कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

सिंहदरबारबाट किन टाढा बस्न रुचाउँछन् दुई 'एमबी'?

बबिता शर्मा

काठमाडौँ — दुवैको नाम एमबी । अर्थात् मोहनविक्रम सिंह र मोहन वैद्य । उनीहरुबीच धेरै कुरामा समानता पनि छन् । दुवैको जिल्ला प्यूठान ।

सिंहदरबारबाट किन टाढा बस्न रुचाउँछन् दुई 'एमबी'?

सिंहको घर ओखरकोट दमदमे अनि वैद्यको खैराकुसुमा रुख । उमेरमा भने एक दशकभन्दा बढीको फरक । १९९२ वैशाख ३ मा सिंह जन्मिएको ११ वर्षपछि २००३ साउन १५ जन्मिए वैद्य । अहिले सिंहको उमेर ८४ र वैद्यको ७३ ।


सिंह नेकपा मसालको महामन्त्री । वैद्य नेकपा (क्रान्तिकारी–माओवादी) को महासचिव । दुवै 'एमबी'ले उमेरको उत्तरार्धमा पनि पार्टी नेतृत्व सम्हालेर बसेका छन् । अथवा भन्न सकिन्छ- छोडेका छैनन् । दुवैले आफू र आफ्नो पार्टीले लिएको राजनीतिक–वैचारिक लाइनलाई 'खाँटी' क्रान्तिकारी कम्युनिष्ट लाइन ठान्छन् । यी दुईसँग पार्टी टुटफुटको थरीथरीका अनुभव पनि छन् ।


र, दुवै 'एमबी'को राजनीतिक जीवन उतार–चढावपूर्ण छ । उनीहरुसँग जेलजीवन र भूमिगत जीवनका तितामिठा अनुभव पनि छन् । दुवैले नेपालको कम्युनिष्ट आन्दोलन र राजनीतिक आन्दोलनमा आ–आफ्नो ठाउँबाट योगदान पनि पुर्‍याएको राजनीतिकर्मी र विश्लेषकहरु मान्दछन् ।


सिंह र वैद्यसँग राजनीतिक सहकर्मी भएर काम गरेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भन्छन्, ‘मोहनविक्रम सिंह नेपालको कम्युनिष्ट आन्दोलनको पहिलो पुस्ताको कान्छो नेता हो । उहाँ पहिलो पुस्तामा क्रान्तिकारी धारकै सोच राख्ने व्यक्तित्व हो । दोस्रो पुस्ताको क्रान्तिकारी धारको निरन्तर पैरवी गर्ने व्यक्ति मोहन वैद्यजी हो ।’


विश्लेषक हरि रोका भन्छन्, ‘दुवै एमबीले लामो समयदेखि सांगठनिक, वैचारिक, विजतापूर्ण काम गर्नुभएको छ । दुवैजना डेडिकेटेड, पुरानो, सहज, सरल र आस्था राख्नेमध्येमा पर्नुहुन्छ । नेपालको कम्युनिष्ट आन्दोलनमा उहाँहरुको ठूलो योगदान छ ।’


पातलो मसाल र मोटो मशाल

सिंहको राजनीतिक जीवन २००७ सालमा कांग्रेसबाट सुरु भएको थियो । उनले त्यसबेला प्यूठान तथा सल्यानको मोर्चाहरुमा सहभागिता जनाएका थिए । २००८ सालमा जुद्धोदय पब्लिक हाईस्कुलको प्रथम अध्यक्षमा निर्वाचित भएपछि सिंहको सार्वजनिक जीवन सुरु भएको थियो ।


तीन वर्ष कांग्रेसको राजनीतिपछि सिंह २०१० सालमा नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका थिए । २०१४ सालमा नेकपाको दोस्रो महाधिवेशनमा उनी केन्द्रीय सदस्य भए । २०१९ सालमा भएको पार्टीको तेस्रो महाधिवेशनमा सिंह पोलिटब्युरो सदस्य बने । त्यसबेला उनी जेलमै थिए । २०३१ मा नेकपा (मसाल) को चौथो महाधिवेशनमा पार्टीको महामन्त्रीका रुपमा उनी आए । २०४१ सालमा ‘रीम’को स्थापना सम्मेलनमा सहभागिता जनाए । अहिले पनि उनी मसालको महामन्त्री छन् ।


