राष्ट्रिय पुस्तकालयलाई राष्ट्रिय गौरव आयोजना : शिक्षामन्त्री

गणेश राई

काठमाडौँ — राष्ट्रिय पुस्तकालयका निम्ति अत्याधुनिक सुविधा सम्पन्न, प्रविधिमैत्री, अन्तर्राष्ट्रियस्तरको भवन बन्ने भएको छ । त्यसनिम्ति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय पुस्तकालयलाई राष्ट्रिय गौरव आयोजनाका रूपमा अघि बढाएको बताएका छन् ।

राष्ट्रिय पुस्तकालयलाई राष्ट्रिय गौरव आयोजना : शिक्षामन्त्री

सरकारले काठमाडौं महानगरपालिका–१ जमलमा करिब ८ रोपनी क्षेत्रफल जग्गा राष्ट्रिय पुस्तकालयलाई उपलब्ध गराएको छ । सहरको मध्यभागमा रहेको उक्त जग्गा पुराना जीर्ण भवन रहेका छन् । सोही जग्गामा ‘नेपालको मौलिक कला, संस्कृति र परम्परा झल्किने अत्याधुनिक राष्ट्रिय पुस्तकालय भवन’ निर्माण गर्ने डीपीआर तयार गरिएको हो । यसअघि त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको निर्माण स्थलको केही भाग हालसम्म शंकरदेव क्याम्पसले उपभोग गर्दैआएको छ । डीपीआर तयार भएसँगै आगामी फागुन १५ गतेबाट निर्माण स्थलका पुराना संरचना भत्काउन र हटाउन सुरु गरिने जनाइएको छ ।


‘राष्ट्रिय पुस्तकालय निर्माणका निम्ति डीपीआर तयार भएको छ,’ मन्त्री पोखरेलले कान्तिपुरसित भने, ‘अब यसलाई नेपालको राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाइने छ । यो पुस्तकालय भवन अत्याधुनिक मात्र नभई नेपाली कला, संस्कृति परम्परा झल्किने प्रविधिमैत्री, पाठकलाई अधिकतम सजिलो बनाउने, पढुँपढुँ लाग्ने थलोका रूपमा निर्माण हुनेछ । त्यसनिम्ति तत्कालै टेन्डर प्रक्रियामा जानेछौं ।’ यो पुस्तकालय भवन नेपाल सरकार आफैंले निर्माण गर्ने जनाइएको छ । भवन निर्माण लागत ९८ करोड रुपैयाँ लाग्ने डीपीआरमा उल्लेख छ । भवन निर्माण कार्यका निम्ति चालू आर्थिक वर्षमा ४ करोड ९० लाख रुपैयाँ बजेट रहेको छ ।


जमलस्थित राष्ट्रिय नाचघर र मूल सडक कान्तिपथबाट पूर्वतर्फ बन्ने पुस्तकालय भवन सतहमुनि दुई तला र सतहमाथि पाँच तलाको हुनेछ । सतहमुनि पार्किङको व्यवस्था हुनेछ । ‘ब्लक ए’ र ‘ब्ल बी’ रहने भवन अपांगता, बालबालिका, ज्येष्ठ नागरिकको सहज पहुँच रहनेछ । हरेक तलामा फरक–फरक विषयका अध्ययन कक्ष रहनेछन् । राष्ट्रिय पुस्तकालयको नयाँ भवन बन्न कम्तिमा तीन वर्ष लाग्ने अनुमान गरिएको छ । डीपीआर बनेसँगै माटो परीक्षण र वातावरणीय प्रभाव मूल्यांकनसमेत भएको जनाइएको छ ।


ललितपुरको हरिहर भवनमा रहेको राष्ट्रिय पुस्तकालय भवन २०७२ वैशाखको भूकम्पले जीर्ण बन्यो । त्यहाँ रहेका डेढ लाख पुस्तकलाई बोरामा पोको पारेर राखिएका छन् । पुस्तकालय प्रमुख उपेन्द्रप्रसाद मैनालीका अनुसार भूकम्पपछि पुस्तकलाई काठमाडौंको ज्ञानेश्वरस्थित महेन्द्र भवन माविको दुईतले भवनमा ८० हजार थान पुस्तक सारिएका छन् । २१ हजार थान पुस्तक सानोठिमीस्थित शैक्षिक जनशक्ति विकास केन्द्रको गोदाममा पुर्‍याइएका छन् । बाँकी पुस्तक हरिहर भवनकै बालशाखामा गोदामभित्र बोरामा राखिएका छन् । तीन सय वर्ष पुराना पुस्तक बोरामै थन्किएका छन् । पुस्तकालयको प्रशासनिक काम हरिहर भवन घोडातबेला टहरामा सुचारु छ । भूकम्पबाट पुस्तक जोगिए पनि राष्ट्रिय पुस्तकालयले सेवा दिन सकेको छैन ।


