मिलेर बस्ने वाचा एक महिना टिकेन

पेट्रोल खन्याएर जलाइएकी महिलाको मृत्यु, पति पक्राउ
विद्या राई

काठमाडौँ — उनी बेलुकाको खाना बनाउँदै थिइन्– सुक्खा रोटी र तरकारी । पतिले त्यही मौका छोपेर शरीरमा पेट्रोल खन्याए । नजिकै चुल्होमा बलिरहेको आगोले भेटिहाल्यो, ह्वारह्वारी जल्न थाल्यो शरीर । सिरहा, औरहीकी २१ वर्षीया अनितादेवी यादव चिच्याइन्, छटपट्टाइन् र भुइँमा लडिन् । छिमेकी जम्मा भए ।

मिलेर बस्ने वाचा एक महिना टिकेन

घाइते अनितादेवीलाई शरीरमा आगो लगाइदिने उनै पति २५ वर्षीय विनोदकुमार यादव र जेठानी चौरासीदेवीले एम्बुलेन्समा राखेर विराटनगरको म्याक्स अस्पताल पुर्‍याए । जीवनभर साथ दिने भन्दै अर्धाङ्गिनी बनाएका विनोदद्वारा शुक्रबार राति ८ बजेतिर जलाइएकी घाइते गर्भवती अनितालाई उपचारका लागि काठमाडौं ल्याउँदा ल्याउँदै आइतबार बिहान यो संसार छाडिन् ।


विनोद र अनिताको ७ वर्षअघि मागी बिहे भएको थियो । ४ वर्षका छोरा छन् । विनोद वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए । फर्केको तीन महिना मात्र भएको थियो । अनिता अढाई महिनाकी गर्भवती थिइन् । अनिताका बाबु अशोककुमार यादवका अनुसार केही समययता ज्वाइँ–छोरीबीच सम्बन्ध राम्रो थिएन । ‘ज्वाइँपट्टि चार दाजुभाइ छन्, ज्वाइँ कान्छा हुन् । जेठो (विनोदको दाजु) को नाममा चार भाइको संयुक्त जग्गा छ । अंशबन्डा गर्ने विषयलाई लिएर घरझमेला भइरहेको थियो,’ उनले भने । उनका अनुसार अनिताले चारै भाइलाई बराबर अंशबन्डा गर्नुपर्ने माग राख्दै आएकी थिइन् । जेठो जेठाजु र जेठानीले अंशबन्डा गर्न चाहेका थिएनन् । ‘अंशबन्डा नगर्नकै लागि अनितालाई दुःख दिने काम भइरहेको थियो । जेठानीले देवर (विनोद) लाई अनेक कुरा लगाइदिन्थिन् अनिताका बारेमा । विनोद भाउजूको कुरा सुनेर अनितालाई मरणासन्न हुने गरी कुट्थे । मार्ने धम्की दिन्थे । सौता ल्याइदिन्छु भन्थे,’ अशोकले भने, ‘पटक—पटक घाँटी थिचेर मार्ने प्रयास पनि गरेका थिए । छिमेकीले थाहा पाएर माइती पक्षलाई फोन गरिदिन्थे । रातारात म छोरी बचाउन पुग्थें ।’


पेट्रोल छर्केको बेलुकी पनि छिमेकीले माइती पक्षलाई फोन गरिदिएका थिए । घर औरही र माइती दरहैयाबीचको दूरी २ किमि टाढा छ । अशोक रातारात छोरीलाई केही भो कि भनेर आत्तिँदै औरही आइपुगे । त्यतिन्जेलसम्म अनितालाई अस्पताल लगिसकिएको थियो । ‘घर परैबाट पेट्रोलको गन्ध आइरहेको थियो, मन भारी भयो । आधा रातमा छोरी पछ्याउँदै विराटनगर जाने सम्भावना थिएन,’ उनले भने, ‘नाति रोएर बसेको रहेछ, उसलाई लिएर घर फर्कें ।’


आफन्तका अनुसार अनितालाई अस्पताल पुर्‍याउँदा राति अबेर भइसकेको थियो । पेट्रोलले जलेको शरीर हेर्दै ‘डरलाग्दो’ थियो । शंका लागेर म्याक्सका स्वास्थ्यकर्मीले अनितासित यथार्थ बुझे । पतिले पेट्रोल खन्याएर जलाएको उनले बताइन् । विराटनगर प्रहरीले विनोदलाई तत्काल नियन्त्रणमा लियो । त्यतिन्जेलसम्म जेठानी भागिसकेकी थिइन् ।


