२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

उपसभामुखको आशमा सभामुखमा उम्मेदवारी दिएन कांग्रेसले

काठमाडौँ — प्रतिपक्षी नेपाली कांग्रेसले संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको रिक्त सभामुखमा उम्मेदवारी दर्ता गरेन । मंगलबार बिहान बसेको कांग्रेस संसदीय दल कार्यसमिति बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गर्‍यो । 

उपसभामुखको आशमा सभामुखमा उम्मेदवारी दिएन कांग्रेसले

कांग्रेसले सभामुखमा उम्मेदवारी नदिनुमा दुई कारण देखाएको छ । पहिलो सत्तारुढ दल नेकपाको संसदमा स्पष्ट बहुमत, दोस्रो सभामुखमा उम्मेदवारी दिए उपसभामुख पाउने सम्भावना सकिन्छ ।

बैठकमा सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षीले उपसभामुख पाउनु पर्छ भन्ने ठाउँ राख्न सभामुखमा उम्मेदवारी दिन नहुने बताएका थिए । देउवाको भनाइमा अन्य नेताहरु कन्भिन्स भएपछि उम्मेदवारी नदिने निष्कर्ष बैठकले निकालेको हो ।

कांग्रेस सचेतक पुष्पा भुसालले बैठकमा छलफल हुँदा सभामुख ‘न्यूट्रल पोष्ट’ र सत्तारुढ दलको स्पष्ट बहुमत रहेकाले नदिने निष्कर्षमा पुगिएको बताइन् । ‘सत्तारुढ दलको बहुमत रहेको, सभामुख ‘न्यूट्रल र गरिमामय पद’ भएकाले नदिने निष्कर्ष छलफलबाट निकाल्यौं,’ भुसालले भनिन् ।

सभामुखमा सापकोटालाई निर्विरोध बनाउन नेकपा अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस सभापति तथा संसदीय दलका नेता देउवा र नेता रामचन्द्र पौडेलसँग कुराकानी गरेका थिए । दाहालले सभापति देउवालाई आइतबार बालुवाटारमा र नेता पौडेललाई मंगलबार बिहान आफ्नै निवास खुमलटारमा बोलाएर छलफल गरेका थिए ।

देउवा निकट एक नेताका अनुसार दाहालले अघिल्लोपटक कृष्णबहादुर महरालाईजस्तै सापकोटालाई पनि निर्विरोध बनाउन सहयोग गर्न देउवा र पौडेललाई आग्रह गरेका थिए । ‘दाहालले सहयोग गर्न आग्रह गरेको, अर्कोतर्फ नेकपाको स्पष्ट बहुमत संसदमा रहेको तथा उम्मेदवारी दिएपछि उपसभामुखमा पाउने सम्भावना पनि सकिने देखिएपछि उम्मेदवारी नदिने निष्कर्षमा पुग्यौं,’ ती नेताले भने ।

कांग्रेसले उपसभामुखमा आफ्नो दाबी कायम राख्नका लागि सभामुख सत्तारुढलाई सहजै छोडिदिएको हो । भुसाल भन्छिन्, ‘संसदीय व्यवस्थामा सभामुख रुलिङ पार्टीले लिएर उपसभामुख प्रमुख प्रतिपक्षीलाई दिएमा राम्रोसँग चलाउन सकिन्छ भन्ने पहिलादेखि नै कांग्रेसले धारणा राख्दै आएको हो । अहिलेपनि प्रमुख प्रतिपक्षीलाई उपसभामुख दिनु पर्छ भन्ने हाम्रो भनाइ कायमै छ ।’

संविधानमा सभामुख र उपसभामुख एउटै पार्टी र लिंगको हुन नपाउने स्पष्ट व्यवस्था छ । सभामुखमा नेकपा सांसद अग्नि सापकोटाको एकल उम्मेदवारी परेकाले उपसभामुख छोड्नै पर्ने बाध्यता छ । नेकपाको उपसभामुख नहुने भएपछि आफूहरुको दाबी स्वभाविक भएको कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले बताए । ‘एउटै दलको सभामुख र उपसभामुख हुन नपाउने भनेर संविधानमा स्पष्ट लेखिएको छ, सभामुखमा नेकपाले दिएको उम्मेदवारीमा हामी तटस्थ बस्यौं,’ पाण्डेले भने, ‘उपसभामुख नेकपाले हामीलाई दिनुपर्छ भन्ने कांग्रेसको भनाइ पहिला पनि थियो, अहिले पनि छ ।’

तर, सापकोटाले सभामुखमा उम्मेदवारी दर्ता गर्दा राजपा प्रमुख सचेतक लक्ष्मणलाल कर्ण समर्थक बसेकाले कतै नेकपाले राजपासँग उपसभामुख दिने सहमति त गरेको छैन् भन्ने शंकामा कांग्रेस नेताहरु छन् । बिहीबार हुने राष्ट्रियसभा निर्वाचनमा प्रदेश २ मा नेकपा र राजपा तालमेल गरेकाले उपसभामुखको विषयमा पनि त्यही बेला गोप्य सहमति भएको त होइन भन्ने आशंका कांग्रेस नेताहरुको छ ।

सचेतक भुसालले उपसभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक भएपछि मात्रै यस विषयमा अन्य दलहरुसँग छलफल हुने बताइन् । ‘अहिले उपसभामुखको निर्वाचन कार्यतालिका आएको छैन, आएपछि कसरी अगाडि बढ्ने, कुन-कुन दलसँग सहयोग माग्ने भन्ने विषयमा छलफल हुन्छ,’ भुसालले भनिन् ।

प्रकाशित : माघ ७, २०७६ १८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?