कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

अग्‍नि सापकोटालाई सभामुख नबनाउन माग गर्दै सर्वाेच्चमा रिट

जयसिंह महरा

काठमाडौँ — सभामुखका एक्ला उम्मेदवार अग्नि सापकोटालाई सभामुख बनाउन नहुने मागसहित सर्वोच्च अदालतमा रिट परेकाे छ । अधिवक्ता दिनेश त्रिपाठीले सभामुख बन्नबाट रोक्‍ने मागसहित सापकोटाविरुद्ध रिट दायर गरेको सर्वोच्चका सञ्‍चार विज्ञ किशोर पौडेलले जानकारी दिए ।

अग्‍नि सापकोटालाई सभामुख नबनाउन माग गर्दै सर्वाेच्चमा रिट

द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा तत्कालीन माओवादीका नेता सापकोटाको संलग्नता रहेको भन्दै त्रिपाठीले रिट दायर गरेका हुन् ।

उनले रिटमा सापकोटलाई सभामुख बनाउने प्रक्रिया तत्काल रोक्न, उनलाई पक्राउ गर्न, उक्त मुद्दाको अनुसन्धानका लागि विशेष कमिटी गठन गर्न माग गरेको त्रिपाठीले बताए । उक्त मुद्दाको पेशी आइतबार तोकिएको पौडेलले जानकारी दिए ।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृहमन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रहरी कार्यालय काभ्रे र जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकलाई विपक्षी बनाइएको छ । रिटमा सर्वोच्च अदालतले २०६८ सालमै अनुसन्धान गर्न आदेश दिए पनि पक्राउ गरी अनुसन्धान नगरेको भन्दै सम्बन्धित प्रहरी र कर्मचारीलाई पनि अदालतको अपहेलनामा सजाय गर्न माग गरिएको छ ।

यही अवस्थामा अग्नि सापकोटालाई सभामुखमा निर्वाचित गरिएमा संविधान र विद्यमान कानुनको गम्भीर उल्लंघन हुने, पीडितको न्याय प्राप्तिको अधिकार कुण्ठित हुने तथा प्रतिनिधिसभा नै अर्मयादित हुने भन्दै अधिवक्ता त्रिपाठीले सर्वोच्च अदालतसँग अन्तरिम आदेश जारीको माग गरेका छन् । सर्वोच्च अदालतमा परेको निवेदनको टुंगो नलागेसम्म सापकोटालाई काम नगराउन अदालतसमक्ष त्रिपाठीले माग गरेका छन् ।

यो मुद्दा अत्यन्त गम्भीर प्रकृतिकाे भएकाे उल्लेख गर्दै अधिवक्ता त्रिपाठीले अनुसन्धानको निगरानी एवम् सहजीकरणका लागि नेपाल प्रहरीसम्मिलित एउटा शक्तिसम्पन्‍न, उच्चस्तरीय विशेष कार्यदल(स्पेसल टास्क फोर्स) गठनकाे माग गरेका छन् ।

आइतबार नै सभामुखको घोषणा हुँदैछ । सापकोटा सभामुखका एक्ला उम्मेदवार भएकाले अदालतले अन्तरिम आदेश जारी नगरे उनी सभामुख निर्वाचित हुनेछन् ।

प्रकाशित : माघ १०, २०७६ १३:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?