वैद्यको राजनीतिक जीवन सुरु हुन्छ, २०२१ सालबाट । नयाँ जनवादी क्रान्तिको सपना बोकेर उनले २०२१ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिए । २०२९ सालदेखि पूर्णकालीन भए । पार्टी सदस्यता पाएको १० वर्षपछि ०३१ मा नै उनी कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य भए । पार्टी विभाजनपछि ०४१ मा वैद्य मोटो मशालको महामन्त्री भए ।


२०४३ को ‘सेक्टर काण्ड’ पछि उनले महामन्त्रीको पद पुष्पकमल दाहाललाई हस्तान्तरण गरे । त्यसपछि उनी दाहाल नेतृत्वको पार्टीमा बसे । २०४८ मा एकता केन्द्र बन्यो । फेरि पनि दाहाल नेतृत्वको पार्टीमा वैद्य बसे । जनयुद्धसँगै लडे । २०६९ मा आएर वैद्यले दाहालसँगको सम्बन्ध तोडे । आफ्नै नेतृत्वमा नेकपा (क्रान्तिकारी माओवादी) बनाए । पछि रामबहादुर थापालगायतका सहकर्मी दाहालसँग मिसिन मूल पार्टीमा फर्किए पनि वैद्य आफू हिँडेको बाटोतिर फेरि फर्किएनन् । वैद्यले अहिले पनि (क्रान्तिकारी माओवादी)को महासचिव छन् ।


जेल, भूमिगत जीवन र क्रान्तिकारी सपना

यी दुवै एमबीसँग जेल जीवनको अनुभव छ । २००९ मा भारतीय हस्तक्षेपविरोधी विद्यार्थी आन्दोलनमा प्रक्राउ परेका सिंह एक महिना काठमाडौंको भद्रगोल जेल बसे । २०११ मा प्यूठानको भ्रष्टाचारविरोधी आन्दोलनमा गिरफ्तार भएका बेला सिंह २० महिना जेल बसेका थिए । २०१८ मा पञ्चायती तानाशाही अन्तर्गत सुरक्षा कानूनमा सिंह फेरि ९ वर्ष जेल बसे ।


वैद्यको जेलको अनुभव छ । 'जनयुद्ध'कै बेला वैद्य २०६० मा भारतको सिलगुढीमा पक्राउ परे । तीन वर्ष जेल बसे । माओवादी शान्ति प्रक्रियामा आएपछि उनी छुटे ।


यी दुईसँग भूमिगत राजनीतिक जीवनको पनि लामो अनुभव छ । २०२९ सालदेखि भूमिगत भएका सिंह २०४६ मा देशमा प्रजातन्त्रको पुनर्बहालीपछि अर्ध भूमिगत छन् । आवश्यकता अनुसार सिंह उपलब्ध हुन्छन् तर उनको पार्टीले सिंह अर्ध–भूमिगत रहेको बताउँदै आएको छ ।


वैद्यको भूमिगत जीवन रमाइलो छ । कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेको चार वर्षपछि वैद्य २०२५ सालमा पहिलोपटक भूमिगत भए । उनी भूमिगत हुँदा भर्खरका ठिटा थिए । विवाह पनि भएको थिएन । बसाईं दाङमा थियो । २०२५ मा हसनापुर, दाङको निम्नमाध्यमिक विद्यालयका हेडमास्टर थिए ।


उनी पक्राउ पर्नसक्ने अवस्था आएपछि पार्टीले निर्णय गरेर भूमिगत भएका थिए । त्यसको केही समयपछि फेरि प्यूठान फर्के र सामान्य जीवनमा लागे । तर, दोस्रोपटक २०३४ मा उनी फेरि भूमिगत भए । २०४६ चैतमा जनआन्दोलन सफल भएपछि बल्ल खुला भए । 'जनयुद्ध' सुरु भएपछि फेरि भूमिगत भए ।


अर्थशास्त्रमा एमए गरेका सिंह र नव्य न्यायदर्शनमा शास्त्री (संस्कृत) एवं नेपालीमा एमएसम्मको शिक्षा लिएका वैद्य दुवै लेखपढमा रुचाउने नेता हुन् । दुवैले किताब पनि लेखेका छन् ।


