१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

मानसिक रोगीको बिजोग

बझाङ,बैतडी — जागिर थालेर घर चलाउन बल पुर्‍याउने उमेरका दुई छोरा अझै बाबुकै भरमा छन् । ६० वर्षीय बाबु ज्याला मजदुरी गरेर घर चलाउँछन् । यो अवस्था हो बैतडीको दशरथचन्द नगरपालिका–४ का प्रेमराम तिरुवाको । उनका छोरा २६ वर्षीय प्रदीप र २२ वर्षीय रमेशलाई मानसिक रोग देखिएको वर्षौं भइसकेको छ ।

मानसिक रोगीको बिजोग

एकातिर परिवारको हातमुख जोर्नका लागि गर्नुपर्ने ज्यालामजदुरीको काम, अर्कातिर असामान्य व्यवहार गर्ने दुईजना छोरा सम्हाल्नुपर्दा तिरुवा आजित भइसकेका छन् । उनीहरू फोहोर खाने, बजारमा एकसुरले डुल्ने र मानिसलाई एकोहोरो हेर्ने गर्छन् । दिसापिसाब चुहिएको पनि थाहा पाउँदैनन् । ‘सकेसम्म त घरमा थुनेर राख्ने गरेका छौं । थुनेर राखे पनि कुनै बेला झ्यालढोका फोरेर भागिहाल्छन्,’ तिरुवा भन्छन्, ‘म बुढालाई हैरान पारिसके ।’


नौ वर्षअघि जेठा र त्यसको दुई वर्षपछि कान्छा छोराको मानसिक सन्तुलनमा समस्या आएको हो । छोराले असामान्य व्यवहार देखाउन थालेपछि उनले जिल्ला अस्पताल पुर्‍याएका थिए तर जिल्लामा मानसिक रोगको उपचार नहुने भएकाले उनले सुविधायुक्त अस्पताल लैजाने सल्लाह पाए । ‘साँझ–बिहान हातमुख जोर्नै समस्या हुने हामीजस्ता गरिबले बाहिर गएर उपचार गर्ने खर्च कहाँबाट ल्याउनु ?,’ उनी भन्छन्, ‘यिनीहरूको हालत देखेर आफैं पनि पागल हुँला जस्तो भइसकेँ । म काम गरेर घरपरिवारलाई पालौं कि बिरामी भएकाको उपचार गरौं ?’ नजिकको अस्पतालमा उपचार नपाएपछि उनले धामीझाँक्री र वैद्यलाई देखाए । दुवै बिसेक भएनन् ।


बैतडीमा मात्र मानसिक रोगीको उपचार हुन नसकेको होइन । सुदूरपश्चिमका पहाडी जिल्लामा पछिल्लो समय मानसिक रोगीको संख्या दिनप्रतिदिन बढ्दै गए पनि जिल्लामा उपचार व्यवस्था नहुँदा विपन्न परिवारमा निराशा छ । जिल्लाभरिका स्वास्थ्य संस्थाको बहिरंग सेवा लिन आउने बिरामीमध्ये करिब ३० प्रतिशतमा मानसिक रोगको लक्षण देखिने गरेको स्वास्थ्यकर्मी बताउँछन् ।

जिल्लामा मानसिक रोगसम्बन्धी उपचार व्यवस्था नहुँदा समस्या हुने गरेको जिल्ला अस्पताल बझाङका प्रमुख डा. सन्दीप ओखेडाले बताए । ‘हप्तामा दुई जनासम्म गम्भीर मानसिक रोग (साइकोसिस) भएका बिरामी हाम्रो सम्पर्कमा आइरहेका छन्,’ उनी भन्छन्, ‘एन्जाइटी (चिन्तारोग) र डिप्रेसन भएका बिरामी दैनिक दुई–तीनजना आउँछन् ।’ सामान्य प्रकारका मानसिक रोगको औषधि मात्र जिल्ला अस्पतालले पाउने कोटामा आउने भएकाले गम्भीर समस्याग्रस्तलाई सेवा दिन नसकेको उनले बताए ।

केही वर्षअघि मानसिक रोग परामर्श केन्द्र नामक गैरसरकारी संस्थाले बझाङ जिल्ला अस्पतालमा डेस्क स्थापना गरी उपचार र परामर्श सेवा दिँदै आएको थियो । पाँच वर्षअघि उक्त संस्था जिल्लाबाट बाहिरिएयता मानसिक रोगीका लागि उपचार सेवा असहज छ । ‘अवस्था हेरेर केही औषधि अस्पतालले नै खरिद गरेर पनि दिने गरेका छौं,’ डा. ओखेडाले भने, ‘महँगो हुने भएकाले सामान्य आयस्रोत भएकाहरूले यो किन्न पनि सक्दैनन् ।’


बझाङमै अर्को गैरसरकारी संस्था प्रगतिशील युवा समाजले साबिकका चार गाविसमा मानसिक रोगका बिरामीलाई उपचार परामर्श सेवा दिने गरेको छ तर संस्थाको कार्यक्षेत्र सीमित हुनुका साथै गम्भीर प्रकारका बिरामीलाई दिने सेवा छैन । ‘गम्भीर प्रकारका बिरामीलाई सामान्य औषधि र परामर्शले काम चल्दैन,’ समाजका कार्यक्रम संयोजक लवराज जोशीले भने, ‘हाम्रो संस्थाले काम गर्ने चार गाविसमा मात्रै सय जनाभन्दा बढी मानसिक रोगी छन् ।’


थलाराको कोटभैरव गाउँमा मात्र २५ जना मानसिक रोगी छन् । स्वास्थ्य शाखाका कर्मचारी धीरेन्द्र खड्काका अनुसार मानसिक रोगीको उपचार गर्नुको साटो परिवारले बेवास्ता गर्दा अवस्था गम्भीर भएको भेटिन्छ । ‘एक त जिल्लामा सुलभ उपचार व्यवस्था छैन, अर्कातिर यो रोगको उपचार हुन्छ भन्ने पनि धेरैलाई थाहा हुँदैन,’ उनले भने । बाहिर गएर उपचार गराउन सक्ने हैसियत नभएका परिवारमा मानसिक रोगीले कष्टकर जीवन बिताइरहेको बैतडीकी अधिकारकर्मी सरस्वती नेपालीले बताइन् । ‘बैतडीमा मानसिक रोगीको उपचार त परै जाओस्, कति मानसिक रोगी छन् भनेर यकिन तथ्यांक पनि छैन,’ उनले भनिन् ।

मानसिक रोगको समस्या देखिएका बालबालिका पनि निकै संख्यामा भेटिने गरेको बझाङको रिलु गाविसका गोरखबहादुर बोहराले बताए । ‘रोग बढ्दै गएपछि परिवारले बेवारिसे छाडिदिँदा बिजोग देखिन्छ,’ उनले भने । कतिपय मानसिक रोगीका परिवारले एकाधपटक सुविधायुक्त अस्पतालमा लैजाने र सुधार हुन थालेर घर फर्काएपछि नियमित सेवन गर्नुपर्ने औषधि छुट्दा पुनः बल्झेको पनि पाइएको स्वास्थ्यकर्मीको भनाइ छ । जयपृथ्वी नगरपालिकाको कैलाश स्वास्थ्यचौकीका इन्चार्ज कमलराज जोशी भन्छन्, ‘सरकारले दिने सुविधामा मानसिक रोगी र तिनका लागि डाक्टर छैनन् । त्यसैले साना स्वास्थ्यचौकीले उपचार गर्नै सक्दैनन् ।’

प्रकाशित : माघ ९, २०७६ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?