कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

अग्नि सापकोटाविरुद्ध परेको रिटमाथि आज सर्वोच्चमा प्रारम्भिक सुनुवाई

कृष्ण ज्ञवाली

काठमाडौँ — नेकपाका नेता अग्नि सापकोटालाई प्रतिनिधिसभाको सभामुख बनाउन नहुने माग राख्दै परेको रिट निवेदनमाथि सर्वोच्च अदालतले आइतबार प्रारम्भिक सुनुवाई गर्दैछ । न्यायाधीश हरिप्रसाद फुँयालको इजलासमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दर्ता गरेको निवेदनको पेशी तोकिएको हो ।

अग्नि सापकोटाविरुद्ध परेको रिटमाथि आज सर्वोच्चमा प्रारम्भिक सुनुवाई

हत्याको आरोप लागेका नेकपाका सांसद अग्निप्रसाद सापकोटालाई प्रतिनिधीसभाको सभामुख बनाउन नहुने भन्दै सर्वोच्च अदालतमा शुक्रबार रिट निवेदन दर्ता भएको थियो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सापकोटालाई सभामुख बनाउनबाट रोक्न आदेश जारी हुनुपर्ने माग राख्दै निवेदन दर्ता गराएका हुन् ।


गम्भिर अपराधको उजुरीमा अनुसन्धानमा परेका व्यक्तिलाई सभामुख बनाउन नहुने भन्दै त्रिपाठीले निवेदन दिएका हुन् । उनले सापकोटा विरुद्धको उजुरी गम्भिर प्रकृतिको भएको भन्दै अनुसन्धानका लागि विशेष कार्यदल गठनको माग समेत गरेका छन् । रिट निवेदनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, प्रतिनिधी सभा सचिवालय, अग्नि सापकोटा, प्रतिनिधीसभाका जेष्ठ सदस्य महन्थ ठाकुर, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाइएको छ ।


सापकोटामाथि काभ्रेका अर्जुन लामाको हत्या गरेको आरोप छ । २०६२ साल बैशाख १६ गते श्रीकृष्ण मावी दाप्चामा अभिभावक भेला स्थलबाट अर्जुन लामा अपहरणमा परी बेपत्ता थिए । साउनको तेस्रो साता लामालाई नै खाल्डो खल्न लगाई ज्यूदै पुरेको भनी उनी पत्नी पूर्णिमाया लामाले २०६४ सालमा काभ्रे जिल्ला अदालतमा जाहेरी दिएकी थिएन । प्रहरीले जाहेरी लिन मानेन ।


प्रहरीले निवेदन लिन नमानेपछि पूर्णिमायाले दायर गरेको रिट निवेदन सुनुवाई गर्दै २०६४ साल फागुन २२ गते सर्वोच्च अदालतले आदेश जारी गरेको थियो । त्यसपछि सापकोटा विरुद्धको जाहेरी दर्ता भयो । पछि बाबुराम भट्टराई नेतृत्वको सरकारले सापकोटा विरुद्धको जाहेरीलाई तामेलीमा राख्ने निर्णय गरेको थियो । त्यही निर्णय विरुद्ध परेको रिटमा अन्तरिम आदेश जारी भयो । उक्त रिट अहिले पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधिन छ ।


नयाँ सभामुख चयन गर्नका लागि आजै ३ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ । सभामुखमा नेकपाका तर्फबाट सापकोटाको मात्रै उम्मेदवारी परेकाले अदालतबाट कुनै व्यवधान नपरे उनी सभामुख हुने तय भइसकेको छ ।


प्रकाशित : माघ १२, २०७६ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?