१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

यस्तो छ कांग्रेस अधिवेशनको नयाँ कार्यतालिका

मधुसुधन भट्टराई

काठमाडौँ — कांग्रेसले १४ औं महाधिवेशनको मिति यथावत राखेर त्यसभन्दा तलका निकायका अधिवेशनको कार्यतालिका परिवर्तन गरेको छ । केन्द्रीय कार्यसमितिको सोमबार बसेको बैठकले यसअघि बहुमतबाट गरेको निर्णय सहमतिबाट सच्याउने निर्णय गरेको हो ।

यस्तो छ कांग्रेस अधिवेशनको नयाँ कार्यतालिका

केन्द्रीय महाधिवेशन यसअघि तोकिएको मिति २०७७ फागुन ७ गतेदेखि १० गतेसम्म नै हुनेगरी तल्ला तहका अधिवेशन केही अगाडि सारिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

शर्माका अनुसार अब १४ औं महाधिवेशन अन्तर्गतका अधिवेशनहरु २०७७ कात्तिक १६ गतेबाट सुरु हुनेछन् । कात्तिक १६ गते वडा अधिवेशन गर्ने मिति तय भएको शर्माले बताए । यसपछि पुस ११ गते बसेको केन्द्रीय कार्यसमिति बैठकबाट सभापति शेरबहादुर देउवाले बहुमतले मंसिर ९ गते वडा अधिवेशन गर्ने निर्णय गरेका थिए । त्यो बैठकमा पौडेल समूह सहभागी भएको थिएन ।

सोमबारको बैठकमा भने संस्थापन इतर समूह पनि सहभागी थियो । प्रवक्ता शर्माका अनुसार सहमतिमा अब गाउँ/नगर अधिवेशन ०७७ कात्तिक १८ गते हुनेछ । प्रदेशसभा अधिवेशन कात्तिक २१ गते र प्रतिनिधिसभा अधिवेशन कात्तिक २३ गते गर्ने निर्णय पनि सर्वसम्मतिले बैठकले गरेको छ । एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन पनि त्यसै दिन हुनेछ ।

त्यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन कात्तिक २५ गते र प्रदेश अधिवेशन मंसिर २९ गते गर्ने निर्णय बैठकले सर्वसम्मतिले गरेको प्रवक्ता शर्माले जानकारी दिए । सहमतिमा यो निर्णय भएसँगै कांग्रेसमा देखिएको मंसिर २६ गतेदेखिको गतिरोध तत्कालका लागि अन्त्य भएको छ ।


याे पनि पढ्नुहाेस् :

प्रकाशित : माघ १३, २०७६ १८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?