सभामुख सापकोटाविरुद्धको रिट न्यायाधीश सपना मल्लको इजलासमा- समाचार - कान्तिपुर समाचार

सभामुख सापकोटाविरुद्धको रिट न्यायाधीश सपना मल्लको इजलासमा

जयसिंह महरा

काठमाडौँ — प्रतिनिधि सभाको सभामुख चयन भएका अग्‍नि सापकोटालाई प्रतिनिधिसभाको सभामुख बनाउन नहुने माग राख्दै परेको रिट निवेदनमाथिको सुनुवाइ न्यायाधीश सपना प्रधान मल्लको इजलासमा हुने भएको छ । सर्वोच्च अदालतले आइतबार प्रारम्भिक सुनुवाइ गर्नका लागि इजलाश तोके पनि न्यायाधीश हरिप्रसाद फुँयालले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दर्ता गरेको निवेदनको हेर्न नमिल्ने भन्दै पन्छाइदिएका थिए ।

सापकोटाविरुद्धको मुद्दामा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त हुनु अघि कानुन व्यवसायीका रूपमा बहस गरेकाले फुँयालले उक्त मुद्दा हेर्न नमिल्ने भएको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिएका थिए । त्यसपछि आइतबार नै सापकोटालाई प्रतिनिधि सभाको बैठकले सभामुख चयन गरिसकेको छ ।


सभामुख सापकोटाले सोमबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शपथ ग्रहण गरिसकेका छन् । उनले केही बेरमै सिंहदरबारस्थित कार्यालय पुगेर पदभार ग्रहण गर्दैछन् ।


हत्याको आरोप लागेका नेकपाका सांसद अग्‍नि सापकोटालाई प्रतिनिधिसभाको सभामुख बनाउन नहुने भन्दै सर्वोच्च अदालतमा शुक्रबार रिट निवेदन दर्ता भएको थियो। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सापकोटालाई सभामुख बनाउनबाट रोक्न आदेश जारी हुनुपर्ने माग राख्दै निवेदन दर्ता गराएका हुन्।


गम्भीर अपराधको उजुरीमा अनुसन्धानमा परेका व्यक्तिलाई सभामुख बनाउन नहुने भन्दै त्रिपाठीले निवेदन दिएका हुन्। उनले सापकोटाविरुद्धको उजुरी गम्भीर प्रकृतिको भएको भन्दै अनुसन्धानका लागि विशेष कार्यदल गठनको माग समेत गरेका छन्। रिट निवेदनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, प्रतिनिधि सभा सचिवालय, अग्नि सापकोटा, प्रतिनिधिसभाका जेष्ठ सदस्य महन्थ ठाकुर, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाइएको छ।


सापकोटामाथि काभ्रेका अर्जुन लामाको हत्या गरेको आरोप छ। २०६२ साल वैशाख १६ गते श्रीकृष्ण मावी दाप्चामा अभिभावक भेला स्थलबाट अर्जुन लामा अपहरणमा परी बेपत्ता थिए। साउनको तेस्रो साता लामालाई नै खाल्डो खल्न लगाई ज्यूदै पुरेको भनी उनी पत्नी पूर्णिमाया लामाले २०६४ सालमा काभ्रे जिल्ला अदालतमा जाहेरी दिएकी थिएन। प्रहरीले जाहेरी लिन मानेन।


प्रहरीले निवेदन लिन नमानेपछि पूर्णिमायाले दायर गरेको रिट निवेदन सुनुवाई गर्दै २०६४ साल फागुन २२ गते सर्वोच्च अदालतले आदेश जारी गरेको थियो। त्यसपछि सापकोटा विरुद्धको जाहेरी दर्ता भयो। पछि बाबुराम भट्टराई नेतृत्वको सरकारले सापकोटाविरुद्धको जाहेरीलाई तामेलीमा राख्ने निर्णय गरेको थियो। त्यही निर्णयविरुद्ध परेको रिटमा अन्तरिम आदेश जारी भयो। उक्त रिट अहिले पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छ।

प्रकाशित : माघ १३, २०७६ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्

मिलेर बस्ने वाचा एक महिना टिकेन

पेट्रोल खन्याएर जलाइएकी महिलाको मृत्यु, पति पक्राउ
विद्या राई

काठमाडौँ — उनी बेलुकाको खाना बनाउँदै थिइन्– सुक्खा रोटी र तरकारी । पतिले त्यही मौका छोपेर शरीरमा पेट्रोल खन्याए । नजिकै चुल्होमा बलिरहेको आगोले भेटिहाल्यो, ह्वारह्वारी जल्न थाल्यो शरीर । सिरहा, औरहीकी २१ वर्षीया अनितादेवी यादव चिच्याइन्, छटपट्टाइन् र भुइँमा लडिन् । छिमेकी जम्मा भए ।

