धादिङ दुर्घटना : अधुरै रह्यो जापान जाने सपना

जापानमा ५ वर्ष बसेर कमाएको पैसाले सदरमुकामको सिमलगैरीमा २७ लाखमा घडेरी जोडेका थिए
हरिहरसिंह राठौर

(धादिङ) — तिहारमा जापानबाट फर्केका ३० वर्षीय विदुर गुरुङ भूकम्पले भत्काएको घर निर्माण गर्ने तरखरमा थिए । जापानमा ५ वर्ष बसेर कमाएको पैसाले सदरमुकामको सिमलगैरीमा २७ लाखमा घडेरी जोडेका थिए । ७ वर्षअघि मधुवनकी मनिषासँग बिहे गरेका विदुरका २ छोरी छन् । उनी घरको जग हालेर पुन: जापान जाने तरखरमा थिए ।

ZenTravel

ज्वालामुखी–४ स्थित ढोलामण्डली माईको थानमा मंगलबार पूजा गरी फर्केको ट्रक दुर्घटनामा उनको मृत्यु भयो । उनी स्थानीय ढोलामण्डली देवीमा भाकलअनुसार पाठी बलि दिन गाउँलेसहित त्यहाँ गएका थिए । सशस्त्र प्रहरीमा कार्यरत माइला दाजु भीमसेनसँगै सगोलमा रहेका विदुरको फेरि जापान जाने धोको अधुरै रह्यो ।

एकै बस्तीका ७ जनाले दुर्घटनामा ज्यान गुमाएपछि नीलकण्ठ नगरपालिका–२ भुलभुले शोकमा छ । सदरमुकाम धादिङबेंसीको सिरानमा पर्ने सदरमुकामको खानेपानीको मुहान स्रोत रहेको उक्त गुरुङ समुदायका ८० घरधुरी यतिबेला शोकमग्न छन् । बस्तीका सबै मंगलबारदेखि नै अस्पताल हातामा छन् । मृत्यु तथा घाइते भएका परिवारलाई संवेदना तथा सान्त्वना दिन टाढा–टाढाबाट आफन्तजनको ओइरो लागेको छ ।

उनका छिमेकी २८ वर्षीय तिलकबहादुर गुरुङ पनि भाकलअनुरूप पाठी बलि दिन गएका थिए । तिलक पनि जापान जान भाषा परीक्षा उत्तीर्ण गरी भिसा प्रक्रियामा थिए । गोरखा मूलपानीकी कोपिलासँग विवाह गरेका तिलक भूकम्पले भत्काएको घर निर्माण गरी अन्तिम किस्ता लिने प्रक्रियामा थिए । मलेसियाबाट फर्केर घर छेउमा कुखुरापालन गरेका उनी घाटा लागे पछि पुन: वैदेशिक रोजगारीमा जान लागेका थिए ।

बस्तीका २८ घरबाट ४० जना जतिले भाकल गरेका ५ वटा पाठी लिएर ग१ख ८०८२ मिनीट्रक बुक गरेर त्यता गएका थिए । मन्दिरसम्म सार्वजनिक यातायात सुविधा नभएपछि विभिन्न मालवाहक सवारीसाधन, निजी जिप भाडामा लिएर जाने गरेका छन् । गाउँका आफन्तले भनेपछि गोकुल ढुंगानाको मिनीट्रक लैजान चालक सुभाष गुरुङ राजी भएका थिए । गाउँबाटै मदिरा, खानपिनका सामग्री, रासनसहति भाँडाकुँडासमेत बोकेर मण्डली गएका थिए ।

नगरपालिकासँग जोडिएको ज्वालामुखी–४ स्थित ढोलामण्डली माईको थानबाट बलि चढाएर मन्दिर नजिकैको दोभान बजारमा भोजभतेर गरेर फर्केका नीलकण्ठ–२ भुलभुलेका ७ जनाको मृत्यु भएको थियो । मृत्यु भएकामा भुलभुलेका विदुर गुरुङ, ध्वजबहादुर गुरुङ, पूर्णमान श्रेष्ठ, सुनील भन्ने तिलकबहादुर गुरुङ, प्र्रेमबहादुर गुरुङ, बेलबहादुर गुरुङ र सेते गुरुङका परिवारले जाहेरी दिइसकेको जिल्ला प्रहरी प्रमुख रवीन्द्र रेग्मीले बताए । दुर्घटनामा घाइते भएर काठमाडौं पुर्‍याइएका २२ जनामध्ये दिनेश गुरुङ ट्रमा सेन्टरको आईसीयूमा र २० जनाको इमर्जेन्सीमा उपचार भइरहेको छ । प्रहरी नियन्त्रणमा रहेका घाइते चालक सुभाषको महाराजगन्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । सामान्य घाइते भएका अन्य १२ जना जिल्ला अस्पतालमा उपचारपछि घर फर्केका छन् ।

दुर्घटनामा निधन र घाइतेका आफन्तले क्षतिपूर्ति र उपचार खर्च माग गर्दै बुधबार जिल्ला अस्पताल धादिङमा धर्ना दिए । उनीहरूले क्षतिपूर्ति र उपचार खर्च टुंगो नलागेसम्म शव नउठाउने अडान लिएका छन् । बुधबार प्रजिअ आस्मान तामाङको अध्यक्षतामा पीडित पक्ष, स्थानीय जनप्रतिनिधिसहित बसेको जिल्ला यातायात व्यवस्था समितिको बैठक निष्कर्षविहीन भएको छ ।

