निरन्तरको हिमपहिरोले अन्नपूर्णमा हराइरहेकाको खोजी कार्य स्थगित- समाचार - कान्तिपुर समाचार

निरन्तरको हिमपहिरोले अन्नपूर्णमा हराइरहेकाको खोजी कार्य स्थगित

सुरज कुँवर

काठमाडौँ — एक सातादेखि अन्नपूर्ण क्षेत्रको देउराली आसपासबाट हराइरहेका चारजना कोरियाली पर्यटक र तीन नेपालीसहितको खोजी कार्य निरन्तरको हिमपात र हिमपहिरोका कारण रोकिएको छ । 

पर्यटन विभागका अनुसार उक्त क्षेत्रमा निरन्तर हिमपहिरो गइरहेको र बाक्लो हिमपात भइरहेकाले खोजीकार्य स्थगन भएको हो । विभागकी निर्देशक मिरा आचार्यले त्यहाँ खटिएका नेपाली सेनासहित अन्य उद्दारकर्मीहरुलाई मौसमका कारण हुनसक्ने स्वास्थ्यलगायतको जोखिमका कारण तत्काल खोजी कार्य स्थगन गरेको बताइन् ।

निर्देशक आचार्यका अनुसार उक्त क्षेत्रमा खोजीकार्यमा कुकुरसहित कोरियाली विज्ञहरु पनि संलग्न छन् ।


काठमाडौंस्थित कोरियाली राजदूत पनि पोखरामै रहेका छन् । हराइरहेकाको खोजीमा ट्रेकिङ एजेन्सीज एसोसिएसन (टान), नेपाल पर्वतारोहण संघलगायत स्थानीय पनि संलग्न छन् ।



प्रकाशित : माघ ९, २०७६ १९:३१
प्रतिक्रिया
पठाउनुहोस्

प्रदेश ५ मा राष्ट्रियसभा सदस्यमा नेकपाका उम्मेद्वार विजयी 

दुर्गालाल केसी

दाङ — प्रदेश ५ बाट राष्ट्रियसभा सदस्य निर्वाचनमा नेकपाका उम्मेदवार विजयी भएका छन् । बिहीबार बेलुका सम्पन्न मत परिणाम अनुसार नेकपाबाट महिलातर्फ बिमला घिमिरे, अपांग तथा अल्पसंख्यकमा जगप्रसाद शर्मा र अन्यबाट गोपाल भट्टराई विजयी भएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताए ।



अपांग/अल्पसंख्यक कोटाबाट शर्मा ५ हजार ४ सय २४ मतभारसहित विजयी भएका छन् । शर्माका प्रतिस्पर्धी नेपाली काँग्रेसका मेराज अहमद हलवाई १ हजार ९८६ मतभार प्राप्त गरेर पराजित भएका छन् । संघीय समाजबादी पार्टीका सुनिल सिंघलले ४२० मतभार प्राप्त गरेका छन् ।

महिलातर्फ घिमिरे ५ हजार ७ सय ७८ मतभार ल्याएर विजयी भएकी छन् । नेपाली काँग्रेसकी गिरिजादेबी न्यौपाने २ हजार १ सय मतभारसहित पराजित भएकी छन् ।

अन्य समूहका भट्टराई ५ हजार ३ सय ८२ मत ल्याएर विजयी भएका छन् । कांग्रेसका बालकृष्ण पाण्डे २ हजार ५२ मतभार प्राप्त गर्दा संघीय समाजवादीका कृष्णप्रसाद यादवले ४ सय ४४ र राष्ट्रिय जनमोर्चाका शिव पौडेलले १ सय ५६ मतभार प्राप्त गरेका छन् । प्रदेश ५ बाट तीन पदका लागि ९ जनाको उम्मेद्वारी परेको थियो ।

निर्वाचनमा ३ सय ३ मत खसेको थियो । प्रदेशका १२ जिल्लाका १ सय ९ स्थानीय तहका प्रमुख र उपप्रमुख २ सय १८ मध्ये १ सय १७ को मात्रै मत खसेको थियो ।

बाँकेको नरैनापुर गाउँपालिका उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तव मात्रै मतदानमा सहभागी हुन सकिनन् । संघीय समाजवादी फोरमबाट निर्वाचित श्रीवास्तव आफन्त बिरामी भएर उपचारका लागि भारत गएकाले मतदानमा सहभागी हुन नसकेकी हुन् ।

यसैगरी प्रदेशसभा सदस्यहरु ८६ जनाले मतदान गरेका छन् । प्रदेशसभा सदस्य ८७ मध्ये बलदेव शर्माको हालै निधन भएको थियो ।

प्रकाशित : माघ ९, २०७६ १९:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×