जसले आफ्नै बालविवाह रोकिन्- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जसले आफ्नै बालविवाह रोकिन्

बिनु सुवेदी

काठमाडौँ — कक्षा ८ को परीक्षामा उनी ‘होल फर्स्ट’ भइन् । घरमा सबै जना खुसी भए, धेरैचाहिँ उनका बुबा । त्यस दिन बुबाले उनलाई एक जोर लुगा र जुत्ता किनिदिए, साँझ घरमा मीठो मसिनो पाक्यो । उनका बुबाले स्टुडियोमै लगेर खिचिदिएको फोटो घरको भित्तामा टाँसियो ।

‘त्यो बुबाले मेरा लागि देखाएको अन्तिम प्रेम हो,’ लुम्बिनी सांस्कृतिक नगरपालिका–८ भरवालिया, रूपन्देहीकी पुष्पा गौतम (हरिजन) भन्छिन्, ‘त्यसपछि बुबा कहिल्यै आफ्नो हुन सक्नुभएन ।’


०७३ मा ८ कक्षा पास गरेपछि उनी ९ मा भर्ना हुने तयारीमा थिइन्, घरमा बिहेको कुरा चल्यो । १४ वर्षीया पुष्पा बिहेका लागि तयार थिइनन् । बुबा र दाजुसँग विवाद भयो । उनले बुबाको इच्छा होइन, आफ्नो सपना पछ्याउने अठोट गरिन् । तर बिहेको कुरा रोकिएन, उनलाई हेर्न छिमेकी गाउँका केटाहरू स्कुलसम्मै पुग्न थाले । जुन–जुन दिन केटाहरू उनलाई हेर्न स्कुल पुग्थे, त्यही–त्यही साँझ घरमा रडाको मच्चिन्थ्यो । तैंले इज्जत फालिस् भनेर बुबाले गाली गरे, बुबालाई दाइले साथ दिए तर पुष्पा टसकोमस भइनन् । ‘एक त मैले मेरो भविष्य बनाइसकेको छैन, अर्को हाम्रो देशको कानुनले २० वर्ष नपुगी बिहे गर्न हुन्न भनेको छ,’ उनले सुनाइन् ।


उनका तीन दिदीको बालविवाह नै भएको हो । सात कक्षाभन्दा माथि कसैले पढ्न पाएनन् । परिवारले दिन खोजेको त्यो निरन्तरतालाई उनी भत्काउन चाहन्थिन्, सफल पनि भइन् ।


बिहे गर्दिनँ भनेकै कारण उनले भोगेको दुःखको ‘फाँट’ आँखाले नभ्याउन्जेलसम्मको छ । परिवार र समाजले लगाएका आक्षेप सम्झन मन लाग्दैन, बिर्सन पनि सक्दिनन् । यो उमेरमै बिहे गर्नुपर्छ र गर्दिनँ भन्ने विषयमा विवाद हुँदाहुँदै झोंक्किएका बुबाले बर्साएको लाठीको दाग उनको शरीरमा अहिले पनि देखिन्छ । ‘तर उपचारका लागि अस्पताल कहिल्यै लगेनन्,’ उनी सम्झिन्छिन्, ‘पिटाइका कारण बेला–बेला छाती दुखिरहन्छ ।’ आफूलाई लागेको चोट त सहेकै थिइन्, रोक्न जाँदा आमाले पनि कुटाइ खाएको कुराले उनलाई झन् पिरोल्छ । भन्छिन्, ‘मेरा लागि आमाले बहुत दुःख पाउनुभयो ।’


एसएलसी पास गरेपछि पछिल्लोपटक बिहेको प्रस्ताव आयो । उनले फेरि पनि मानिनन्, घरकाले छोड्दै छोडेनन् । अति भएपछि उनी बिहे रोकिपाऊँ भन्दै उजुरी बोकेर प्रहरी कार्यालय पुगिन् । उनको बिहे त रोकियो तर यातना थपियो । दिउँसो सुतिरहेका बेला उनको अनुहारमा कसैले केही पोतिदियो, अनुहार पटपटी फुट्यो । अहिले चर्किएको उनको गाला निको भइसकेको छैन । ‘यसलाई आफ्नो खुबसुरतीको खुब घमण्ड छ, त्यो तोडिदियो भने कसैले बिहे गर्दैन, अनि थाहा पाउँछे,’ गाउँलेले गरेको कुरा उनी सम्झिन्छिन् तर ठ्याक्कै कसले त्यसो गरेको होला भन्ने ठम्याउन सक्दिनन् ।