घाइते अनितादेवीलाई शरीरमा आगो लगाइदिने उनै पति २५ वर्षीय विनोदकुमार यादव र जेठानी चौरासीदेवीले एम्बुलेन्समा राखेर विराटनगरको म्याक्स अस्पताल पुर्‍याए । जीवनभर साथ दिने भन्दै अर्धाङ्गिनी बनाएका विनोदद्वारा शुक्रबार राति ८ बजेतिर जलाइएकी घाइते गर्भवती अनितालाई उपचारका लागि काठमाडौं ल्याउँदा ल्याउँदै आइतबार बिहान यो संसार छाडिन् ।

विनोद र अनिताको ७ वर्षअघि मागी बिहे भएको थियो । ४ वर्षका छोरा छन् । विनोद वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए । फर्केको तीन महिना मात्र भएको थियो । अनिता अढाई महिनाकी गर्भवती थिइन् । अनिताका बाबु अशोककुमार यादवका अनुसार केही समययता ज्वाइँ–छोरीबीच सम्बन्ध राम्रो थिएन । ‘ज्वाइँपट्टि चार दाजुभाइ छन्, ज्वाइँ कान्छा हुन् । जेठो (विनोदको दाजु) को नाममा चार भाइको संयुक्त जग्गा छ । अंशबन्डा गर्ने विषयलाई लिएर घरझमेला भइरहेको थियो,’ उनले भने । उनका अनुसार अनिताले चारै भाइलाई बराबर अंशबन्डा गर्नुपर्ने माग राख्दै आएकी थिइन् । जेठो जेठाजु र जेठानीले अंशबन्डा गर्न चाहेका थिएनन् । ‘अंशबन्डा नगर्नकै लागि अनितालाई दुःख दिने काम भइरहेको थियो । जेठानीले देवर (विनोद) लाई अनेक कुरा लगाइदिन्थिन् अनिताका बारेमा । विनोद भाउजूको कुरा सुनेर अनितालाई मरणासन्न हुने गरी कुट्थे । मार्ने धम्की दिन्थे । सौता ल्याइदिन्छु भन्थे,’ अशोकले भने, ‘पटक—पटक घाँटी थिचेर मार्ने प्रयास पनि गरेका थिए । छिमेकीले थाहा पाएर माइती पक्षलाई फोन गरिदिन्थे । रातारात म छोरी बचाउन पुग्थें ।’

पेट्रोल छर्केको बेलुकी पनि छिमेकीले माइती पक्षलाई फोन गरिदिएका थिए । घर औरही र माइती दरहैयाबीचको दूरी २ किमि टाढा छ । अशोक रातारात छोरीलाई केही भो कि भनेर आत्तिँदै औरही आइपुगे । त्यतिन्जेलसम्म अनितालाई अस्पताल लगिसकिएको थियो । ‘घर परैबाट पेट्रोलको गन्ध आइरहेको थियो, मन भारी भयो । आधा रातमा छोरी पछ्याउँदै विराटनगर जाने सम्भावना थिएन,’ उनले भने, ‘नाति रोएर बसेको रहेछ, उसलाई लिएर घर फर्कें ।’

आफन्तका अनुसार अनितालाई अस्पताल पुर्‍याउँदा राति अबेर भइसकेको थियो । पेट्रोलले जलेको शरीर हेर्दै ‘डरलाग्दो’ थियो । शंका लागेर म्याक्सका स्वास्थ्यकर्मीले अनितासित यथार्थ बुझे । पतिले पेट्रोल खन्याएर जलाएको उनले बताइन् । विराटनगर प्रहरीले विनोदलाई तत्काल नियन्त्रणमा लियो । त्यतिन्जेलसम्म जेठानी भागिसकेकी थिइन् ।