ऐतिहासिक महत्वका हजारौं पुस्तकलाई कीरा लाग्नबाट जोगाउन कपुर र बेगन प्रयोग गरिएको छ । बर्खामासमा पानी पसेर किताब भिजेका छन् भने धमिरासमेत लागेको छ । कतिपय पुस्तक तथा कागजातहरू धुजाधुजा अवस्थामा छन् । हस्तलिखित ग्रन्थहरूमध्ये केहीलाई कपडाले बेरेर राखिएको छ । रेकर्डअनुसार राष्ट्रिय पुस्तकालयमा दर्ता गरिएका १ लाख ८ हजार किताब र पत्रपत्रिकासहित १ लाख ५० हजारभन्दा बढी छन् । पुस्तकालयले नेपाली, अंग्रेजी, हिन्दी र संस्कृत भाषाका फरक शाखा विस्तार गरेको थियो । पुस्तकालयमा मराठी, पाली, फ्रेन्च, जापनिज, थाई, मलेसियन र नेपालमा बोलिने विभिन्न भाषाका पुस्तक पनि छन् ।


राष्ट्रिय पुस्तकालयमा २३ कर्मचारी दरबन्दी रहेमा कटौती भई हाल १५ जना कार्यरत छन् । भूकम्पपछि पुस्तक अन्यत्र सारिए पनि कर्मचारी भने हरिहरभवन परिसरको तत्कालीन तबेला टहरामा बाल पुस्तकालय कक्षमा छन् । पुस्तकालयले पत्रपत्रिका र अन्य प्रकाशनलाई इन्टरनेसनल स्ट्यान्डर्ड सिरियल नम्बर (आईएसएसएन) दिँदै आएको छ ।


राष्ट्रिय पुस्तकालयको अनलाइन सुचारु छ । नयाँ पुस्तक खरिद गर्ने गरिन्छ । सरकारले २०१३ पुसमा राष्ट्रिय पुस्तकालय स्थापना गरेको हो । सुरुमा राजगुरु हेमराज पाण्डेका निजी पुस्तकहरू खरिद गरेर पुस्तक संकलन सुरु गरिएको थियो । उतिखेर सिंहदरबार परिसरको सिक्री ढोका भवनमा रहेको उक्त पुस्तकालय २०१७ सालमा ललितपुरको हरिहरभवनमा सारिएको थियो ।


पुस्तकालय अभियन्ताले राष्ट्रिय पुस्तकालय पुनःस्थापनाको निर्णयको स्वागत गरेका छन् । अब बन्ने भवन नेपाल र नेपालीले गर्व गर्न सकिने, नेपाली कला संस्कृति झल्किने, विपद् प्रतिरोधी, अपांग मैत्री, वातावरणलाईसमेत ध्यानमा राखेर आधुनिक प्रविधियुक्त हुनुपर्ने भनेका छन् । पुस्तकालयले नेपालको पहिचान दिनसक्नुपर्ने भनेका छन् ।


पुस्तकालय सेवा सानोठिमीमा


राष्ट्रिय पुस्तकालयको नयाँ भवन नबनेसम्म पुस्तकालय भक्तपुरको सानोठिमीमा अस्थायी टहरामा सारिने भएको छ । शिक्षा मन्त्रालयअन्तर्गत साबिक शैक्षिक जनशक्ति विकास केन्द्रको कार्यालय परिसरमा करिब ३ रोपनी क्षेत्रफलमा सार्न लागिएको हो । ‘मन्त्रालयले जमलमा पुस्तकालय भवन नबनेसम्म अस्थायी रुपमा सेवा सुचारु राख्ने सर्तसहित जग्गा उपलब्ध गराएको छ,’ पुस्तकालय प्रमुख मैनालीले भने । प्रिफ्याब संरचना निर्माण गरी सेवा प्रदान गर्ने उनले बताए ।


प्रकाशित : माघ १३, २०७६ २१:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?