२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

प्रेमध्वज र यादव खरेललाई प्रधानमन्त्रीले भने- 'जेलमा जसको गीत सुन्थें, उहाँहरु नै अन्यायमा परेकोमा दु:ख लाग्यो'

म्युजिक कम्पनीविरुद्ध स्रष्टाले दिए प्रहरीमा उजुरी
गोकर्ण गौतम

काठमाडौँ — गायक/संगीतकार राजन इशानका गीतहरु संसारभरका करिब पाँच सय डिजिटल प्लेटफर्ममा उपलब्ध छन् । तर, त्यसको लागि न कसैले उनीसँग अनुमति लिएको छ, न त रोयल्टी नै पाएका छन् ।

प्रेमध्वज र यादव खरेललाई प्रधानमन्त्रीले भने- 'जेलमा जसको गीत सुन्थें, उहाँहरु नै अन्यायमा परेकोमा दु:ख लाग्यो'

म्युजिक कम्पनीबाट ठगिएका इशानले कानुनी बाटो रोजेका छन् । सोमबार उनले महानगरीय प्रहरी परिसर, काठमाडौंमा प्रतिलिपि अधिकारी हनन भएको भन्दै उजुरी दिएका छन् ।

इशानसँगै भजनशिरोमणी भक्तराज आचार्यको प्रतिनिधित्व गर्दै उनका छोराहरु सत्यराज आचार्य र स्वरुपराज आचार्यले पनि उजुरी दिएका छन् । इशानले भने, ‘मेरा गीतको बिक्री वितरण र आम्दानीको कुनै जानकारी छैन । त्यसैले कानुनी लडाईं लडनुको विकल्प रहेन ।’ प्रतिलिपी अधिकार ऐन, २०५९ अनुसार उजुरी हालेको उनले जानकारी दिए । इन्द्रेणी क्यासेट सेन्टर र रञ्जना म्युजिक प्रालिसहित तीन कम्पनीविरुद्ध उजुरी परेको बताइएको छ ।

इशान र सत्य–स्वरुपसँगै संगीतकार संघका महासचिव पारस मुकारुङ, संघका संरक्षक लक्ष्मण शेष, गीतकार संघका महासचिव बसन्त थापालगायत करिब एक दर्जन संगीतकर्मी परिसर पुगेका थिए । परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) उत्तम सुवेदीले स्रष्टाको उजुरीको प्रारम्भिक अध्ययन थालनी भएको बताए । सुवेदीले भने, ‘उजुरीलाई गम्भीरतापूर्वक लिएका छौं । अनुसन्धानपश्चात कानुनबमोजिम अगाडि बढ्छौं ।’

म्युजिक कम्पनीको बेइमानीविरुद्ध सबै स्रष्टा एकजुट भएको संगीतकार शेषले जनाए । लामो समयको गृहकार्यपछि कानुनी प्रक्रिया सुरुवात गरिएको उनको भनाई छ । ‘हामी अब हप्तामा चार–पाँच मुद्धा हाल्ने गरी तयारी अवस्थामा छौं । दुई दर्जन पीडित स्रष्टाले आफ्नो सिर्जना अनाधिकृतरुमा प्रयोग गरिएको प्रमाण संकलन गरिसक्नु भएको छ,’ शेषले भने । पीडित स्रष्टाले मुख्य लडाई म्युजिक नेपालसँग भएको बताउँदै आएका छन् ।

परिसरमा उजुरी दिनुअगाडि सोमबार स्रष्टाहरुले प्रधानमन्त्री केपी ओलीलाई भेटेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा गायक प्रेमध्वज प्रधान, गीतकार यादव खरेल, अम्बर गुरुङका छोरा संगीतकार किशोर गुरुङ, गीतकार संघका अध्यक्ष चुडामणी देवकोटासहित एक दर्जन संगीतकर्मी सहभागी थिए ।

खरेलले भने, ‘लगानी र स्वामित्वबिनै म्युजिक कम्पनीले स्रष्टामाथि बेइमानी गरेका छन् । प्रधानमन्त्रीसामू हामीमाथिको अन्याय प्रष्ट शैलीमा व्यक्त गर्‍यौं ।’ अनधीकृतरुपमा विदेशी पोर्टलमा आफ्नो सिर्जना बेचेर डलर र पाउन्ड कमाएको भन्दै म्युजिक नेपालसहित केही कम्पनीको नामै तोकेर स्रष्टाले गुनासो पोखेका थिए ।

प्रधानमन्त्रीसामू स्रष्टाको मुख्य माग थियो– क्षतिपूर्तीसहित सृर्जना फिर्ता पाउनुपर्ने । त्यसका लागि उच्चस्तरीय छानबिन कमिटी बनाउनुपर्ने । शेषका अनुसार प्रधानमन्त्रीले संगीतकर्मीको हकहित दिलाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन् । भेटमा ओलीले जेल बसाईमा प्रेमध्वज र खरेलका गीत सुनेको स्मरण पनि गरेका थिए । प्रधानमन्त्रीलाई उधृत गर्दै शेषले भने, ‘म जेलमा जसका गीत सुन्थे, उहाँहरु नै अन्यायमा परेकोमा दुख लागेको छ । यसको स्थायी समाधानको उच्चस्तरीय सरकारी संयन्त्र बनाउन निर्देशन दिन्छु । केही दिनमा प्रतिफल आउने गरी तपाईंहरुलाई बोलाउँछु ।’

आइतबार सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदीको मध्यस्ततामा स्रष्टाको प्रतिनिधिमण्डल र म्युजिक कम्पनीका तर्फबाट म्युजिक नेपालका कार्यकारी निर्देशक सन्तोष शर्माबीच छलफल भएको थियो । शर्माले आफूले आधिकारिकरुपमै गीत लिएर डिजिटल प्लेटर्फममा राखेको र हिसाबकिताब पारदर्शी रहेको दाबी गरेका थिए भने स्रष्टाले कम्पनीबाट ठगिएको प्रमाणहरु पेश गरेका थिए ।

छलफल प्रभावकारी नभएपछि स्रष्टाको समूहले प्रधानमन्त्रीलाई भेटेका हुन् । ‘तमसुक शैलीको करारले स्रष्टालाई गुमराहमा राखेको छ । सम्झौता पारदर्शी र समायाकुल बनाउनुपर्छ । हामीले हाम्रो अधिकार मागेका हौं, भीख होइन,’ संगीतकार पारस मुकारुङले भने, ‘अब हामी रोकिनेवाला छैनौं ।’

प्रकाशित : माघ १३, २०७६ २०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?