त्रिवीद्वारा स्ववियु निर्वाचन फागुन १४ गते गर्ने प्रस्ताव- समाचार - कान्तिपुर समाचार

त्रिवीद्वारा स्ववियु निर्वाचन फागुन १४ गते गर्ने प्रस्ताव

सुदीप कैनी

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले  फागुन १४ स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने प्रस्ताव गरेको छ । निर्वाचनको मिति टुंग्याउन अहिले किर्तिपुरस्थित विश्वविद्यालयमा अहिले विद्यार्थी संघ संगठनहरुसँग बैठक भइरहेको छ ।  

विश्वविद्यालयले विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले निर्वाचन फागुन १४ गते गर्ने र त्यसका लागि फागुन ४ गेसम्म मतदाता नामावली टु‌ग्याएर प्रकाशन गर्नु पर्ने कार्यतालिका मंगलबार सार्वजनिक गरेको छ ।


यसअघि पुस २८ गते उपकुलपति धर्मकान्त बाँस्कोटा र विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक गंगाबहादुर थापाले क्याम्पस प्रमुखहरूलाई डाकेर फागुन १४ गते निर्वाचन गर्नेगरी तयारी थाल्न भनेका हुन् । त्यो बैठकमा क्याम्पस प्रमुखहरू निर्वाचन गराउन सकारात्मक भएका थिए । उनीहरुले स्ववियु निर्वाचनको तयारी र प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएपछि निर्वाचन तयारी थाल्न निर्देशनालयले मुलुकभरका क्याम्पसलाई परिपत्र गरेको थियो ।


मिति घोषणा भएपछि विद्यार्थी संगठन पनि निर्वाचन गराउन सकारात्मक देखिएका थिए ।


०७३ मा निर्वाचित स्ववियु पदाधिकारीको म्याद ०७५ फागुनमा सकिएको थियो । त्यसपछि ६/६ महिनाका लागि दुई पटक थपिएको म्याद आगामी फागुन १३ बाट सकिँदै छ । ०७३ मा अधिकांश आंगिक क्याम्पसमा निर्वाचन हुन सकेको थिएन ।


त्रिविले विद्यार्थी भर्नालगायतका काम समयसीमाभित्रै सक्न भनेको छ । यतिबेला स्नातकोत्तर तहको भर्ना चलिरहेको छ । त्रिविले एक साताभित्रै निर्वाचनसम्बन्धी कार्यतालिका सार्वजनिक गरेर थप प्रक्रिया अघि बढाउने थापाले जनाए । निर्वाचनका लागि उम्मेदवार बन्न २८ वर्षको उमेर हद तोकिएको छ ।

प्रकाशित : माघ १४, २०७६ १५:५२
प्रतिक्रिया
पठाउनुहोस्

रसुवागढीबाट केरुङ प्रवेश १५ दिन रोकियो 

बलराम घिमिरे

रसुवा — रसुवागढी नाकाबाट केरुङ प्रवेशका लागि १५ दिनसम्म मानिस तथा सवारी आवतजावत रोक लगाइने भएको छ । बुधबारदेखि लागु हुनेगरी १५ दिनसम्मको लागि चिनियाँ पक्षले केरुङ प्रवेश गर्ने मानिस तथा सवारी आवतजावतमा रोक लगाउने जानकारी दिएको अध्यागमन कार्यालय रसुवाका वरिष्ठ अध्यागमन सहायक केशरबहादुर राईले बताए ।

चिनियाँ पक्षले नै १५ दिनका लागि मानिस र सवारीसाधन आवतजावत गर्न रोक लगाइएको हो नाका नै बन्द गरिएको भने होइन । मंगलबार बिहान रसुवागढी नाकामा नेपाल प्रहरी, चिनियाँ प्रहरी र अध्यागमन कार्यलयका अधिकारीहरुबीचको बैठकमा बुधबारदेखि मानिस तथा सबारी आवतजावतमा रोक लागाउने विषयमा छलफल भएको थियो । कोरोना भाइरसको संक्रमण रोक्न, केरुङतर्फ जाने सडकमा हिउँ परेको तथा ढुंगाहरू खसेर दुर्घटना हुनसक्ने र ल्होसार पर्वमा परेको सार्वजनिक बिदाको कारण देखाउँदै चिनियाँ पक्षले आवतजावतमा रोक लगाएको हो । नेपाल चीन आगमन प्रस्थान अनुमति पत्र (चाइना पास) लिएका रसुवाका नागरिकलाई भने नाका पारीसम्म मात्र जान पाउने सुविधा रहेको छ ।

प्रकाशित : माघ १४, २०७६ १५:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×