३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

मापसे गरेर सवारी चलाउने चालकलाई हिरासतमा राखेर मुद्दा चलाइने 

हरिहरसिंह राठौर

धादिङ — धादिङ प्रशासनले मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकलाई हिरासतमा राखेर मुद्दा चलाउने भएको छ । ग्रामिण सडकमा मापदण्ड विपरीतका सवारी साधनमा यात्रु ओसार्ने कार्यलाई निरुत्साहित गर्न जिल्ला प्रशासन कार्यालय धादिङले मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई हिरासतमा राखेर मुद्दा चलाउने निर्णय गरेको हो ।

मापसे गरेर सवारी चलाउने चालकलाई हिरासतमा राखेर मुद्दा चलाइने 

गत मंगलबार ढोलामण्डलीबाट फर्किदै गरेको ग १ ख ८०७२ नम्बरको मिनी ट्रक पल्टिँदा सात जनाको मृत्यु र ३४ जनाभन्दा बढी घाइते भएपछि सर्वदलीय सहमतिमा प्रशासन कार्यालयले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।

प्रजिअको संयोजकत्वमा प्रहरी, यातायात व्यवसायी, नागरिक समाज, राजनीतिक दलहरुको सर्वपक्षीय बैठकले यस्तो सहमति गरेको हो । बैठकले सहमतिलाई पालना गराउन प्रभावकारी अनुगमन गर्ने निर्णय समेत गरेको तामाङले बताए ।

सिटभन्दा बढी यात्रु चढाएको र मालबाहक सवारीले यात्रु चढाएको भेटिएमा मुद्दा दर्ता गरी कारबाही गर्ने सहमति बैठकमा भएको तामाङले बताए । ‘सवारी चालकले मादक पदार्थ सेवन गरेको पाइएमा चालकलाई अबदेखि जरिवाना होइन, सिधै हिरासतमै राखेर मुद्धा प्रक्रिया अगाडि बढाउने सहमति सर्वपक्षीय बैठकमा भएको छ,’ तमाङले भने ।

बीमा नभएका सवारी सञ्चालनमा रोक लगाउने, बिल बुकमा प्रयोजन भनिएको अनुसार मात्रै सवारी सञ्चालन गर्ने, प्रदूषण पास नभएका सवारी सञ्चालनमा रोक लगाउने, सामान ढुवानी गर्दा सवारी साधनको बाहिर निस्कने गरी सामग्री राख्न नपाइने निर्णय बैठकले गरेको छ ।

ट्राफिक प्रहरीले सवारी चालक र यात्रुका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, टाइम कार्ड व्यवस्था गर्ने, मापसे परीक्षण गर्ने, रातिका लागि विशेष साङ्केतिक बोर्डहरुको व्यवस्थापन गर्ने, यात्रु सिट संख्याभन्दा बढी यात्रु राखेमा कारबाही गर्ने निर्णय पनि बैठकले गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मी, ट्राफिक प्रहरी प्रमुख, यातायात व्यवसायी र नागरिक समाजका प्रतिनिधि सहभागी बैठकले जिल्लाको प्रमुख तीर्थस्थल ढोलामण्डलीलाई सभ्य बनाउने, मण्डली क्षेत्रमा मदिरा पूर्ण रूपमा बन्द गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित : माघ १०, २०७६ १४:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?