कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

सातै प्रदेशमा क्षयरोग रेफरल केन्द्र

फातिमा बानु

काठमाडौँ — जटिल क्षयरोगका बिरामीले उपचारका लागि राजधानी धाउन नपरोस् भनेर देशका सातै प्रदेशमा क्षयरोग उपचार रेफरल केन्द्र निर्माण गरिने भएको छ । जटिल क्षयरोगका बिरामीले उपचारका लागि राजधानी धाउनुपर्ने बाध्यता अन्त्य गर्न सरकारले आगामी दुई वर्षभित्र सबै प्रदेशमा रिफरल केन्द्र बनाउन लागेको हो । 

यसै योजनाअनुसार सुदूरपश्चिम प्रदेशमा केन्द्र उद्घाटन भइसकेको छ । त्यहाँ भवन निर्माण भइसकेको भक्तपुरस्थित राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. सागरकुमार राजभण्डारीले बताए । ‘प्रदेश सरकार, गैरसरकारी संस्था र केन्द्रीय सरकारको सहकार्यमा रेफरल केन्द्र बन्नेछन्, यस्ता केन्द्रबाट बिरामीले आवाससहितको उपचार सेवा पाउनेछन्,’ उनले भने ।


यसका लागि केन्द्रले प्रदेशलाई उपकरण दिने, औषधि दिने र आर्थिक सहयोग गर्ने उनले बताए । भक्तपुरको क्षयरोग केन्द्रलाई पनि रेफरल केन्द्र बनाउन एक सय शय्याको अस्पताल निर्माण हुँदै छ । कालीमाटीस्थित नेपाल क्षयरोग निवारण संस्था पनि रेफरल केन्द्रमा परिणत हुने राजभण्डारीले बताए । सरकारले हालसम्म जटिल क्षयरोगका बिरामीलाई होस्टल (डीआरहोम) मा राखेर औषधि खुवाउने र परामर्श दिने गरिरहेको थियो । क्षयरोगको विभिन्न टेस्ट गर्न नि:शुल्क औषधि खानका लागि घरबाट धाइरहन नपरोस् भनेर सरकारले बिरामीलाई होस्टलमा राखेर उपचार गरिरहेको थियो । होस्टल सेवा बन्द गरेर ठूला रेफरल केन्द्रमा परिणत गरिने डा. राजभण्डारीले बताए । ‘बिरामी होस्टलमा राख्दा बिरामीमाथि हुने सामाजिक विभेद झनै बढ्यो,’ उनले भने, ‘होस्टलमा बसेर घर फर्केका बिरामीलाई परिवार र समाजमा स्थापित हुन गाह्रो भयो ।’ रेफरल केन्द्रबाट बिरामीले छातीरोग विशेषज्ञ चिकित्सक सेवा पाउनेछन् ।


तीनवटा प्रदेशमा रेफरल ल्याब

बहुऔषधि प्रतिरोध (एमडीआर) क्षयरोग पहिचानका लागि बिरामीले केन्द्र धाउने समस्या पनि लामो समय रहनेछैन । सरकारले कर्णालीमा सुर्खेतस्थित प्रदेश अस्पताल, प्रदेश १ मा धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, गण्डकीमा पोखरास्थित क्षेत्रीय क्षयरोग केन्द्रमा यस्ता ल्याब निर्माण भइसकेको छ भने सुदूरपश्चिममा निर्माण भइरहेको छ ।


यस्ता ल्याबबाट बिरामीको शरीरमा कतिवटा औषधिको प्रतिरोध छ पत्ता लगाउने व्यवस्था हुने निर्देशक राजभण्डारीले बताए ।


प्रकाशित : माघ ९, २०७६ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?