सिंहले शान्तिपूर्ण आन्दोलन वा सशस्त्र संघर्ष, राजनैतिक आलोचना, नेपाल–भारत व्यापार तथा पारवहन समस्या, विचार विवेचना र विश्लेषण, क्रान्ति वा भ्रान्ति, चार दशक (प्रथम र द्वितिय खण्ड), १२ मई (नाटक), उग्र–वामपंथी विचारधाराको खण्डन, विश्व कम्युनिष्ट आन्दोलनको संक्षिप्त इतिहास, नेपालको राष्ट्रियता (राष्ट्रियता सम्बन्धी लेखहरुको संग्रह), युग नृत्य (खण्ड काव्य र कविताहरु), रिम र माओवादीहरुको कथित जनयुद्ध, पार्टीको पुर्नंगठनको समस्या, पार्टी क्लासका नोटहरु, साहित्य र समालोचना, दुई एकांकीलगायतका पुस्तक लेखेका छन् ।


वैद्यका पनि लाहुरेको लहर खण्डकाब्य, मार्क्सवादी कलादृष्टि र समीक्षा, संघर्षको दर्शन, नेपाली समाज र संस्कृति, क्रान्ति र सौर्न्दय, समीक्षा र सौन्दर्य, मार्क्सवाद र संस्कृति अनि मार्क्सवादी दर्शन नामक राजनीतिक–वैचारिक पुस्तकहरु प्रकाशित छन् ।


कुनै बेला थिए एउटै पार्टीमा

सिंह र वैद्यले २०२१ देखि २०४१ सम्म एउटै पार्टीमा बसेर काम गरे । तर, २०३९ सालमा सिंह र निर्मल लामाबीच चर्को विवाद भयो । अल्पमत र बहुमत भयो, अन्तत पार्टी विभाजन भयो । विभाजनपछि चौथो महाधिवेशन (चौम) को नेतृत्व निर्मल लामाले गरे । चौम दक्षिणापन्थी संसोधनवादमा गएको भन्दै सिंहले भक्तबहादुर श्रेष्ठको नेतृत्वमा नेकपा मशाल गठन गरे ।


२०४१ मा भारतको अयोध्यामा सिंह, श्रेष्ठ र वैद्य मिलेर पाँचौ महाधिवेशन गरे । र, महामन्त्री सिंह भए । महाधिवेशन भएको एक वर्ष नपुग्दै पार्टी विभाजन भयो । मोटो मशाल र पातलो मसाल बने । मोटो मशालको महामन्त्री वैद्य र पातालो समालको महामन्त्री सिंह भए । त्यहाँबाट अलग–अलग बाटो हिँडेका वैद्य र सिंहको कहिल्यै भेट (एउटै पार्टीमा) भएन ।


सिंहदरबारदेखि विरक्त

सांसद, मन्त्री हुन दलका नेता कार्यकर्ताबीच ठूलो भीडन्त हुन्छ । यी दुई 'एमबी'लाई सिंहदरबार प्रवेशको भोक जागेन । सधै सिंहदरबारबाट टाढा बस्न रुचाए । शक्ति भए पनि नभए पनि ।


किन कहिलै सिंहदरबारतिर नजर लगाउनु भएन भन्ने प्रश्नमा दुवै 'एमबी'को जवाफ पनि उस्तै छ, ‘आमुल परिवर्तनकारी राजनीतिमा लागेको हो । लाभका पदको लागि राजनीति गरेको होईन ।’ भविष्यमा कुनै लाभको पदको अवसर आयो भने के गर्नुहुन्छ भन्ने प्रश्नमा पनि दुवैको जवाफ समान छ, ‘त्यस्तो पदमा काम गर्ने कुनै इच्छा पनि छैन, विचार पनि छैन ।’

वैद्य पहिलो संविधानसभामा समानुपातिकतर्फ सभासद् बने, त्यो पनि दाहालको आग्रहमा । त्यसमा पनि उनले सर्त राखे ।

‘क्रान्ति’लाई सहयोग हुन्छ भने मात्रै बस्छु नत्र बस्दिनँ,' त्यतिबेला वैद्यले भनेका थिए । दाहालको जोडबलपछि उनी सभासद् बने । तर, संसदको काम चित्त बुझेन । कार्यकाल नसकिँदै राजीनामा दिए । उनी भन्छन्, ‘त्यतिबेला पार्टीले संविधानसभामा जाने कार्यनीति बनाएको थियो । मैले सबै साथी किन जानुपर्‍यो भनेको थिएँ । तपाई जानुपर्छ भन्ने कुरा भयो, गइयो पनि । तर त्यहाँ बस्न उपयुक्त लागेन । बीचमै राजीनामा दिए ।’


