सापकोटाको पक्षमा राष्ट्रिय सहमति भइसक्यो, माइतीघरमा दु‌ः ख नगर्नुस् : दाहाल

काठमाडौँ — सभामुख पदका एकल उम्मेदवार अग्निप्रसाद सापकोटाको विषयलाई लिएर आन्दोलन नगर्न नेकपा अध्यक्ष पुष्पकमल दाहालले आग्रह गरेका छन् ।

सापकोटाको पक्षमा राष्ट्रिय सहमति भइसक्यो, माइतीघरमा दु‌ः ख नगर्नुस् : दाहाल

सापकोटाले संघीय संसद प्रतिनिधिसभाको सभामुखमा उम्मेदवारी दर्ता गरेपछि द्वन्द्वकालीन समयमा व्यक्ति हत्याको आरोपी भन्दै विरोध भइरहँदा बुधबार दाहालको उक्त भनाइ आएको हो । दाहालले सभामुखका एकल उम्मेदवार सापकोटाको विषयमा आन्दोलन गरेर दुःख नगर्न आग्रह गरेका हुन् ।


खुमलटारस्थित निवासमा दाहालले सभामुखमा सापकोटालाई प्रतिपक्ष र सत्तापक्षले स्वीकार गरेको बताएका हुन् । 'सिंगो राष्ट्र नै सभामुखका विषयमा एक ठाउँमा उभिएका बेला माइतीघरमा दुःख नगर्न,' उनको आग्रह थियो । ‘हिजोसम्म आइपुग्दा सभामुखको विषयमा सिंगो राष्ट्र एक ठाउँमा उभिइसक्यो । अब साथीहरुले किन दुःख गरेका हुन् जाडोमा,’ दाहालले भने ।


नेकपाले सर्वसम्मत रूपमा सापकोटाको नाम सिफरिस गरेको र प्रतिपक्षी दलहरूले समेत समर्थन गरेको अवस्थामा उक्त विषयमा आन्दोलन आवश्यक नभएको दाहालको भनाइ थियो ।


सापकोटाका विरुद्धमा कुनै मुद्दा नभएको समेत दाहालले बताए । ‘उहाँमाथि केही पनि छैन । बेकारको कुरा हो त्यो । हाम्रो पार्टी त सर्वसम्मत निर्णय गरेर सभामुखमा अग्नि सापकोटालाई अघि सार्‍यौँ । हिजो प्रतिपक्षी र अरु पार्टीले समेत उहाँलाई समर्थन गरिसकेपछि सिंगो राष्ट्र नै एक ठाउँमा भएको बेला माइतिघर मण्डलामा साथीहरूले दुःख नगरे हुन्थ्यो,' उनले भने ।


यसअघि बुधबार दिउँसो मावनअधिकारवादीहरूले अदालतमा मुद्दा चलिरहेको व्यक्तिलाई सभामुख बनाउन लागिएको भन्दै विरोध प्रदर्शन गरेका थिए । ‘हत्या घटनामा अनुसन्धानको क्रममा रहेका व्यक्तिलाई सभामुख नबनाउ, पीडितलाई थप अपहेलित र अपमानित नगर, मानव अधिकार र कानुनी शासनको सम्मान गर’ भन्ने नारासहित माइतिघरमा प्रदर्शन भएका थिए ।


सभामुख निर्वाचनको घोषणा १२ गते हुँदैछ । सापकोटा एकल उम्मेदवार भएकाले उनी सभामुख हुने निश्चित भएको छ । उनलाई द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न रहेको भन्दै प्रहरीमा उजुरी परेको थियो । उक्त मुद्दा सत्य निरुपण आयोगमा रहेको छ भने सर्वोच्च अदालतमा उक्त मुद्दालाई लिएर निवेदन परेको छ । सापकोटाले भने उक्त घटनामा आफ्नो संलग्नता नरहेको बताउँदै आएका छन् ।

प्रकाशित : माघ ८, २०७६ २१:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?