अनिताका बाबु, आमा र काकी सिरहाबाट विराटनगरस्थित अस्पताल पुग्दा भोलिपल्ट (शनिबार) बिहान दस बजिसकेको थियो । अस्पतालले उपचार सम्भव नहुने भन्दै कीर्तिपुरस्थित बर्न सेन्टर लैजान भन्यो । त्यतिन्जेलसम्म उपचार गरेको ५० हजार रुपैयाँको बिल बनिसकेको थियो । अस्पतालले बिल नतिरी बिरामीलाई डिस्चार्ज गर्न मानेन । सामान्य परिवारका उनीहरूसँग तिर्न पुग्ने पैसा थिएन । आमा र काकीले शरीरमा लगाएको सुन दिएर डिस्चार्ज मागे । अस्पतालले नगद नै माग्यो । उनीहरू पैसा जुटाउन लागिपरे ।


बिल भुक्तानी गरेर काठमाडौंको बाटो लाग्दा बेलुकाको ६ बजिसकेको थियो । अनिताको अवस्था ‘गम्भीर’ भइसकेको थियो । अक्सिजन लगाएर एम्बुलेन्समा राखी काठमाडौं हान्निए । कीर्तिपुरस्थित अस्पताल आइपुग्दा बिहानको ३ बजिसकेको थियो । आकस्मिक कक्षमा भर्ना गर्न एम्बुलेन्सबाट ओराल्दा उनको ज्यान गइसकेको रहेछ । ‘बिरामीलाई कतिबेला अस्पताल पुर्‍याऊँ र उपचार गरौं भन्ने पीर थियो, छोरीले बाटोमा आउँदा आउँदै हामीलाई छाडेर गइसकेकी रहिछ,’ कीर्तिपुर अस्पतालमा छोरीको शव कुरिरहेकी आमा चन्द्रकलादेवी यादवले भनिन् । कीर्तिपुर अस्पतालबाट दिउँसो पोस्टमार्टमका लागि महाराजगन्जस्थित

शिक्षण अस्पताल पठाइयो ।


एक महिनाअघि मिलापत्र

दिनहुँजसो अनितामाथि कुटपिट हुने क्रम बढ्दै गयो । सहन नसकेर उनी माइतीको शरणमा गइन् । ‘म त्यो घरमा बस्न सक्दिनँ, जान्नँ,’ उनले बिन्ती गरेकी थिइन् । आमाले ‘झगडा नगर, मिलेर बस’ भनी सम्झाएर फर्काइन् । आमाको कुरा काट्न नसकेपछि घरै फर्केकी थिइन् । पतिको कुटाइमा कमी आएन । माइती जाँदा ‘मिलेर बस्नु’ भन्ने आश्वासन, घरमा लोग्नेको कुटाइ । उनले न्याय पाउने विकल्प प्रहरीलाई ठानिन् । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीका अनुसार पतिले अवहेलना गरेको, खान, लाउन नदिएको भनी उजुरी दिएकी थिइन् । प्रहरीले पति–पत्नीलाई झिकाएर बयान लियो । दुवैलाई मिलेर बस्न भन्दै ‘मेलमिलाप’ गराएर प्रहरीले पठायो । पतिले अबदेखि झगडा नगर्ने, मिलेर बस्ने वाचा गरेका थिए । एक महिनापछि पेट्रोल नै खन्याए । उपरीक्षक चतुर्वेदीका अनुसार विनोदलाई शनिबार दिउँसै सिरहा ल्याइएको छ । उनले बयानमा पत्नीको माइती पक्षसँग आर्थिक लेनदेनको विवाद भइरहेकाले आवेशमा आएर पेट्रोल खन्याएको स्विकारेका छन् । ‘थप अनुसन्धान गरिरहेका छौं, मान्छेको ज्यान गइसकेको छ, अहिलेलाई कर्तव्य ज्यान मुद्दा दर्ता गरेका छौं,’ चतुर्वेदीले भने । आइतबारै प्रहरीले मुद्दा दर्ता गरेको हो ।


तर पीडकसँग लिएको र पीडित माइतीपक्षको भनाइ बाझिएको छ । पीडकले आफू विदेशमा हुँदा ससुराको खातामा तीन लाख बढी रुपैयाँ पठाएको तर तीन लाखमात्रै तिरेका कारण पत्नीसँग झैझगडा हुँदै आएको बताएका छन् । ससुराले भने ज्वाइँबाट लिएको पैसा बुझाइसकेको दाबी गरेका छन् । अंशबन्डाको विषयमा जेठानीसँग मिलेर विनोदले अनितालाई दुःख दिएको आरोप लगाएका छन् । प्रहरीले अनिताकी जेठानीको पनि खोजी भइरहेको जनाएको छ ।

प्रकाशित : माघ १३, २०७६ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?