सिंहलाई पनि त्यस्तो अवसर नआएको होइन । तर, उनले लाभको पदमा जाने इच्छा नै जाहेर गरेनन् । बरु पार्टीका अन्य नेताहरुलाई पठाए । सिंह भन्छन्, ‘विभिन्न चरणमा पार्टी चुनावमा होमियो । कतिपय साथीहरुले चुनाव जित्नु पनि भएको छ । म पनि उठेको भए जित्थें । तर, मन्त्री सांसद बन्ने भन्दा पनि आफ्नो सिद्धान्त, आदर्शलाई मुख्य ठानेर राजनीतिमा सक्रिय भएँ । लाभको लागि राजनीति गर्ने कहिले पनि सच्चा क्रान्तिकारी हुनै सक्दैन ।’ सिंह लाभको पदमा नपुगे पनि आफ्नी पत्नी दूर्गा पौडैल लाई सांसद बनाएको भनेर उनकै पार्टीबाट आलोचना पनि हुने गरेको छ ।


उमेर र स्वास्थ्य अवस्थाले विस्तारै साथ दिन छाडेको छ । तर पनि उनीहरु राजनीतिमा सक्रिय छन् । र, त नेपालको कम्युनिष्ट आन्दोलनमा दुवै एमबीको नाम अग्रस्थानमा नै आउँछ ।


राजनीतिमै जीवन समर्पण गरेका दुई 'एमबी'लाई जिज्ञासा राख्यौं, 'सिंहदरबारतिर नजर नलगाई राजनीतिबाट विश्राम लिनुहुन्छ ?' जवाफ पनि एउटै छ, ‘त्यता ध्यान नै छैन । तर, जबसम्म शरिरले साथ दिन्छ राजनीतिमा भने सक्रिय हुन्छौं ।’

दुवै 'एमबी'का पार्टी खुम्चिँदै गए पनि उनीहरुको सपना भने बुलन्द छ– ‘देशमा जनवादी राज्य सत्ता’ ल्याउने !



बाबुराम भट्टराईको नजरमा दुई ‘एमबी’

मोहनविक्रम सिंह नेपालको कम्युनिष्ट आन्दोलनको पहिलो पुस्ताको कान्छो नेता हो । उहाँ पहिलो पुस्तामा क्रान्तिकारी धारकै सोच राख्ने व्यक्तित्व हो । २०१७ सालमा राजा महेन्द्रले ‘कू’ गरिसकेपछि दरभंगा प्लेनम भएको थियो । दरभंगा प्लेनमको बेलामा केशरजंग रायमाझीहरुले राजासँग मिल्नेजस्तो कुरा गरे । पुष्पलालजीहरुले पुरानै संसदको स्थापना गर्नुपर्छ भन्ने लाइन लिनुभयो ।

मोहनविक्रम सिंहलगायतले संविधानसभाकै निर्वाचन गरेर नयाँ संविधान लेख्नुपर्छ भन्ने कुरा उठाउनु भएको थियो । त्यसले के पुष्टी गर्छ भने पुरानो पुस्तामा अलिकति र्‍याडिकल ढंगले सोच्ने मोहनविक्रमजी हो । मैले पनि उहाँबाट प्रेरणा लिएर तीसको दशकमा कम्युनिस्ट आन्दोलनमा लागे । अरुको सापेक्षतामा त्यतिबेला पुष्पलालजी विचारमा अगाडि हो तर संगठनात्मक ढंगमा धेरै कमजोर देखिनुभयो ।

२०३५ सालमा मैले राजनीति सुरु गरेको हुँ । पुष्पलाल त्यसै वर्ष बित्नु भएको हो । त्यतिबेला पुरानो पुस्तामध्येमा मोहनविक्रम नै सापेक्ष ढंगले क्रान्तिकारी सोच राख्ने व्यक्तित्व हो भनेर म जस्तै यूवाहरुले साथ दियौं । पछि उहाँले त्यो विचारलाई समयानुकूल विकास गर्दै जाने, अर्न्तराष्ट्रिय आन्दोलनमा पनि स्टालिनको पालापछि यान्त्रिक जड भएको कम्युनिस्ट आन्दोलनलाई नँया ढंगले अगाडि बढाउने, नेपालमा राजतन्त्रलाई अन्त्य गर्न सशस्त्र संघर्षको कुरा त सधैं गर्नुभयो तर त्यसको तयारी गरेर 'जनयुद्ध' जस्तो आन्दोलन गर्न उहाँ चुक्नु भयो । त्यसले पछाडि परियो भन्ने भएपछि हामीले माओवादी पार्टी निर्माण गरेर 'जनयुद्ध' लडेर यहाँसम्म आयौं ।

