१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

केयूमा ७ संकायको मात्र ताला खुल्यो

रासस

काठमाडौँ — धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)का विभिन्न ७ संकायमा लगाइएको ताला २८ दिनपछि खुलाइएको छ । पछिल्लोपटक गत पुस १६ गतेदेखि केन्द्रीय हाताका उपकुलपति, रजिष्ट्रार, डीन कार्यालय, परीक्षा नियन्त्रणको कार्यालय टेक्निकल ट्रेनिङ सेन्टर (टिटिसी) प्रशाकीय भवनलगायत मुख्य प्रशासनिक भवन तथा विभिन्न संकायको कक्षामा तालाबन्दी भएको थियो ।

केयूमा ७ संकायको मात्र ताला खुल्यो

विश्वविद्यालयमा सञ्चालित सातै संकायको कक्ष, परीक्षा नियन्त्रणको कार्यालय, टिटिसी प्रशासकीय भवनको ताला मात्रै खुलाइएको स्कुल अफ साइन्सका डीन प्रा डा कन्हैया झाले जानकारी दिए । उनका अनुसार उपकुलपति, रजिष्ट्रार र डीन कार्यालयको तालाबन्दी खुलाइएको छैन । केयू प्राध्यापक स‌ंघ र कर्मचारी स‌ंघले संयुक्तरुपमा विभिन्न माग राख्दै ताला लगाएको थियो ।


“सोमबारको बालुवाटार भेलामा शिक्षामन्त्री ज्यूले तालाबन्दी खोल्नुस्, पठनपाठन रोक्नु भनेको अपराधजस्तै हो, केयूको समस्याबारे पछि छलफल गरौँला भनेपछि आन्दोलनरत पक्षले आज बिहान ९ बजे आंशिक्षकरुपमा मात्रै तालाबन्दी खोल्नुभयो”, उनले भने । हिजोको विशेष छलफलमा केयू प्रशनसनले प्राध्यापक र कर्मचारी स‌ंघका प्रतिनिधिलाई छलफलमा नराखेको र छलफलमा बसेका प्रतिनिधिलाई जबर्जस्त बाहिर पठाएको विरोधमा उपकुलपति, रजिष्ट्रार र डीन कार्यालयको तालाबन्दी नखुलाइएको स‌ंघका अध्यक्ष वेदमणि जानकारी दिए ।


यसअघि केयू प्रशासनले आन्दोलनरत पक्षलाई ‘माग सम्बोधन गर्ने’ आश्वासन दिँदा २१ दिनपछि ताला खुलाइएको थियो । दुई स‌ंघ गत साउन २३ गतेदेखि विभिन्न माग राख्दै पटक–पटक आन्दोलनमा छन् । विभिन्न वार्ता असफल भएपछि दुई स‌ंघले चरणबद्ध आन्दोलनको घोषणा गर्दै आएका छन् ।


स‌ंघले काठमाडौँ विश्वविद्यालय ऐन–२०४८ मा भएका विभेदकारी प्रावधान हटाई सम्बन्धित सबै पक्षको सभागितामा संशोधन गर्नुपर्ने, विश्वविद्यालयमा भइरहेको आर्थिक तथा नीतिगत भ्रष्टाचारको अन्त गर्नुपर्ने, प्राध्यापक तथा कर्मचारीको नियुक्ति, नियमित वृत्ति विकास जस्ता माग राखेको छ ।

प्रकाशित : माघ १४, २०७६ १२:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?