पारामिताको दुखेसो– ‘घरबाट निस्कनै डर लाग्छ’

काठमाडौँ — गत मंसिर २८ गते बूढानिलकण्ठमा बा१४च ६१२३ कारले ठक्कर दिँदा ४२ वर्षीया लीला देवकोटाको ज्यान गयो । अनुसन्धानपछि खुल्यो, चालक पृथ्वी मल्लले मादक पदार्थ सेवन गरेका थिए । सोही कारमा सवार अन्य तीनमध्ये एक थिइन्, अभिनेत्री पारामिता राज्यलक्ष्मी राणा । तर उनको नाम गोप्य राखिएको थियो ।

पारामिताको दुखेसो– ‘घरबाट निस्कनै डर लाग्छ’

आधिकारिक पुष्टि भएको थिएन । सो प्रकरणमा उनलाई मुछेर सामाजिक सञ्जालमा आलोचना भने भइरहेको थियो । पुस २३ गते उनले फेसबुकमार्फत आफू कारमा रहेको स्वीकार गरिन् । आफूहरुको मुर्खतापूर्ण निर्णयले निर्दोषको ज्यान गएको भन्दै माफी मागिन् ।

यो प्रष्टोक्तिले आफूप्रति नरमभाव पैदा हुने अपेक्षा थियो उनको । तर यत्तिका दिन किन नबोलेको भन्दै उल्टै गाली बर्सियो । उनलाई कारवाहीको भागिदार बनाउनुपर्ने माग उठ्न थाल्यो । एउटा वयस्क सेलेब्रिटी चालकले मादकपदार्थ सेवन गरेको थाहा पाउँदा–पाउँदै कारमा चढ्नु पक्कै असंवेदनशिलता थियो । यसले उनको विश्वसनीयता खलल पुग्नेमा सन्देह छैन तर कानुनी व्यवस्था के छ ?

अधिवक्ता सुवास आचार्यका अनुसार रक्सीले मातेको चालकले गाडी चलाउँदा कसैको ज्यान गयो भने चालक मात्र दोषी ठहरिन्छ । ‘सवार यात्रुमाथि नैतिक प्रश्न त उठ्छ, तर दण्ड गर्ने कानुनी व्यवस्था छैन । यात्रुको अपराध मान्न सकिन्न,’ आचार्यले भने ।

पारामिताचाहिँ यो घटनापछि आफू ‘साइबर बुलिङ’को सिकार भएको दुखेसो गर्छिन् । माघ १७ गते आफू अभिनीत फिल्म ‘कर्मा’ प्रदर्शन हुँदै गर्दा खुलेर प्रमोसनमा हिँड्न नसकेकोमा चिन्ता छ उनलाई ।

घटना कसरी भयो ? त्यसपछिको परिस्थिती कसरी सामना गर्दैछिन् ?

...

पारामितालाई ‘दुर्घटना’ शब्दसँगै घृणा छ । सानैमा कार दुर्घटनामा बुबा गुमाइन् । बुबाको माया कस्तो हुन्छ, थाहै छैन ।

अहिले बुढानिलकण्ठ दुर्घटनामा मुछिएपछि थप विक्षिप्त बनेकी छन् । उनलाई लाग्छ, सानो लापरवाहीले ठूलो रापमा धकेलिदियो । आइतबार अनामनगरमा भेट्दा पारामिता केहि ‘नर्भस’ र डराएझैं लाग्थ्यो । घरी मनोबल दरो बनाएर बोल्थिन, घरी बोल्दा–बोल्दै रोकिन्थिन् । कुराकानीको सुरुवातमै उनले भनिन्, ‘मलाई घरबाट निस्कनै डर लाग्छ । फेसबुक र इन्स्टाग्राममा ‘मार्छु’ भनेर धम्की आइरहेको हुन्छ ।’

