१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

प्रधानमन्त्री ओलीमा अझै मेटिएन 'भैंसेपाटी भेला'को आंशका !

भैंसेपाटीको समीकरण भत्काउने कोसिस
बबिता शर्मा

काठमाडौँ — नेकपाका नौ सदस्यीय सचिवालय सदस्यमध्ये वामदेव गौतम निवास भैंसेपाटीमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठबीच पुस २३ गते भएको छलफलले नेकपाभित्र ठूलै तरंग पैदा गरेको छ । त्यसबाट अझै पनि बालुवाटार तरंगित छ । 

प्रधानमन्त्री ओलीमा अझै मेटिएन 'भैंसेपाटी भेला'को आंशका !

सचिवालयका बहुमत सदस्यहरु भेला भएपछि खास गरेर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको मनका उठेको आंशका अझै मेटिएको छैन । त्यसैले प्रधानमन्त्री एवं अध्यक्ष ओलीले शीर्ष नेताहरुसँगको हरेक भेटमा भैंसेपाटी भेलाको विषयवस्तु आफैं उठाउने गरेका छन् । भैंसेपाटी भेलाबारे प्रधानमन्त्री ओलीले आफूनिटक नेतासँग पनि छलफल गर्दै आएका छन् ।


प्रधानमन्त्री ओलीले बिहीबार भैंसेपाटी भेलामा सहभागी नेकपाका वरिष्ठ नेता झलनाथ खनालसँग भेट गरे । खनालसँगको तीन घण्टा लामो भेटमामा ओलीले भैंसेपाटी भेलामा भएको छलफलबारे पनि चासो राखेका थिए ।

नेता खनालका अनुसार प्रधानमन्त्रीले भैंसेपाटी भेलाको आयोजना कसरी र छलफलको विषयवस्तु के थियो भनेर चासो राखेका थिए ।


‘प्रधानमन्त्रीले सोध्नुभएको थियो । मैले उहाँ (वामदेव गौतम)ले चिया खान बोलाउनु भएको थियो । बोलाएपछि हामी गयौं । नेताहरु भेला भएपछि के कुराकानी हुन्छन्, त्यहाँपनि त्यही भयो भनें,’ खनालले ईकान्तिपुरसँग भने ।

पार्टी केन्द्रीय समितिको बैठक बस्न केही दिन बाँकी रहँदा प्रधानमन्त्री ओलीले वरिष्ठ नेता खनालसँग लामो छलफल गरेका हुन् ।


भैंसपाटी भेलालाई लिएर प्रधानमन्त्री ओलीले आफू विरुद्ध मोर्चाबन्दी भएको भन्दै सुरुदेखि नै असन्तुष्टि जनाउँदै आएका छन् । उक्त भेलालगत्तै ओलीले आफ्ना असन्तुष्टि पार्टीका अर्का अध्यक्ष दाहाल र प्रवक्ता नारायणकाजी श्रेष्ठसँग पोखेका थिए ।


ओलीले प्रवक्ता श्रेष्ठसँग के उद्देश्यका लागि भेला गरिएको हो र के–के विषयमा छलफल भयो भनेर जान्न खोजेका थिए । जवाफमा श्रेष्ठले ‘पार्टीको आन्तरिक जीवनबारे छलफल भएको र त्यहाँ कुनै मोर्चाबन्दी नभएको’ जानकारी गराएको बताए ।


दाहालसँग पनि ओलीले ‘मेरा विरुद्ध मोर्चाबन्दी गर्ने’ भनेर प्रश्न गरेको दाहालले आँफू निकट नेताहरुलाई बताएका थिए ।


