कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

डोजरले पुर्‍यायो अख्तियार

(सुर्खेत) — जाजरकोटको जुनिचाँदे गाउँपालिका अध्यक्ष कृष्णबहादुर केसी प्रदेश विकास परिषद्को बैठकमा सहभागी हुन वीरेन्द्रनगर आएका थिए । वीरेन्द्रनगरको एक होटलमा बैठक चलिरहेको थियो । उनी भने आफ्नै गाउँपालिकामा भएको ‘विकासको कमिसन’ बुझ्न बजारतिर हान्निए, जसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा पार्‍यो ।

अख्तियारको टोलीले उनीसहित गाउँपालिका उपाध्यक्ष शिवा बस्नेतका श्रीमान् चन्द्रबहादुर बस्नेतलाई ८ लाख घूससहित पक्राउ गरेको छ । आयोगका प्रवक्ता मेघनाथ सापकोटाका अनुसार टोलीले शुक्रबार दिउँसो करिब २ बजे कटकुवा हेल्थपोस्ट नजिकैबाट नियन्त्रणमा लिएको हो । ‘केसी र बस्नेतलाई समूहले कमिसन दिइसकेको थियो । त्यसैबेला हामीले नियन्त्रणमा लियौं,’ सापकोटाले भने, ‘घटनाको पृष्ठभूमिबारे छानबिन थालिसकेका छौं ।’


स्थानीयका अनुसार अध्यक्ष पक्राउ पर्नुमा त्यहाँको सडक निर्माण योजनामा भएको अयिमितता जोडिएको छ । आर्थिक वर्ष २०७५/७६ मा गाउँपालिकाले लामातडा–गर्खाकोट सडक निर्माण सुरु गरेको थियो । स्थानीय एक जनालाई उपभोक्ता समितिको अध्यक्ष बनाइयो । समितिले काम सुरु गर्‍यो, तर बीचैमा उक्त उपभोक्ता समितिलाई हटाएर कर्णबहादुर शाहीको अध्यक्षतामा अर्को उपभोक्ता समिति गठन गरियो । करिब ८० लाख बजेट रहेको उक्त सडकमा उपभोक्ताले नभई डोजरले काम गर्दा भुक्तानी विवाद चुलियो ।


सुरुको उपभोक्ता समितिले काम गरेबापत १३ लाख रुपैयाँ भुक्तानी लिइसकेको थियो । शाही अध्यक्ष रहेको उपभोक्ता समितिले पनि पहिलो चरणमा ४५ लाख र दोस्रो चरणमा २० लाख रुपैयाँ भुक्तानी लग्यो । पहिलोको नगद डोजर सञ्चालकलाई दिइयो । दोस्रो चरणमा लिइएको २० लाख भने समितिका पदाधिकारीले डोजर सञ्चालकलाई दिन आनाकानी गरे । बरु उल्टै ४५ लाखको चेकमा पनि दबाब दिएर सही गर्न लगाएको भनेर उपभोक्ता समितिका अध्यक्षले प्रहरीमा उजुरी दिएको एक स्थानीयले बताए । डोजर सञ्चालकले सडक रहेको वडाका अध्यक्ष राजबहादुर शाहीदेखि गाउँपालिका उपाध्यक्ष शिव आचार्य र अध्यक्ष केसीसँग भुक्तानीका लागि थुप्रैपटक अनुरोध गरे । ‘उनीहरूले सजिलै पैसा दिलाउनुको साटो उल्टै कमिसन माग्न थाले,’ जुनिचाँदेका ती स्थानीयले कान्तिपुरसँग भने, ‘त्यही लोभले उनलाई अख्तियारको फन्दामा पार्‍यो ।’


जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनक पन्तले केही दिनअघि प्रहरीमा सडकको भुक्तानी विषयमा उजुरी परेको बताए । ‘त्यही सडक हो वा अरू कुनै सडक हो, एकिन भएन,’ उनले भने, ‘तर जुनिचाँदेकै विषयमा प्रहरीमा उजुरी परेको छ ।’ अख्तियारले केसी र बस्नेतलाई खुला सडकमै खानतलासी गरी मुचुल्का उठाएको थियो । मुचुल्का उठाउँदा वीरेन्द्रनगर–६ का वडाध्यक्ष मोतीप्रसाद कँडेल, ७ का वडाध्यक्ष ध्रुवप्रसाद चपाईं र ९ का वडाध्यक्ष सुरेश मानन्धरलाई साक्षीका रूपमा राखिएको छ । सडकमै जनप्रतिनिधिलाई आयोगको टोलीले नियन्त्रणमा लिएको दृश्य स्थानीयले भीड लागेर हेरेका थिए ।


यस्तै डुंगेश्वर गाउँपालिका–५ स्थित पीपलचौतारा माविको शिक्षक नियुक्तिमा अनियमितता गरेको आरोपमा अख्तियारले तीन जनालाई नियन्त्रणमा लिएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं शिक्षक छनोट समितिका संयोजक भक्तबहादुर शाहीसहित पदमा छनोट भएका घनश्याम भण्डारी र वैकल्पिक उम्मेदवार दलबहादुर विकलाई नियन्त्रणमा लिइएको हो । निमावि तहमा सामाजिक विषयका लागि शिक्षक नियुक्ति प्रक्रियामा अनियमितता आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको आयोग प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।


परीक्षा हुनुअघि नै उत्तीर्ण गराउन चाहेको परीक्षार्थीलाई म्यासेन्जरमार्फत प्रश्नपत्र पठाइएको उजुरी आयोगमा परेको थियो । थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

प्रकाशित : माघ ११, २०७६ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?