अनिताका बाबु, आमा र काकी सिरहाबाट विराटनगरस्थित अस्पताल पुग्दा भोलिपल्ट (शनिबार) बिहान दस बजिसकेको थियो । अस्पतालले उपचार सम्भव नहुने भन्दै कीर्तिपुरस्थित बर्न सेन्टर लैजान भन्यो । त्यतिन्जेलसम्म उपचार गरेको ५० हजार रुपैयाँको बिल बनिसकेको थियो । अस्पतालले बिल नतिरी बिरामीलाई डिस्चार्ज गर्न मानेन । सामान्य परिवारका उनीहरूसँग तिर्न पुग्ने पैसा थिएन । आमा र काकीले शरीरमा लगाएको सुन दिएर डिस्चार्ज मागे । अस्पतालले नगद नै माग्यो । उनीहरू पैसा जुटाउन लागिपरे ।

बिल भुक्तानी गरेर काठमाडौंको बाटो लाग्दा बेलुकाको ६ बजिसकेको थियो । अनिताको अवस्था ‘गम्भीर’ भइसकेको थियो । अक्सिजन लगाएर एम्बुलेन्समा राखी काठमाडौं हान्निए । कीर्तिपुरस्थित अस्पताल आइपुग्दा बिहानको ३ बजिसकेको थियो । आकस्मिक कक्षमा भर्ना गर्न एम्बुलेन्सबाट ओराल्दा उनको ज्यान गइसकेको रहेछ । ‘बिरामीलाई कतिबेला अस्पताल पुर्‍याऊँ र उपचार गरौं भन्ने पीर थियो, छोरीले बाटोमा आउँदा आउँदै हामीलाई छाडेर गइसकेकी रहिछ,’ कीर्तिपुर अस्पतालमा छोरीको शव कुरिरहेकी आमा चन्द्रकलादेवी यादवले भनिन् । कीर्तिपुर अस्पतालबाट दिउँसो पोस्टमार्टमका लागि महाराजगन्जस्थित
शिक्षण अस्पताल पठाइयो ।

एक महिनाअघि मिलापत्र
दिनहुँजसो अनितामाथि कुटपिट हुने क्रम बढ्दै गयो । सहन नसकेर उनी माइतीको शरणमा गइन् । ‘म त्यो घरमा बस्न सक्दिनँ, जान्नँ,’ उनले बिन्ती गरेकी थिइन् । आमाले ‘झगडा नगर, मिलेर बस’ भनी सम्झाएर फर्काइन् । आमाको कुरा काट्न नसकेपछि घरै फर्केकी थिइन् । पतिको कुटाइमा कमी आएन । माइती जाँदा ‘मिलेर बस्नु’ भन्ने आश्वासन, घरमा लोग्नेको कुटाइ । उनले न्याय पाउने विकल्प प्रहरीलाई ठानिन् । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीका अनुसार पतिले अवहेलना गरेको, खान, लाउन नदिएको भनी उजुरी दिएकी थिइन् । प्रहरीले पति–पत्नीलाई झिकाएर बयान लियो । दुवैलाई मिलेर बस्न भन्दै ‘मेलमिलाप’ गराएर प्रहरीले पठायो । पतिले अबदेखि झगडा नगर्ने, मिलेर बस्ने वाचा गरेका थिए । एक महिनापछि पेट्रोल नै खन्याए । उपरीक्षक चतुर्वेदीका अनुसार विनोदलाई शनिबार दिउँसै सिरहा ल्याइएको छ । उनले बयानमा पत्नीको माइती पक्षसँग आर्थिक लेनदेनको विवाद भइरहेकाले आवेशमा आएर पेट्रोल खन्याएको स्विकारेका छन् । ‘थप अनुसन्धान गरिरहेका छौं, मान्छेको ज्यान गइसकेको छ, अहिलेलाई कर्तव्य ज्यान मुद्दा दर्ता गरेका छौं,’ चतुर्वेदीले भने । आइतबारै प्रहरीले मुद्दा दर्ता गरेको हो ।

तर पीडकसँग लिएको र पीडित माइतीपक्षको भनाइ बाझिएको छ । पीडकले आफू विदेशमा हुँदा ससुराको खातामा तीन लाख बढी रुपैयाँ पठाएको तर तीन लाखमात्रै तिरेका कारण पत्नीसँग झैझगडा हुँदै आएको बताएका छन् । ससुराले भने ज्वाइँबाट लिएको पैसा बुझाइसकेको दाबी गरेका छन् । अंशबन्डाको विषयमा जेठानीसँग मिलेर विनोदले अनितालाई दुःख दिएको आरोप लगाएका छन् । प्रहरीले अनिताकी जेठानीको पनि खोजी भइरहेको जनाएको छ ।

प्रकाशित : माघ १३, २०७६ १०:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×