मंसिर २७ गतेको रात पारामिताले क्लबमा बिताइन् । बिहान क्लब बन्द हुने बेला भयो । भोक लागिरहेको थियो । सँगै क्लब गएको साथीले भन्यो– खाजा खान जाउँ । उनले ‘हुन्छ’ भनिन् । त्यसपछि त्यही क्लबमा दोस्रोपटक भेटेको पृथ्वी मल्ल (चालक) र अन्य दुईसहित शिवपुरी गइन् । क्लबमा रातभर नाचेकोले थाकेकी थिइन् । त्यसैले शिवपुरीबाट फर्कंदा कारमै निदाइन् ।

पृथ्वीले खुट्टै टेक्न नसक्ने गरी मातेको हल्ला सत्य नभएको दाबी गर्ने पारामितलाले त्यही कारणले आफू गाडीमा सवार भएको बताइन् । ‘अरुले पनि रक्सी पिएर गाडी चलाउँदै सकुशल घर पुगेको देखेकी छु । त्यसैले त्यो दिन कार चढें । अहिले सम्झदा लाग्छ, त्यो ठूलो ‘भूल’ थियो,’ उनले ग्लानीयुक्त भावमा भनिन्, ‘त्यसो गर्दा आफू त जोखिममा परिन्छ नै, अरुको जीवन पनि बर्बाद हुँदोरहेछ ।’

एक्कासी आवाज आयो, ‘ढ्याम्म’ । उनी अत्तालिदै बिउझिन् । गाडीभित्रै थरर् काँपिरहेकी थिइन्, साथीले तानेर बाहिर निकाल्यो । कार हेरिन्, पुरै कच्याककुचुक । उनलाई भने केहि भएको थिएन ।

‘मेरो दिमाग चलेकै थिएन, वरपर दुई बाइक ढलेको देखें । त्यहाँ जानै सकिनँ, मान्छेले हेरिरहेका थिए, कसैले कसैलाई बोलाएका थिएनन्,’ त्यो पल सम्झदै उनले भनिन् । त्यहीबेला साथीले ‘तिमी यहाँबाट जाउ’ भनेको याद छ उनलाई ।

बल्लतल्ल बाटो काटिन् र दाइ नाता पर्नेलाई फोन गरिन् । रिसिभ भएन । पसल छेवैमा बसिरहिन् । के भयो, कसो गर्ने, सोच्नै सकिरहेको थिइनन् उनी । कसैले सोध्यो, ‘तपाईं गाडी भित्र हुनुहुन्थ्यो हैन ?’ उनले सहमतिमा मुन्टो हल्लाइन् । ‘हैन पनि त भन्न सक्थें । कुरै सकिन्थ्यो । तर मैले ढाटिनँ,’ उनले भनिन् । त्यसपछि अरु स्थानीय पनि नजिक आए । अनेकथरी सोध्न थाले । बोल्नै सकिनन् र सडक छेउ बसेर रोइन् ।

एकछिनपछि एउटा मान्छे बाइकमा उनी नजिकै आयो । उनका बारे सोध्यो । भन्छिन, ‘मलाई त्यो मान्छे सिभिल ड्रेसको प्रहरीजस्तो लाग्यो । त्यही भएर सबै कुरा भनें । प्रहरी कहाँ जान तयार भएँ । तर त्यो मान्छे प्रहरी होइन रहेछ ।’

बरु उसले भनेछ, ‘तपाईंलाई यहाँ सुरक्षा हुन्न, स्थानीयले हातपात गर्न सक्छन्, यहाँबाट निस्किहाल्नुस ।’

त्यतिबेला उनलाई ज्यान प्यारो भयो । मरिएला भन्ने डरले त्यो मान्छेसँग गएको बताउँछिन् । ‘फिल्म क्षेत्रकै कतिपय सेलेब्रिटीले त्यहाँ मैले सहयोग गरिनँ भनेर गाली गरे । तर त्यसरी आघात भएको बेला केहि गर्नै नसकिने रहेछ,’ उनले अगाडि थपिन्, ‘मानवीय स्वभाव हो यो । तर नबुझि मलाई नराम्रो भनियो ।’