स्थायी समितिका एक नेताका अनुसार पाँच नेताहरुको भैंसेपाटी भेलापछि प्रधानमन्त्री ओलीले दबाब महसुस गरेका छन् । भेलापछि दाहालले सभामुख पूर्वमाओवादीले पाउनुपर्ने अडान थप कडा बनाएका थिए । छलफलमा सहभागी नेताहरुले दाहालले प्रस्ताव गरेको व्यक्ति सभामुख हुने भन्दै दाहालको समर्थनमा उभिएका थिए । जबकी प्रधानमन्त्री ओली सुवास नेम्वाङलाई सभामुख बनाउन चाहन्थे ।


उपसभामुखको राजीनामाका विषयमा पनि भैंसेपाटी छलफलमा सहभागी नेताहरु एकै ठाउँ थिए । त्यसैका आधारमा नेकपाको सचिवालय बैठकले उपसभामुखलाई राजीनामा दिन निर्देशन दिने निर्णय लिएको थियो ।


समीकरण भत्काउने कोसिस

स्थायी समितिका एक नेताका अनुसार सचिवालयका बहुमत सदस्य दाहालको कित्तामा देखिएपछि आफूमाथि दबाब बढ्ने ओलीको बुझाई छ । ओलीले सचिवालयका नेताहरुलाई बोलाएर छुट्टाछुट्टै भेट्नु र भैंसेपाटी भेलाबारे चासो व्यक्त गर्नुलाई समिकरण भत्काउने प्रयासका रुपमा बुझ्नुपर्ने ती नेताले बताए ।


यस्तै बुझाई वाम विश्लेषक श्याम श्रेष्ठको पनि छ । ‘ओली समिकरण भत्काउन र बनाउन माहिर छन्,’ श्रेष्ठले भने, ‘कसलाई आफूतिर तान्दा फाइदा हुन्छ । कसलाई तान्दा बेफाइदा हुन्छ हेर्छन् र त्यहिअनुसार कदम चाल्छन् । पछिल्ला भेट त्यसमा केन्द्रित हुन सक्छ ।’


प्रधानमन्त्री ओलीले समिकरण भत्काउने कुरा प्रत्यक्ष नगरेपनि नेता खनालसँग पार्टीलाई नयाँ शिराबाट लैजान गरेको छलफलले भने त्यसको संकेत गर्छ ।


‘पार्टी र सरकारलाई कसरी प्रभावकारी बनाउने भन्नेमा पनि छलफल भयो । पार्टीलाई अझै भावनात्मक र संगठनात्मक रुपले कसरी एकीकृत गर्ने भन्ने कुरा पनि उठ्यो । चाँडोभन्दा चाँडो महाधिवेशन गरौं भन्ने विषयमा उहाँको जोड थियो,’ खनालले भने ।


त्यसो त प्रधानमन्त्री ओलीले यसअघि पनि झम्सीखेल समीकरण भत्काएका थिए । गत वर्ष पनि झम्सीखेलमा यीनै पाँच नेता बसेर ओलीको कार्यशैलीविरुद्ध जाने योजना बनाएका थिए ।


२०७५ माघ १० गते प्रधानमन्त्री ओली विदेश भ्रमण रहेकै बेला सचिवालयका बहुमत सदस्यले झम्सीखेलमा गोप्य छलफल गरेका थिए । यो भेलाबाट पनि ओली असन्तुष्ट बनेका थिए ।


आफूविरुद्ध मोर्चाबन्दी भएको थाहा पाएपछि ओलीले गौतमलाई उपाध्यक्ष र संगठन विभाग प्रमुख बनाउने कार्ड फालेका थिए । त्यसैअनुसार गौतमलाई संगठन विभाग प्रमुख बनाइएको नेकपाभित्र केही नेताको बुझाइ छ । र, उपाध्यक्ष बनाउनका लागि पार्टी विधान संशोधन प्रस्ताव तयार भएको छ ।


स्थायी समितिले पास गरेको संशोधन प्रस्ताव केन्द्रीय समितिले अनुमोदन गरेपछि लागु हुनेछ । नेकपाले माघ १५ गते केन्द्रीय समितिको बैठक बोलाएको छ ।


प्रकाशित : माघ १०, २०७६ १३:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?