कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

वीरेन्द्रनगरमा बुधबार बिहानसम्म कर्फ्यू

चाँदनी कठायत

वीरेन्द्रनगर — टिपरको ठक्करबाट एक युवकको मृत्युपछि वीरेन्द्रनगर बजारमा भएको प्रदर्शनले उग्र रुप लिएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले कर्फ्यू आदेश जारी गरेको छ ।

वीरेन्द्रनगरमा बुधबार बिहानसम्म कर्फ्यू

मंगलबार साँझ साढे ६ बजेदेखि बुधबार बिहान ६ बजेसम्म प्रशासनले कर्फ्यू लगाएको प्रमुख जिल्ला अधिकारी वषन्त अधिकारीले जानकारी दिए । भर्खरै सम्पन्न सुरक्षा समितिको वैठकले उग्र रुप लिएको प्रदर्शनले धनजनको क्षति हुन सक्ने भन्दै कर्फ्यू आदेश गरेको उनले बताए ।

प्रशासन कार्यालयले कर्फ्यू आदेश सूचना जारी गर्दै पूर्वमा ईत्राम खोला, पश्चिममा बांगेसिमल, उत्तरमा कपासे ब्यारेकसम्म र दक्षिणमा रत्न राजमार्गको ५०० मिटर दक्षिण क्षेत्रसम्म कर्फ्यू लाग्ने जनाएको छ । कर्फ्यू लागेको समयमा तोकिएको क्षेत्रमा आवतजावत गर्न, भेला हुन वा अन्य कुनै पनि काम गर्न नपाईने भन्दै प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो । कर्फ्यू तोड्ने जो कोहीलाई पनि आवश्यकताअनुसार सुरक्षाकर्मीले गोली समेत चलाउन सक्ने भन्दै प्रशासनले आदेश उल्लंघन नगर्न चेतावनी दिएको छ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतले जारी गरेको कर्फ्यू आदेश सूचना ।

टिपरको ठक्करबाट कालिकोटको महावै गाउँपालिका–३ सिम्खेतका २१ वर्षीय केशरबहादुर सिंहको मंगलबार बिहान घटनास्थलमै मृत्यु भएको थियो । भे १ प २१७८ नम्बरको मोटरसाइकलमा सवार उनलाई भे १ ख २२४२ नम्बरको टिपरले किचेको हो । प्रत्यक्षदर्शीका अनुसार उनलाई करिब २० मिटर टाढासम्म टिप्परले घिसार्दै लगेको थियो ।


सिंहको मृत्युपछि दोषीलाई कारवाहीको माग गर्दै मृतक सिंहका आफन्त र स्थानीयले दिनभर बजारमा प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा उनीहरुले केही पसलहरुमा तोडफोड पनि गरे । प्रदर्शनकारीले दिनभर बजार बन्द गराई कारवाहीको माग गर्दै ठाउँ–ठाउँमा टायर बाल्दै नारावाजीसहित प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीको अवरोधका कारण सवारी साधन पनि चल्न सकेका छैनन् । चालकको लापरबाहीले दुर्घटना भएको भन्दै मृतक सिंहका आफन्त र स्थानीयले कडा कारबाहीको माग गरेका छन् । उनीहरुले पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका हुन् । प्रदर्शनकारीको आन्दोलनले उग्र रुप लिएपछि प्रहरीले केही राउण्ड हवाई फायरसमेत गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी डिल्लीराज पन्तले प्रहरी र आन्दोलनकारी दुबैतर्फ केही व्यक्ति घाईते भएको बताए।

प्रकाशित : माघ १४, २०७६ १७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?