कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

सभामुख निर्वाचन : सापकोटालाई राजपाको समर्थन, कांग्रेसमा पौडेल पक्ष असन्तुष्ट

ऋषिराम पौड्याल

काठमाडौँ — प्रतिनिधिसभाको सभामुख पदका लागि सत्तारूढ नेकपाका स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाको मात्र मनोनयन दर्ता भएको छ । प्रतिनिधिसभामा बहुमत रहेको नेकपाबाट एक जनाको मात्र मनोनयन दर्ता भएकाले सापकोटा सभामुखमा निर्विरोध निर्वाचित हुने निश्चित भएको छ ।

सभामुख निर्वाचन : सापकोटालाई राजपाको समर्थन, कांग्रेसमा पौडेल पक्ष असन्तुष्ट

सापकोटाले मंगलबार मध्याह्न संसद् भवन बानेश्वरमा गएर नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङ, सोही पार्टीकी सांसद ओनसरी घर्तीमगर एवं राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का प्रमुख सचेतक लक्ष्मणलाल कर्णको प्रस्तावमा मनोनयन दर्ता गराएका हुन् । संसद् सचिवालयले सभामुखको अन्तिम नामावली प्रकाशित गरिसकेको छ । उनलाई नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले समर्थन गरेका छन् । संसद् सचिवालयका अनुसार सभामुख चयनको औपचारिक प्रक्रियाका लागि प्रतिनिधिसभामा आगामी १२ गते निर्वाचन गरिनेछ । सभामुख पदमा मनोनयन दर्ता गरेपछि सापकोटाले जनताद्वारा निर्वाचित सर्वोच्च संस्था संसद्को मूल्यमान्यता र मर्यादा बढाउन क्रियाशील रहने बताए । सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै सापकोटाले सार्वभौम संस्थाको ओज बढाउन आफूले सक्दो प्रयास गर्ने बताए । ‘अरू कुरा १२ गते निर्वाचित भएपछि गरौंला,’ उनले भने ।


नेकपाको आन्तरिक खिचातानीका कारण सभामुखको उम्मेदवार तोक्न नसक्दा एक महिनादेखि पटक–पटक स्थागित हुँदै आएको प्रतिनिधिसभाको बैठक सोमबार फेरि सुरु भएको हो । तत्कालीन सभामुख कृष्णबहादुर महराले गत असोजमा राजीनामा दिएपछि प्रतिनिधिसभा चार महिनादेखि नेतृत्वविहीन छ । महरामाथि संसद् सचिवालयकी कर्मचारीमाथि बलात्कार गरेको अभियोग लागेपछि उनले राजीनामा दिएका थिए । महरालाई अहिले जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा राखेको छ । नेकपा स्थायी समिति बैठकले सभामुखको उम्मेदवार तय गरेपछि उपसभामुख शिवमाया तुम्बाहाङ्फेले मंगलबार प्रतिनिधिसभामा राजीनामाको घोषणा गरेकी थिइन् ।


सभामुखका उम्मेदवार सापकोटाको समर्थकमा राजपाका नेता कर्णले हस्ताक्षर गरेकाले यसले नयाँ राजनीतिक सन्देश दिएको छ । समाजवादीले सरकार छाड्ने निर्णय गरेपछि नेकपासँग नजिक देखिएको राजपालाई उपसभामुख दिने गरी सभामुखमा समर्थन गर्न लगाएको अनुमान गरिएको छ ।

नेता कर्णले भने त्यस्तो कुनै समझदारी नभएको बताए । उनले सिंहदरबारस्थित आफ्नै संसदीय दलको कार्यालयमा मंगलबार संक्षिप्त कुरा गर्दै अहिलेसम्म कुनै समझदारी भएको जानकारी आफूले नपाएको बताए । संसदीय दलको नेताले नेकपाले सभामुखमा समर्थन मागेको जानकारी आफूलाई गराएको उनले बताए । राजपा संसदीय दलका नेताले समर्थक बस्नु भन्ने निर्देशन दिएकाले सोहीअनुसार गरेको उनले बताए । बिहीबार प्रदेश २ मा हुने राष्ट्रिय सभाको निर्वाचनमा नेकपा र राजपाले तालमेल गरेका छन् ।


पौडेल पक्ष असन्तुष्ट

सभामुख पदमा उम्मेदवार नदिने संसदीय दलको निर्णयप्रति कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले असन्तुष्टि जनाएको छ । असन्तुष्ट नेताहरूले पार्टीबाट उम्मेदवारी नपर्नुका पछि सभापति शेरबहादुर देउवाको सत्तारूढ दलसँग संवैधानिक निकायहरूमा भइरहेको ‘बार्गेनिङ’ लाई मुख्य कारण मानेका छन् ।


उम्मेदवार दिने कि नदिने भन्ने निर्णय लिनुअघि वरिष्ठ नेता पौडेल नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गर्न उनकै निवास खुमलटार पुगेका थिए । करिब एक घण्टा भएको कुराकानीका क्रममा पौडेलले उपसभामुखमा प्रतिपक्षलाई सहयोग गरेर सहमति र सहकार्यका साथ अघि बढ्न आग्रह गरेका थिए । तर, दाहालबाट सकारात्मक जवाफ आएन । खुमलटारबाट बाहिरिनासाथ पौडेललाई सभापति शेरबहादुर देउवाको फोन आएको थियो ।


उपसभामुख प्रतिपक्षलाई दिन नेकपा सकारात्मक नभएको सन्देशसहित पौडेलले सभामुखमै उम्मेदवारी दिनुपर्ने आफ्नो निष्कर्ष सुनाएका थिए । देउवा भने संसदीय दलको बैठकअघि नै उम्मेदवार नबनाउने निष्कर्षमा पुगेका थिए । कांग्रेस संसदीय दलको बैठकले सभामुखमा उम्मेदवारी नदिनुमा दुइटा कारण उल्लेख गरेको छ । पहिलो, सत्तारूढ दलसँग यथेष्ट बहुमत छ । दोस्रो, सभामुख तटस्थ रहनुपर्ने पद हो । यसअघि कृष्णबहादुर महरालाई सभामुखमा अघि सार्दा पनि कांग्रेसले उम्मेदवारी दिएको थिएन । शिवमाया तुम्बाहाङ्फे उपसभामुखमा उम्मेदवार बन्दा भने कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले प्रतिस्पर्धा गरेकी थिइन् ।


उपसभामुख कांग्रेसलाई नदिने भए सभामुखमै उम्मेदवारी दिनुपर्ने मत पार्टीभित्र प्रबल थियो । नेकपाले भने उपसभामुख राजपालाई दिने छनक दिइसकेको छ । राजपा नेकपाबाट अघि सारिएका उम्मेदवार अग्नि सापकोटाको समर्थक बसेको छ । नेकपाका संसदीय दल उपनेता सुवास नेम्वाङ प्रस्तावक, नेकपाका प्रमुख सचेतक देव गुरुङ, ओनसरी घर्तीमगर र राजपा सांसद लक्ष्मणलाल कर्ण समर्थनमा सापकोटाको उम्मेदवारी परेको हो ।

प्रकाशित : माघ ८, २०७६ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?