२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

आमाछोरी हत्या गर्नेलाई आजीवन कारावास

उदयपुर — त्रियुगा–९ चौकीबारीमा साढे तीन वर्षअघि आमाछोरीको हत्याका आरोपितलाई जिल्ला अदालत उदयपुरले आजीवन कारावासको फैसला सुनाएको छ । अदालतले पीडितलाई एक लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने फैसलासमेत गरेको छ ।

आमाछोरी हत्या गर्नेलाई आजीवन कारावास

हत्या आरोपमा पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका ४० वर्षीय रामहरि साहलाई आजीवन कारावासको सजाय सुनाइएको हो ।

उनको साथमा फेला परेको सुनको रिङ र मंगलसूत्र पीडितको भएको कसुरदारले स्वीकार गरेकाले पीडित परिवारलाई नै फिर्ता दिन आदेशसमेत दिएको अदालतका स्रेस्तेदार राजकुमार आचार्यले बताए ।


साहले ०७६ असोज २४ गते साँझ २८ वर्षीया गोमा भनिने शारदा चौधरी र उनकी ६ वर्षीया छोरी रचना चौधरीलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको भन्दै अदालतमा मुद्दा दायर भएको थियो । घरमा आमा र छोरी मात्रै बसेको थाहा पाएका साहले हत्या गर्ने योजना बनाएका थिए । उनी एक्लैले आमाछोरीको हत्या गरी फरार भएका थिए । उनलाई प्रहरीले असोज २५ मा मोतिगडाबाट पक्राउ गरेको थियो ।

साहले प्रहरीसँगको बयानमा विगत लामो समयदेखि शारदासँग प्रेम सम्बन्ध रहेको र विवाह अस्वीकार गरेपछि हत्या गरेको स्विकारेका छन् । मृतकसँगको सम्बन्धपछि जेठी पत्नीलाई सिरहा घरमा छोडेर विवाह गर्ने योजनाका साथ मोतिगडामा बस्दै आएका साहले प्रेम सम्बन्ध विवाहमा परिणत नभएपछि हत्या गरेको प्रहरीसमक्ष बयान दिएका थिए ।

आमाको हत्या गरेको छोरीले देखेपछि छोरीलाई पनि हत्या गरेको बयानमा उल्लेख छ । सिरहाको लहान नगरपालिका ८ स्थायी घर भई उदयपुरको त्रियुगा–३ मोतिगडामा साहले व्यापार गर्दै आएका थिए । जिल्ला न्यायाधीश दीपक खनालको एकल इजलासले मंगलबार साहविरुद्ध फैसला सुनाएको हो ।

प्रकाशित : माघ ८, २०७६ २०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?