मिनीट्रकका साहु गोकुल ढुंगाना छलफलमा नआएपछि क्षतिपूर्ति तथा उपचार खर्चबारे अन्योल कायम भएको र घाइतेको उपचारका लागि गृहमन्त्रालयमा लिखित अनुरोध पठाइएको प्रजिअ तामाङले बताए ।

दुर्घटनाको शोकमा नीलकण्ठ नगरपालिकाले बुधबार बिदा दिएको थियो । बुधबार बसेको नगरको बैठकले शोक प्रस्ताव पारित गर्दै घाइतेको उपचारका लागि ५ लाख, घाइते लिन गएको हेलिकप्टर र एम्बुलेन्स खर्चसमेत बेहोर्ने निर्णयसमेत गरेको नगरपालिकाका प्रवक्ता गौतमहरि अधिकारीले बताए ।

प्रकाशित : माघ ९, २०७६ ०९:०७
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

इस्टर्न ओपनमा बलभद्र अगाडि

प्रदीप मेन्याङबो

सुनसरी — धरानमा जारी सूर्य नेपाल इस्टर्न ओपन गल्फको दोस्रो दिन बुधबार स्थानीय गल्फर बलभद्र राईले अग्रता लिएका छन् । उनले अर्का स्थानीय एमेच्योर नीरज तामाङलाई एक स्ट्रोकले पछि पारेका छन् । पहिलो दिन नीरज अगाडि थिए ।

निर्वाणा कन्ट्री क्लबको गल्फ कोर्समा बलभद्रले बुधबार ५ अन्डर ६५ स्कोर जोड्दै समग्रमा ६ अन्डर १ सय ३४ स्कोर बनाए । उनले फ्रन्टनाइनमा ३ अन्डर ३३ र ब्याकनाइनमा २ अन्डर ३२ स्कोर बनाए । फ्रन्टनाइनको दोस्रो, पाँचौं, छैटौं र नवौं होलमा बर्डी गरेका उनले चौथो होलमा बोगी खेप्न पुगे । ब्याकनाइनको १७ र १८ औं होलमा बर्डी खेल्दै बलभद्र शीर्षस्थानमा पुग्न सफल भए ।

एमेच्योर नीरज तामाङ १ ओभर ७१ स्कोर जोडे । उनले समग्रमा ५ अन्डर १ सय ३५ स्कोर बनाए । उनलाई धरानकै प्रोटर्न शुक्रबहादुर राईले ३ अन्डर १ सय ३७ स्कोरसाथ पछ्याएका छन् । शुक्रले दोस्रो दिन इभन पार ७० स्कोर जोडे । प्रोतर्फ तेस्रो स्थानमा रहेका शिवराम श्रेष्ठले इभन पार खेल्दै समग्रमा १ ओभर १ सय ४१ स्कोर बनाए ।

कुल ४ ओभर १ सय ४४ स्कोर जोड्दै संयुक्त चौथो स्थानमा शिवकुमार माझी, दिनेश प्रजापति र धनबहादुर थापा छन् भने ५ ओभर १ सय ४५ स्कोरसहित भुवन नगरकोटी र सन्जय लामा संयुक्त सातौं स्थानमा छन् । ६ ओभर १ सय ४६ स्कोर जोड्दै जयराम श्रेष्ठ र दीपक मगर नवौंमा रहँदा एमेच्योरतर्फ नीरजपछि दोस्रो स्थानमा रहेका सुन्दर राईले ७ ओभर १ सय ४७ स्कोर जोडेका छन् ।

कट स्कोर १३ ओभर १ सय ५३ रहेकामा २५ व्यावसायिक र ६ एमेच्योर गल्फरले अन्तिम दिन प्रतिस्पर्धा गर्नेछन् । कट बनाउनेमा प्रोतर्फ विपीन तामाङ, विनोद तामाङ, कृष्णमान राजवाहक, पशुपति शर्मा, टंकबहादुर कार्की, सूर्यप्रसाद शर्मा, रवि खड्का, भुवन रोक्का, रामे मगर, दीपक आचार्य, देवराज पाख्रिन, थामबहादुर राई, संजिवबहादुर नेपाली, भीमसेन चौलागाईं र सुनील केसी छन् । एमेच्योरतर्फ नीरज र सुन्दरसँगै शुक्रराज राई, युवराज भुजेल, जीवन राई र रितेश तामाङले प्रतिस्पर्धा गर्नेछन् ।

कुल पुरस्कार राशि ७ लाख रुपैयाँ रहेको सूर्य नेपाल गल्फ टुर २०१९–२० अन्तर्गत यो दोस्रो प्रतियोगिताको हो । सूर्य नेपाल प्रालिको प्रायोजन तथा नेपाल व्यावसायिक गल्फर्स संघको आयोजनामा जारी प्रतियोगिता विजेताले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले ७५ हजार तथा तेस्रोले ५५ हजार पाउने छन् । शीर्ष २४ प्रो गल्फरले नगद पुरस्कार जित्नेछन् ।

प्रकाशित : माघ ९, २०७६ ०९:०६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×