।


मुद्दा पर्नुअघि विभागले जडान गरेका करिब ४ हजार नम्बर प्लेटमा विवरण अद्यावधिक गरी ‘वाग्मती’ प्रदेश राख्नुपर्ने भएको छ । त्यहीबेला प्रदेशको नामकरण नगरिएको भन्दै अब प्रदेश ३ को सट्टा वाग्मती राखिने भएको हो ।

प्रकाशित : माघ १४, २०७६ २१:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?