पारामिताका अनुसार सुरुमा उनलाई कारले बाइकलाई हानेको जस्तो लागेको थियो । भन्छिन्, ‘सडकपेटीमा हिँडिरहेकी महिलालाई गाडीले हान्यो र उहाँको ज्यान गयो भनेर चार दिनपछि मात्र थाहा पाएँ ।’ भलै उनको यो अभिव्यक्ति उति पत्यारिलो लाग्दैन ।

घटनाको पर्सिपल्ट उनको च्यारिटी फेसन शो थियो । ‘मन अत्तालिरहेको थियो, ‘वाक’ गर्ने आँटै थिएन । तर जानै पर्नेस्थिति आयो । मन नलागे पनि गएँ,’ पारामिता भन्छिन्, ‘त्यो मेरो बाध्यता र व्यावसायिकता थियो । तर त्यसपछि मान्छेहरु झन् रिसाउन थाले ।’

...

१९ वर्षको उमेरदेखि नै ‘डिप्रेसन’को सिकार उनको हातभरी ‘कट् मार्क्स’ छन् । पारामिताको दाबीलाई मान्ने हो भने त्यही डिप्रेसनलाई कम गर्ने सहज उपाय उनका लागि ‘लाउड म्यूजिक’ र ‘क्राउड’ भइदियो । ‘जब मन अत्तालिन्छ, चारैतिर अन्धकार भएझैं लाग्छ । तब क्लब जान्थें,’ उनले भनिन्, ‘ठूलो म्युजिक र रमझम उकुसमुकुसबाट फुत्कने बहाना बनेको थियो ।’

उनलाई लाग्छ मान्छेहरुले यही स्वभावलाई उनको जीवनशैली र आचरणसँग दाँजेर आफ्नो बारेमा धारणा बनाए । ‘मान्छेहरु पीडा बुझ्दैनन्, कति पार्टी जान्छे, धनीको छोरी हो, मोज गरेर पैसा उडाउँछे भन्छन्,’ उनले भनिन्, ‘मेरो मनभित्रको पीडा मसँगै छ ।’

उनी उक्त दुर्घटनाले आफूलाई जीवनभरको पाठ सिकाएको बताउँछिन् ।

‘डिप्रेसन भएको व्यक्तिले यो किसिमको आकस्मिक घटनाका कारण थप आज्ञात महसुस गर्दोरहेछ । सम्हाल्नलाई गाह्रो हुँदोरहेछ,’ उनले भनिन्, ‘पाइला–पाइलामा डर लाग्छ । दिमागमा नकारात्मक कुरा ज्यादा खेल्छ ।’

मानसिक समस्याबाट गुज्रिरहेका पीडितलाई आशा जगाउन बेलाबखत बोल्दै आएकी उनलाई यसपटक आफैं संकट पर्‍यो । ‘माफी माग्दै स्ट्याट्स पोस्ट गरें । तर मान्छेले बुझेनन् । उल्टै मलाई गाली गरे,’ उनले दुखेसो गरिन्, ‘अहिलेसम्म अरुको नजरमा मै दोषी छु । जबकी मैले कार चलाएकै होइन । यात्रु मात्र हुँ ।’

सामाजिक सञ्जालमा एकोहारो धम्की र गालीको वर्षा भएपछि आत्महत्याको विचार मनमा आएको बताउने पारामिता अहिले थेरापीमा जान थालेकी छन् ।

उनले दृढताका साथ सुनाइन्, ‘यो घटनाले मलाई बलियो पनि बनाएको छ । यस्ता अवरोधले म रोकिन्न, सपना ठूलो छ मेरो ।’

सडक दर्घटना रोकथामका लागि जनचेतनामुलक अभियानमा सक्रिय हुने योजना पनि छ उनको ।

यो पनि पढ्नुहोस्ः

पारामिताले फेसबुकमा माफी माग्दै भनिन्- 'कार चालकले मादक पदार्थ सेवन गरेका थिए'

प्रकाशित : माघ ७, २०७६ १४:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?