कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

दिल्लीबाट फर्केका पौडेलले देउवालाई भेट्दै

काठमाडौँ — भारतको नयाँ दिल्लीमा स्वास्थ्य उपचारपछि फर्किएका कांग्रेस नेता रामचन्द्र पौडेलले बुधबार सभापति शेरबहादुर देउवालाई भेट्‌ने भएका छन् ।

पार्टीको आन्तरिक विवाद समाधानको खोजीमा नेता पौडेलले सभापति देउवासँग छलफल गर्न लागेका हुन् । दुई शीर्ष नेताबीच दिउँसो ३ बजे देउवा निवास बुढानिलकण्ठमा छलफल हुने पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए । 

दिल्लीबाट फर्केका पौडेलले देउवालाई भेट्दै

छलफलमा महामन्त्री पूर्णबहादुर खड्का, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला पनि सहभागी हुनेछन् ।

पार्टीमा देखिएको विवाद समाधानका लागि शीर्ष नेताबीच छलफल हुन लागेको प्रवक्ता विश्वप्रकाश शर्माले पुष्टि गरे । ‘नेपाली कांग्रेसको आन्तरिक जीवनमा विवाद भएको सार्वजनिक छँदैछ,’ प्रवक्ता शर्माले इकान्तिपुरसित भने, ‘विवादको हल खोज्न शीर्ष नेताहरुबीच छलफल हुन लागेको हो ।’


देउवाले केन्द्रीय कार्यसमितिको बहुमतबाट १४ औं महाधिवेशनको मिति कार्यतालिकासहित सार्वजनिक गर्ने, महाधिवेशन प्रयोजनार्थ विधानका धारा निलम्बन गर्ने, विभागको संख्या २८ बाट बाढाएर ४७ पुर्‍याउने र भ्रातृसंस्था तरुण दलको म्याद ६ महिना थप्ने निर्णय गरेपछि पौडेल समूह असन्तुष्ट छ । संस्थापनले पार्टीमा चल्दै आएको सहमतीय परम्परा तोडेर पहिलो पटक बहुमतले महाधिवेशनको मिति तय गरेको आरोप पौडेल समूहको छ । पौडेल समूहले २६ मंसिरपछिका केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गर्दै आएको छ ।


देउवा बहुमतबाट निर्णय गरेर अघि बढ्न खोजेपछि पौडेलले आफू निकटका जिल्ला सभापतिहरुलाई काठमाडौं बोलाएर पुस २१ गतेदेखि तीन दिनसम्म परामर्श गरेका थिए । जिल्ला सभापतिहरुको भेलाबाट महाधिवेशनको मिति सहमतिमा तोक्न देउवालाई लिखित सुझाव दिइएको थियो ।

महाधिवेशनको मिति यथावत राखी अन्य निर्णय सच्याउन आफू तयार भएको देउवाले पुस २७ गते पौडेललाई बताएका थिए ।

प्रकाशित : माघ ८, २०७६ १२:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?