कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

केमिकल पैँचो लिएर कोरोना भाइरस परीक्षण आजबाट सुरू

काठमाडौँ — नोवेल कोरोना भाइरस परीक्षण नेपालमै सुरू भएको छ । भाइरस अनुसन्धान गर्ने संस्था ‘सीएमडीएन’सँग केही रिएजेन्ट केमिकल लिएर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सोमबारबाट परीक्षण सुरु गरेको हो । 

केमिकल पैँचो लिएर कोरोना भाइरस परीक्षण आजबाट सुरू

कोरोना संक्रमणको आशंका गरी हाल टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका तीन बिरामीको नमुना संकलन गरी प्रयोगशालाले परीक्षणबाट सुरु गरेको प्रयोगशालाकी निर्देशक डा. रुणा झाले बताइन् । २४ घण्टाभित्र परीक्षणको रिपोर्ट आइसक्ने उनले बताइन् । आकस्मिक सेवाका लागि अहिले प्रयोगशालालाई २४ घण्टै खुल्ला राखिएको छ ।

संस्थाले प्रयोगशालालाई सय वटा नमुना परीक्षण गर्न सकिने केमिकल सहयोग गरेको छ । प्रयोगशालाले आफैले केमिकल खरिद गरेको छैन । खरिद गरे पनि फिर्ता गर्ने सम्झौतामा संस्थाबाट केमिकल लिइएको डाक्टर झाले बताइन् ।


नमुना परीक्षणका लागि प्रयोगशालाले जर्मनको कम्पनीबाट रिएजेन्ट केमिकल खरिद गर्ने प्रक्रियाअघि बढाइरहेको छ । टेण्डर प्रक्रियाबाट ढिलो हुने भएकाले हाल संस्थासँग पैँचो मागेर नमुना परीक्षण गर्न लागिएको उनले कान्तिपुरलाई जानकारी दिइन् । इन्फ्लुएन्जाको नमुना परीक्षण हुँदै आइरहेको विशेष प्रयोगशाला (बीएसएलटु ल्याब) बाटै कोरोनाको परीक्षण भइरहेको छ ।

नमुना परीक्षणका गर्न स्वास्थ्यकर्मीलाई तालिम प्रयोगशालाले राजधानीका केही सरकारी र निजी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई नमुना संकलन व्यवस्थापनसम्बन्धी तालिम दिने भएको छ । पाटन अस्पताल ग्राण्डी अस्पताल, सिभिल अस्पताल, भक्तपुर अस्पताल, प्रहरी अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, नर्भिक अस्पताल,त्रिवि शिक्षण अस्पताल, वीर अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई तालिम दिने तयारी गरेको छ । तालिमबाट उनीहरूले बिरामीको रगत र र्‍याल नमुना व्यवस्थापन गर्नेबारे सिक्‍नेछन् ।


मंगलबार (भोलि) उनीहरूलाई स्वास्थ्य सेवा विभागमै बोलाएर तालिम दिइने डा. झाले बताइन् । ‘सम्बन्धित व्यक्ति पठाइदिनु भनेर ती अस्पताललाई पत्राचार गरिरहेका छौं,’ उनले भनिन्, 'मन्त्रालयसँग पनि थप छलफल भइरहेको छ ।’ अहिले राजधानीका अस्पतालका स्वास्थ्यकर्मीलाई तालिम दिइने र पछि राजधानीबाहिरका अस्पतालका स्वास्थ्यकर्मी पनि तालिम हुने उनले बताइन् ।

नमुना परीक्षण गरिदिनका लागि राजधानीका विभिन्न अस्पतालले प्रयोगशालासमक्ष निवेदन पेस गरेका छन् । प्रयोगशालासँग हाल सिमित रिएजेन्ट केमिकल भएको निवेदन गरेका सबैको नमुना परीक्षण गर्न नसकिने डा. झाले बताइन् ।

‘नमुना परीक्षण गर्ने विरामी यदि चीनबाट फर्किएको हो भन्ने ‘ट्राभल हिस्ट्री’ भए मात्रै हामी नमुना लिन्छौं,’ उनले भनिन्, ‘मौसमी रुघाखोकी, इन्फ्लुएन्जा र कोरोनाको लक्षण एउटै हुने भएकाले लक्षण देखिने सबैको परीक्षण गर्न सम्भव छैन ।’ प्रयोगशालाले तोकेका अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई नमुना संकलन व्यवस्थापन तालिम समेत दिन लागेको छ । मगंलबार ती स्वास्थ्यकर्मीलाई बोलाएर विभागमा तालिम दिइने उनले बताइन् ।

नमुना संकलन दिँदा कसैले झुटो ‘ट्राभल हिस्ट्री’ दिए के गर्ने ? वास्तविक ‘ट्राभल हिस्ट्री’ हो होइन सुनिश्‍चित कसरी गर्ने भन्‍ने अन्यौल पनि छ, प्रयोगशालालाई । यस्तो समस्या समाधानका लागि प्रयोगशालाले टेकु अस्पताललाई जिम्मा दिएको छ । अस्पतालका फोकल व्यक्तिले ट्राभल हिस्ट्रीबारे अध्ययन गरेपछि मात्रै नमुना परीक्षण गर्ने या नगर्ने निधो गर्नेछ ।

‘कोरोना संक्रमणको लक्षण बोकेका बिरामी राख्‍ने छुट्टै कोठा आइसोलेसन वार्ड भएका अस्पतालको नमुना संकलन मात्रै हामी परीक्षण गर्ने सोचेका छौं,’ उनले भनिन्, ‘हामीसँग प्रयाप्त केमिकल भइसकेपछि मात्रै देशभरिका अस्पतालबाट आएको नमुना संकलन परीक्षण गर्छौ ।’ कुन अस्पतालको नमुना संकलन लिने भनेर प्रयोगशालाले छुट्टैखाले ढाँचा समेत तयार गरेको छ ।


जनशक्ति न्यून

कोरोना भाइसरको नमुना परीक्षणका लागि प्रयोगशालासँग न्यून जनशक्ति छन् । अन्य शाखाका स्वास्थ्यकर्मी खटाएर भए पनि यो परीक्षणलाई प्रभावित हुन नदिएको डा. झाले बताइन् । ‘अन्य परीक्षणहरू रोकेर भए पनि कोरोनाको परीक्षणलाई प्राथमिकता दिएका छौं,’ उनले भनिन्, ‘फेरि अन्य परीक्षणभन्दा यो भाइरसको परीक्षण गर्न लामो समय लाग्छ ।’

परीक्षणमा खटिएका स्वास्थ्यकर्मी एक कोठाबाट अर्को कोठामा जाँदा भाइरस फैलिने जोखिम भएकाले केही स्वास्थ्यकर्मीलाई कोरोना भाइरस परीक्षणमा मात्रै खटाइएको उनले बताइन् ।

प्रकाशित : माघ १३, २०७६ १४:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?