१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

'सिकारु अधिकृतले मुख्य सडकमा जिप गुडाउँदा दुर्घटना'

नारायण शर्मा

पूर्वी नवलपरासी — पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका कार्यालयका एक शाखा अधिकृतले सरकारी गाडी सिक्ने क्रममा दुर्घटना भएको खुलेको छ । मंगलबार शाखा अधिकृत शिव सुवेदीले गाउँपालिकाको जिप सिक्दा भएको दुर्घटनामा एक नाबालकको ज्यान गएको थियो ।

'सिकारु अधिकृतले मुख्य सडकमा जिप गुडाउँदा दुर्घटना'

सरकारी गाडीको दुरुपयोग गर्दै अधिकृत सुवेदीले ग १ ज ३८९ नम्बरको जिप हुइँक्याउँदा हुप्सेकोट गाउँपालिका वडा नम्बर ४ को एउटा घरको आँगनमा बसेका ४ जनालाई ठक्कर दिएको थियो । दुर्घटनामा स्थानीय ७ वर्षीय दिपु गाहा मगरको मृत्यु भएको थियो । अन्य ३ जना घाइते भएका थिए । घाइते खतरामुक्त छन् । उनीहरुको उपचार भइरहेको छ ।

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नभएका सुवेदी दुर्घटनापछि फरार छन् । जिल्ला ट्राफिक प्रहरी प्रमुख मुनेन्द्र थापाले दुर्घटना गराउने सुवेदी मोबाइल स्विचअफ गरेर फरार रहेको जानकारी दिए । मृतक दिपुका परिवारले सुवेदीलाई हदैसम्मको कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका छन् ।


घटनाको विरोधमा स्थानीयले बुधबार गाउँपालिका कार्यालयमा ताला लगाएका थिए । उनीहरुले फरार सुवेदीलाई तत्काल नियन्त्रणमा लिन माग गरेका थिए । चालक नभएको मौकामा सुवेदीले गाडी चलाएको स्थानीयको भनाइ छ ।


उनले मंगलबार साँझ गाउँपालिकाको मुख्य बजार र मुख्य सडकमा सवारी चलाएका थिए । जिपको ठक्करबाट बुंदीकालीको कुवाकोट घर भई हुप्सेकोट गाउँपालिकाको भूपू सैनिक इंग्लिस बोर्डिङ स्कुलमा अध्ययन गर्ने बालक गाहाको निधन भएको थियो । दुर्घटनामा दिपुकी २७ वर्षीया आमा मीना र छिमेकी ५५ वर्षीय भीमबहादुर लुङ्‌गेली घाइते भएका थिए ।

प्रकाशित : माघ ९, २०७६ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?