प्याजमा घूस लिने सशस्त्र प्रहरी निरीक्षकविरुद्ध मुद्दा- समाचार - कान्तिपुर समाचार

प्याजमा घूस लिने सशस्त्र प्रहरी निरीक्षकविरुद्ध मुद्दा

कान्तिपुर संवाददाता

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्याजमा घूस लिएको अभियोगमा सशस्त्र प्रहरीको सीमा सुरक्षा बलका निरीक्षक अमृत थापासहित दुई जनाविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।


सशस्त्र प्रहरी बल बीओपी मोरङका कार्यालय प्रमुख थापा र जवान शशितनारायण विश्वासले भारतबाट प्याज ल्याउने व्यापारीसित घूस लिने गरेको पुष्टि भएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । मुद्दा दायर भएसँगै दुवै जना निलम्बित भएका छन् । अख्तियारले दैलेखको श्री पीपलचौतरा माध्यमिक विद्यालय डुंगेश्वर ५ का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं शिक्षक छनोट समितिका संयोजक भक्तबहादुर शाहीसहित तीन जनालाई पक्राउ गरेको छ । शाहीले म्यासेन्जरमार्फत शिक्षक छनोट परीक्षामा प्रश्नपत्र र उत्तरकुञ्जिका पठाई आफ्नो मान्छेलाई उत्तीर्ण गराएको पाइएकाले नियन्त्रणमा लिइएको अख्तियारले उल्लेख गरेको छ ।


शाहीले प्रश्नपत्र र उत्तरकुञ्जिका उपलब्ध गराई शिक्षकमा घनश्याम भण्डारी र वैकल्पिक उम्मेदवार दलबहादुर विकलाई छनोट गराएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ । अख्तियारले शाहीका अतिरिक्त भण्डारी र विकलाई समेत पक्राउ गरी हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित : माघ ९, २०७६ २१:३७
प्रतिक्रिया
पठाउनुहोस्

दुवै आयोगका पदाधिकारीले काम थाले

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगका पदाधिकारीले बिहीबार पदभार सम्हालेका छन् ।

मन्त्रिपरिषद्ले दुवै आयोगका पदाधिकारीको नियुक्तिको निर्णय सार्वजनिक गरेलगत्तै सर्वोच्च अदालतमा उनीहरूलाई पद तथा गोपनीयताको शपथग्रहण गराइएको थियो । सुरुमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष गणेशदत्त भट्ट र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगका अध्यक्ष युवराज सुवेदीलाई शपथ खुवाएका थिए । त्यसपछि अध्यक्षद्वयले आ–आफ्ना पदाधिकारीलाई शपथ खुवाएलगत्तै सबैले आ–आफ्नो कार्यकक्षमा गएर पदभार सम्हालेका थिए । उनीहरूलाई चार दिनअघि सिफारिस समितिले संक्रमणकालीन न्यायिक आयोगहरूमा नियुक्तिका लागि नाम सिफारिस गरेको थियो ।

सत्य निरूपणमा प्रचण्डराज प्रधान, गोविन्द गौतम, मन दाहाल र विष्णु पोखरेल तथा बेपत्तामा सुनीलरञ्जन सिंह, सरिता थापामगर, विष्णु भण्डारी र गंगाधर अधिकारी नियुक्त भएका छन् ।

प्रकाशित : माघ ९, २०७६ २१:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×