२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

एमसीसीले मुलुक धुजाधुजा बनाउँछ : बिजुक्छे

'नेकपा सरकार नआएको भए एमसीसी पनि आउने थिएन'
जयसिंह महरा

काठमाडौँ — नेमकिपाका अध्यक्ष नारायणमाज बिजुक्छेले विकास र सहयोगसम्बन्धी अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले मुलुकलाई धुजाधुजा बनाउने दाबी गरेका छन् ।

एमसीसीले मुलुक धुजाधुजा बनाउँछ : बिजुक्छे

उनले यसलाई नेपालले संसदबाट अस्वीकृत गरेर परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई पदबाट राजीनामा गराउनुपर्ने माग पनि गरेका छन् ।


एमसीसी अमेरिकी सैनिक रणनीति अन्तर्गत नै रहेको दाबी गर्दै बिजुक्छेले नेकपाले नै उक्त सम्झौता अस्वीकार गर्नुपर्ने बताएका हुन् । एमसीसी पढेर बुझेका सत्तारुढ नेकपाका नेताले विरोध गरिरहेको र केही नेताले नबुझिकनै समर्थन गरेको बिजुक्छेको भनाइ थियो ।


'नेकपामा यस विषयमा फरक-फरक धारणा आइरहेको छ । त्यो हुनु स्वाभाविक नै हो । जसले त्यो रणनीति बुझेको छ त्यसले विरोध गर्छ । जसले बुझेकै छैन उसले सही गरिसकेपछि समर्थन गर्ने नै भयो,' उनले भने । उनले परराष्ट्रमन्त्री ज्ञवालीले सम्झौता कार्यान्वयन गराउन अग्रसरता लिएको भन्दै उनले राजीनामा गर्नुपर्ने माग गरे । राष्ट्रीय सभाका सांसद र पत्रकारको एक टोलीसँग बिहीबार भक्पुरमा उनले यस्तो बताएका हुन् ।

भेटमा एमसीसीको खरो विरोधमा उत्रिएका बिजुक्छेले एमाले र माओवादीको एकता गराएर नेकपा गठन हुनुमा र कांग्रेसलाई समर्थन गराउनुमा पनि ठूलो खेल रहेको आशंका गरे । उनको भनाइ थियो, 'एमाले र माओवादीलाई किन मिल्न दियो ? कांग्रेसले किन समर्थन गर्‍यो ? यो सरकार नआएको भए यो (एमसीसी) नआउने नै थिएन । कांग्रेसले मात्रै गरेको भए यसको विरोध हुने थियो । त्यसकारण एमसीसी पास गराउनकै निम्ति यो चालबाल मिलेको हो ।' नेपाललाई अमेरिकाले पैसा दियो भन्दैमा लिन नहुने उनको भनाइ थियो ।


एमसीसीलाई लिएर नेकपामा समर्थन र विरोधका स्वर उठिरहेका छन् । उक्त सम्झौता सैन्य रणनीतिअन्तर्गत होइन भन्ने अमेरिकी दूतावासको पटकपटकको प्रष्टीकरणले पनि नेकपाभित्रको विरोधको स्वर कम भएको छैन ।

प्रकाशित : माघ ९, २०७६ २०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?