घर घरजस्तो लागेन । आमाबाहेक परिवारका सबै सदस्य पराईजस्ता भए । ‘मैले ८ पास गर्ने बित्तिकैदेखि पार्ट टाइम जागिर गर्न थालेको थिएँ, पढाइ खर्च आफैंले जुटाएँ,’ पुष्पा भन्छिन्, ‘पहिलोपटक आएको बिहेको प्रस्ताव अस्वीकार गरेका कारण घरबाट मैले खर्च पाउन छोडेकी थिएँ ।’ परिवारको हतोत्साह, गाउँलेको खिसिट्युरी र अपमान उनलाई शिर निहुर्‍याएर गुमनाम हुन काफी थिए तर रोजिन् फरक बाटो । स्थानीय कर्महवा माविमा कक्षा ११ मा पढिरहेकी उनी भन्छिन्, ‘बालविवाह ठीक होइन भन्ने लागेपछि मैले गाउँमा हुने बालविवाह रोक्न पहल थालेँ ।’


उनले रोजेको बाटो सहज थिएन । गाउँमा झन् धेरै कुरा काट्न थालियो । स्थानीय सरकार र प्रहरी प्रशासन उनी र उनीजस्तै अरू केही किशोरीले थालेको काममा सारथि बन्न सकेनन् । अघिल्लो वर्ष उनीहरूले गाउँमा भइरहेको एउटा बाल विवाहबारे स्थानीय प्रहरी कार्यालयमा उजुरी दिए । ‘उजुरी दिएपछि प्रहरी विवाह भइरहेको ठाउँमा पुग्यो पनि तर विवाह रोक्नुको सट्टा भोज खाएर फर्कियो,’ उनले सुनाइन् ।


गत साल उनको वडाकी सदस्य परमज्योति हरिजनका नातिको विवाह तोकियो । उनी १९ वर्षका मात्रै थिए । त्यसैले पुष्पाले जनप्रतिनिधिकै घरमा हुन लागेको गैरकानुनी विवाह रोकिपाऊँ भनेर उजुरी गरिन् । त्यतिखेर रोकिएको विवाह यही वर्ष उनीहरू २० वर्ष पुगेपछि भयो । त्यसो गरेबापत पुष्पालाई आएको धम्की भने डरलाग्दो थियो । ‘हाम्रो पछाडि पावर छ, कि हामीलाई दुःख दिन छोड्दे कि ज्यानको माया मार्,’ उनी परमज्योतिको परिवारले दिएको धम्की सम्झिन्छिन् ।


‘एक दिन त मर्नु छँदै छ, केही गरेरै मरौं भन्ने सोच्छु,’ पुष्पा ढुक्क देखिइन्, ‘अब त मलाई मर्नदेखि डर पनि लाग्दैन ।’ यसको कारण हो, परिवारभित्र मरणासन्न हुने गरी बारम्बार कुटिनु र संयोगले बाँच्नु । उनले यसरी आफूलाई जोखिममा राखेर गाउँका अरू चार वटा बालविवाह रोक्न सफल भएकी छन् । ‘मैले गाउँका अरू चार र मेरा आफ्नै दुई जना साथीको जिन्दगी नरकमा जानबाट बचाएँ,’ उनी उज्यालो भइन् । ‘बालविवाह गर्‍यो भने धेरै समस्या हुन्छ नि, हामी कसैको कोठा सजाउने मान्छे मात्रै त होइनौं,’ पुष्पा बाल विवाहका बेफाइदाबारे साथीहरूलाई सम्झाउँछिन्, ‘जिम्मेवारी पूरा गर्न सकिन्न, जिम्मेवार बन्न नसकेपछि घर–माइती कसैले हेर्दैनन्, घर न घाटको भइन्छ ।’


साथीहरूलाई सम्झाएझैं उनीहरूका अभिभावकलाई बुझाउन उति सजिलो छैन तर प्रयास गरिरहनुपर्छ भन्नेमा पुष्पा अडिग देखिन्छिन् । उनको यो अडानलाई गाउँलेले पचाएका छैनन् । उनी हिँडिरहेको बाटोमा परबाटै देखे भने खिसी गर्दै भन्छन्, ‘ऊ नेतिनी (नेता) आई ।’ उनी सोच्छिन्, ‘एक दिन म साँच्चिकै नेता भएँ भने भोट देलान् कि नदेलान् ।’


कामले त पुष्पा नेता भइसकेकी छन् । बालविवाह अन्त्य गर्ने मूल उद्देश्य बोकेर उनकै अध्यक्षतामा ‘किशोरी अधिकार मञ्च’ गठन भएको छ । मञ्चमा रूपन्देहीका करिब २ सय किशोरी आबद्ध छन् । यसलाई अझ विस्तार गरेर बाल विवाहविरुद्ध अभियान सञ्चालन गर्ने योजना उनको छ । यो अभियान सरकारको पनि हो । सरकारले सन् २०३२ सम्म मुलुकलाई बाल विवाहमुक्त बनाउने लक्ष्यसहित ‘बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति ०७२’ सार्वजनिक गरिसकेको छ ।