तैपनि मोहनविक्रमजी निरन्तर अहिलेसम्म त्याग र बलिदानको भावना लिएर कुनै लोभलालच नगरी लागिरहनु भएको छ, म उहाँलाई सम्मान गर्छु । उहाँको प्रशंसा गर्छु । सबै मान्छे सिंहदरबार जाने र कुर्सीमा बस्ने सोच सही होइन । जो सत्तामा पुग्यो त्यो सफल भयो, जो पुगेन त्यो असफल भयो भन्ने बुझाई छ, त्यो गलत छ । एउटा क्रान्तिकारी समाज रुपान्तरण, सत्य र न्यायको लागि लाग्नेमान्छेले बाटो देखाउने हो । अभियान र आन्दोलन उठाउने हो । त्यसको आधारमा सफल र असफल नाप्नु पर्छ । उ सत्तामा पुग्यो वा पुगेन भनेर तौलिएर हुँदैन । सत्तामा राजा महाराजा पुग्छन् । त्यसकारण त्यसलाई आधार बनाउनु हुँदैन । क्रान्तिकारीहरु पनि सत्तामा पुगेर फेरि क्रान्तिलाई निरन्तरता दिने काम पनि गर्नुपर्छ, यो एउटा पाटो हो । तर मोहनविक्रमजी सत्तामा पुग्नु भएन र उहाँ असफल हुनुभयो भनेर मूल्याङ्कन गर्नु उपयुक्त हुँदैन ।


दोस्रो पुस्ताको क्रान्तिकारी धारको निरन्तर पैरवी गर्ने व्यक्ति मोहन वैद्यजी हो । टुटफुट भएको कम्युनिस्ट आन्दोलन जब ३० को दशकदेखि नँया ढंगले अगाडि बढ्यो सुरुमा मोहनविक्रमजी र निर्मल लामाजीहरुले पहल गर्नुभयो । झापा आन्दोलनले पनि पहल गर्‍यो । त्यतिबेलादेखि नै मोहन वैद्यजी कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउने दिशामा लाग्नु भयो । त्यहीक्रममा नै हामी एकता केन्द्र हुँदै माओवादी निर्माण गरेर अगाडि बढ्यौं । जनयुद्धमा पनि उहाँले सकारात्मक भूमिका निर्वाह गर्नुभयो । त्यसकारण पनि म उँहालाई सम्मान गर्छु ।


मोहनविक्रम र मोहन वैद्यमा केही कुरा फरक छन् । वैद्यजीले समयानुकूल अगाडि जाने कोशिस गर्नुभयो । जनयुद्धमा लागेर त्यसको प्रमुख नेतृत्वको भूमिका निर्वाह गर्नुभयो । त्यसअर्थमा मोहनविक्रमजी भन्दा वैद्यजी अगाडि हो । तर, पछिल्लो चरण नेपालमा पुरानै ढंगले आन्दोलन अगाडि जान सकेन । फेरि पनि माओवादी आन्दोलनलाई एउटा विन्दुमा पुर्‍याएर संघीय लोकतान्त्रीक गणतन्त्रसम्म पुर्‍यायौं । त्यसपछि कसरी जाने भन्ने बहस बाँकी छ । अहिले हामी त्यही बहस गरिरहेका छौं ।

समाज रुपान्तरणको अभियानमा पुरानै ढंगले जाने कि नयाँ ढंगले पुनर्गठन गरेर जाने भन्ने बहस छ । यसमा हाम्रो अन्तर त छ । फेरि पनि मोहन वैद्यजीले एउटा निष्ठा कायम गरेर लोभलालच नगरी अहिलेसम्म संगठित हुनु भएको छ । उहाँप्रति पनि उच्च सम्मान छ ।

प्रकाशित : माघ १४, २०७६ १७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?