निरन्तरको हिमपहिरोले अन्नपूर्णमा हराइरहेकाको खोजी कार्य स्थगित
काठमाडौँ — एक सातादेखि अन्नपूर्ण क्षेत्रको देउराली आसपासबाट हराइरहेका चारजना कोरियाली पर्यटक र तीन नेपालीसहितको खोजी कार्य निरन्तरको हिमपात र हिमपहिरोका कारण रोकिएको छ ।
पर्यटन विभागका अनुसार उक्त क्षेत्रमा निरन्तर हिमपहिरो गइरहेको र बाक्लो हिमपात भइरहेकाले खोजीकार्य स्थगन भएको हो । विभागकी निर्देशक मिरा आचार्यले त्यहाँ खटिएका नेपाली सेनासहित अन्य उद्दारकर्मीहरुलाई मौसमका कारण हुनसक्ने स्वास्थ्यलगायतको जोखिमका कारण तत्काल खोजी कार्य स्थगन गरेको बताइन् ।
निर्देशक आचार्यका अनुसार उक्त क्षेत्रमा खोजीकार्यमा कुकुरसहित कोरियाली विज्ञहरु पनि संलग्न छन् ।
काठमाडौंस्थित कोरियाली राजदूत पनि पोखरामै रहेका छन् । हराइरहेकाको खोजीमा ट्रेकिङ एजेन्सीज एसोसिएसन (टान), नेपाल पर्वतारोहण संघलगायत स्थानीय पनि संलग्न छन् ।