यही रणनीतिमा साथ दिनुपर्ने स्थानीय तह भने गम्भीर भएको उनलाई लागेको छैन । उनको संस्थाले किशोरी विवाह अन्त्यका लागि स्थानीय सरकारसँग मिलेर काम पनि गर्न खोजेको थियो । त्यसका लागि लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख मनमोहन चौधरी र उपप्रमुख जानकीदेवी श्रीवास्तवलाई धेरै पटक निवेदन पनि दिए । ‘तर उहाँहरू त हाम्लाई फुर्सद छैन भन्ने जवाफ दिनुहुन्छ,’ पुष्पा आक्रोश पोख्छिन्, ‘उहाँहरू हाम्रै लागि काम गर्न निर्वाचित हुनुभएको हैन र ? अनि हाम्रो कुरा पनि सुन्न फुर्सद हुन्न भने के हुन्छ त ?’ यही मुद्दा बोकेर पुष्पा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई भेट्न गएकी थिइन् । पोखरेलले उनका कुरा ध्यानपूर्वक सुने, आफूले गर्न सक्ने पहल सबै गर्ने जवाफ पनि दिए । ‘त्यतिखेर उहाँले म र मजस्तै धेरै किशोरीका पीडा सुनेर आँसु झार्नुभएको थियो,’ उनले भनिन्, ‘तर बिर्सिनुभयो कि खोइ, केही प्रगति भएको छैन ।’


राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन, २०७६ अनुसार करिब १३ लाख किशोरी बाल विवाहको जोखिममा छन् । यिनै जोखिममा रहेकामध्ये एकै जनालाई भए पनि जोगाउन सकियो भने ठूलो उपलब्धि हुन्छ भन्नेमा पुष्पा आशावादी छिन् तर विश्वस्त छैनन् । साथी संस्थाले आयोजना गरेको राष्ट्रिय युवा सम्मेलनका लागि काठमाडौं आउनै लाग्दा उनलाई बुबा र दाजुले फेरि धम्की दिए, ‘घर नफर्किउन्जेल तिमी सुरक्षित छौं, फर्किएपछि बाँच्ने आसै नगर ।’ आफ्नै परिवारका मान्छेले ज्यानै लिन्छन् भन्नेचाहिँ उनलाई लागेको छैन ।


तैपनि मनमा डर त हुन्छ नि । कहिलेकाहीँ घरै पो छोडौं कि जस्तो पनि लाग्छ । ‘तर भागेर कहाँ जाने ? गाउँमा अरूलाई पनि बिगारी आफू पनि भागी भन्लान् ।’ उनी आत्मविश्वासी देखिन्छिन्, ‘त्यसैले बालविवाह गर्न हुँदैन भनेर सबै कन्भिन्स नहुँदासम्म म गाउँ छोडेर कतै जान्न ।’


उनको सपना के होला ? ‘यस्तो काम गर्न सकुँ, मेरो नाम र कामका कारण मेरी आमा स्टेजमा उक्लिन पाउन्,’ पुष्पाको सपना फक्रिन्छ, ‘मेरो बाहिरको दुःख र चोट देखिएको छ तर मनभित्रको अठोट देखिएको छैन, एक दिन त्यो

पनि देखिएला ।’

प्रकाशित : माघ ११, २०७६ ०७:०३
प्रतिक्रिया
पठाउनुहोस्

माघमा पनि डेंगु

कान्तिपुर संवाददाता

म्याग्दी — हिमाली जिल्ला म्याग्दीमा डेंगुको बिरामी भेटिएको छ । उच्च ज्वरोबाट ग्रस्त भएर जिल्ला अस्पताल भर्ना भएकी बेनी–७ की ४५ वर्षीया बिरामीको रगत परीक्षण गर्दा डेंगु संक्रमण पाइएको हो । उनी यही माघ २ मा अस्पताल आएकी थिइन् ।

‘गर्मी सिजनको अघिपछि मात्र देखिने डेंगु माघको अधिक चिसो र सुक्खा समयमा फेला परेपछि हामी चिन्तित छौं,’ बेनी अस्पतालका ल्याब टेक्नोलोजिस्ट संजोग तिमिल्सिनाले भने, ‘बेनीमा गाडीका टायरको असुरक्षित व्यवस्थापन डेंगुको मुख्य चुनौती हो ।’ बेनी अस्पतालको अभिलेखअनुसार भदौयता मात्र १४ जनामा डेंगु संक्रमण फेला परेको छ । संक्रमित सबै बेनी नगर क्षेत्रका छन् ।

प्रकाशित : माघ १०, २०७६ २१:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×