कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

मदरसाका प्रधानाध्यापकमाथि यौन दुर्व्यवहारकाे आरोप

उजुरीपछि आरोपित फरार
विनु तिम्सिना

मोरङ — विराटनगर ८ स्थित धार्मिक विद्यालयमा अध्ययनरत दुई छात्रालाई प्रधानाध्यापकले यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । मदरसा रजाए मुस्तफा आधारभूत विद्यालयका मौलवी अर्थात् प्रधानाध्यापक अमिरुद्दिन मियाँले आफ्नै कार्यकक्षमा बोलाएर यौन दुर्व्यवहार गरेको आरोप लागेको हो । मियाँ फरार भएका छन् ।

दुवै छात्राका अभिभावकले बिहीबार मियाँ विरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा किटानी जाहेरी दिएका छन् । कक्षा ५ मा अध्ययनरत १३ वर्षीया र कक्षा ६ मा अध्ययनरत १४ वर्षीया बालिकालाई मियाँले फरकफरक दिन यौन दुर्व्यवहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लोकदर्शन थापाले बताए ।

‘२०६४ सालदेखि उक्त विद्यालयमा कुरान पढाउँदै आएका मियाँले सोमबार दिएको गृहकार्य जाँच गर्नका लागि १३ वर्षीया बालिकालाई मंगलबार आफ्ना कार्यकक्षमा बोलाएर यौन दुरव्यवहार गरेको खुलेको छ,’ थापाले भने, ‘अर्को १४ वर्षीया छात्रालाई बुधबार यौन दुरव्यवहार गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।’


१३ वर्षीया बालिकाले यौन दुरव्यवहार गर्ने क्रममा प्रतिकार पनि गरेको तर मियाँले घटना कसैलाई सुनाए आमाबुबालाई समाजमा बदनाम गराइदिने धम्की दिएको थियो । बिहिबार बिहान पढन १३ वर्षीया बालिका मदरसा नगएपछि घटना बाहिरिएको अभिभावकले बताए । घटना बारे जानकारी पाएपछि न्यायका लागि प्रहरीमा आएको अभिभावकले गुनासो पोखे ।

१३ वर्षीयाका अभिभावकले प्रहरीमा उजुरी दिएको सुनेर १४ वर्षीया किशोरीका अभिभावकले पनि उजुरी दिएका हुन् । प्रहरी नायब उपरीक्षक थापाले मियाँलाई पक्राउ गर्नका लागि उनको घरसम्म प्रहरी पुगेको तर फरार भइसकेकोले खोजी कार्य भइरहेको बताए । उनले घटनाको अनुसन्धान प्रक्रिया अघि बढिसकेको सुनाए ।

प्रकाशित : माघ ९, २०७६ २०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?