३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

सभामुखमा अग्निको मात्रै उम्मेदवारी

काठमाडौँ — संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको सभामुख पदमा नेकपाका नेता अग्निप्रसाद सापकोटाको मात्रै उम्मेदवारी परेको संसद सचिवालयले जानकारी दिएको छ । सापकोटालाई सभामुखमा निर्वाचित गराउनका लागि संविधानसभा अध्यक्षसमेत रहेका नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ रहेका छन् ।

सभामुखमा अग्निको मात्रै उम्मेदवारी

उनको समर्थनमा नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, पूर्वसभामुख ओनसरी घर्ती र राजपा नेता लक्ष्मणलाल कर्ण रहेका छन् ।

सापकोटाको विरुद्धमा कुनै उम्मेदवारी नपरेपछि उनी निर्विरोध सभामुख बन्ने पक्का भएको छ । उनी सभामुख भएको घोषणा १२ गते बस्ने प्रतिनिधिसभा बैठकमा हुनेछ ।

सभामुखमा उम्मेदवारी दर्ताका लागि संसद सचिवालयले मंगलबार ११ बजेदेखि २ बजेसम्मको समय निर्धारण गरेको थियो । उक्त समयमा सापकोटाको मात्रै उम्मेदवारी परेको संसद सचिवालयले जानकारी दिएको छ ।

कृष्णबहादुर महराले संसद सचिवालयमा कार्यरत महिलामाथि बलात्कार प्रयासको आरोप लागेपछि सभामुखबाट असोजमा राजीनामा गरेका थिए । सोमबार उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पनि राजीनामा गरेपछि नेकपाले सभामुखमा उम्मेदवारी दिएको हो ।

सभामुखमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेको थियो । सभामुख पद निष्पक्ष हुने भएकाले र संसदमा नेकपाको एकल बहुमत भएकाले उम्मेदवारी नदिने कांग्रेस कार्यसमितिको मंगलबार बसेको बैठकको निर्णय थियो

१२ गते सभामुख निर्वाचित भएको घोषणापछि रिक्त रहेको उपसभामुख पदको निर्वाचन कार्यतालिका अगाडि बढ्नेछ ।

सम्बन्धित समाचारः

प्रकाशित : माघ ७, २०७६ १६:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?