कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

संसद् सञ्‍चालन र संवैधानिक परिषद्‍मा नियुक्तिबारे नेकपा र कांग्रेस छलफलमा

काठमाडौँ — संसद सञ्‍चालन र संवैधानिक परिषद्‍का विषयमा छलफल गर्न सत्तारुढ नेकपा र प्रतिपक्षी कांग्रेसका शीर्ष नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहालले दुवै पार्टीका शीर्ष नेताबीचको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने जानकारी दिए ।

संसद् सञ्‍चालन र संवैधानिक परिषद्‍मा नियुक्तिबारे नेकपा र कांग्रेस छलफलमा

मुलुकको राजनीतिलाई मिलेर नै अगाडि जानुपर्ने भएकाले सत्तापक्ष र प्रतिपक्षका नेताबीच छलफल हुने पार्टी कार्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रममा उनले बताए ।

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्ति र दुवै आयोगसँग सम्बन्धित विधेयक अगाडि बढाउने सहमति पछिको परिस्थिति र संसद संचालन बारे छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । 'संसद सञ्चालन विभिन्न विश्वविद्यालयहरूको नेतृत्व संवैधानिक परिषद् बैठक यी सबै विषयमा पक्ष र प्रतिपक्ष मिलेर गर्नुपर्ने कामहरू छन् । त्यसमा समझदारी निर्माण, सहकार्य, संवैधानिक दायित्व निर्वाहका विषयमा छलफल हुन्छन् ।'

विभिन्न विश्वविद्यालयमा नेतृत्व खाली रहेको छ । त्यस्तै विभिन्न संवैधानिक आयोग पदाधिकारीविहीन छन् । कतिपय संवैधानिक आयोगमा अध्यक्षहरू मात्रै छन् भने सदस्य नियुक्त गर्न बाँकी छ । रिक्त आयोगमा संवैधानिक परिषदबाट कसलाई नियुक्ति गर्ने भन्नेबारे दुवै दलबीच छलफल हुने बताइएको छ ।

त्यस्तै, आइतबार सभामुख चयन भएपछि संसद सुचारु हुने र त्यहाँ जान लागेका विवादास्पद विधेयकबारे पनि छलफल हुने नेताहरूले बताएका छन् ।

बैठकमा नेकपा नेताहरूलाई उपसभामुख आफ्नो पार्टीले पाउनुपर्ने दाबी राख्न सक्ने कांग्रेसका एक नेताले बताए । सभामुख निर्वाचन भएपछि मात्रै उपसभामुख कसलाई दिने भन्ने बारेमा छलफल हुने नेकपाका नेताहरूले बताउने गरेका छन् ।

प्रकाशित : माघ ११, २०७६ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?