१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

नेपाल-भारत सम्बन्धका हिसाबले आगामी दशक स्वर्णीम हुनेछ : भारतीय प्रधानमन्त्री मोदी

नयाँदिल्ली — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी दशक नेपाल–भारत सम्बन्धका लागि स्वर्णीम दशक हुने विश्वास व्यक्त गरेका छन् । भारतीय सहयोगमा निर्मित विराटनगरस्थित एकीकृत जाँच चौकी (आईसीपी) र २०७२ सालको भूकम्पमा परेर भत्केका घरहरुको पुनर्निर्माण परियोजनाको उद्घाटनपछि मोदीले त्यस्तो धारणा राखेका हुन् ।

नेपाल-भारत सम्बन्धका हिसाबले आगामी दशक स्वर्णीम हुनेछ : भारतीय प्रधानमन्त्री मोदी

‘नयाँ वर्षको सुरुआतसँगै दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने र आगामी दशक नेपाल–भारत सम्बन्धका लागि स्वर्णीम दशक हुने विश्वास छ,’ मोदीले भने । उनले पछिल्लो वर्षहरुमा नेपाल र भारतबीचको सम्बन्ध अभूतपूर्व प्रगति देख्न पाइएको छ र दुई देशबीचको साझेदारी तीव्र हिसाबले अघि बढिरहेको छ साथै विभिन्न नयाँ क्षेत्रहरुमा समेत सहयोग सुरु भएको समेत बताए ।


मंगलबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली र उनका समकक्षी नरेन्द्र मोदीले भिडियो कन्फरेन्समार्फत संयुक्त रुपमा ती दुई परियोजनाको उद्घाटन गरेका हुन् । प्रधानमन्त्री ओलीले बालुवाटारस्थित निवासबाट र मोदीले नयाँदिल्लीस्थित हैदरावाद हाउसको आफ्नो कार्यालयबाट एकैपटक स्विच थिचेर ती परियोजना उद्घाटन गरे । विराटनगरको जोगबनीस्थित आईसीपी र गोरखा तथा नुवाकोटको करिब ५० हजारको निजी घरको पुनर्निर्माणको ‘निजी आवास पुनर्निर्माण परियोजना’ दुवै परियोजनामा भारतीय सहयोगमा सम्पन्न भएको हो ।



सम्बोधनका क्रममा मोदीले पछिल्लो पाँच महिनामा दोस्रो पटक दुई देशबीचको द्विपक्षीय परियोजनाको उद्घाटन हुनु नेपाल र भारत समबन्धको विस्तार तथा तीव्र विकासको प्रतीक भएको समेत बताए । साथै उनले नेपालको चौतर्फी विकासका लागि नेपालको प्राथमिकताका हिसाबले भारतले एउटा विश्वसनीय साझेदारको भूमिका समेत निभाउँदै आएको समेत बताए । ‘मेरो सरकारको नेबरहुड फस्ट (छिमेक पहिले) प्राथमिकता रहँदै आएको छ । र, क्रसबोर्डर सञ्जाललाई बढाउनु उक्त नीतिको प्रमुख उद्देश्य हो । राम्रो कनेक्टिभिटी नेपाल र भारतबीचमा अझ बढी महत्व राख्ने छ,’ उनले भने । ‘नेपाल र भारतबीचको सम्म्बन्ध केवल छिमेकीको मात्र नभएर इतिहास, भूगोल, प्रकृति, भाषा, संस्कृति, प्रगतिलगायत कैयन धागाहरुले जोडेको हुँदा दुवै देशबीच राम्रो कनेक्टिभिटीले हाम्रो जीवनलाई अझ नजिक ल्याउँछ र मनलाई जोड्न नयाँ बाटाहरु समेत खोल्छ,’ मोदीले भने ।


कनेक्टिभिटीले कुनै एउटा देशको भन्दा पनि पुरै क्षेत्रको विकासका लागि उत्प्रेरकको काम गर्ने मोदीले बताए ।


‘छिमेक पहिले’ नीतिअन्तर्गत सबै छिमेकी मुलुकहरुसँगको आवागमनलाई सहज बनाउन र व्यापार, संस्कृति, शिक्षालगायतका सबै क्षेत्रमा सम्पर्कलाई थप सुगम बनाउन पनि भारत प्रतिबद्ध रहेको समेत मोदीले जनाए । ‘भारत र नेपालबीच रेल, सडक र प्रसारण लाइनलगायतका कैयन कनेक्टिभिटी परियोजनाहरुमा काम भइरहेका छन् । दुई देशबीच सीमाका प्रमुख नाकाहरुमा आईसीपीको निर्माणले व्यापार र आवागमनलाई निकै सहज बनाएको छ,’ मोदीले भने ।



त्यसैगरी उनले २०७२ सालको भूकम्प एक पीडादायी घटना भएको र उक्त घटनाको नेपालीहरुले दृढता र साहसपूर्ण सामना गरेको भन्दै खुशी व्यक्त गरे । सुरुदेखि नै भारतले भूकम्पपछिको पुनर्निर्माणमा सहयोगी भूमिका निभाएको समेत मोदीले स्मरण गरे । ‘नेपाल र भारत सहयोगअन्तर्गत हाल ४५ हजार घरको पुनर्निर्माण सम्पन्न भइसकेको र बाँकी पाँच हजार घरको पुर्ननिर्माण पनि चाँडै सकिने आशा छ,’ मोदीले भने । यी घरहरु चाँडै नै नेपालीहरुलाई हस्ताक्षर गरिने समेत उनले बताए ।


त्यसैगरी भारतीय प्रधानमन्त्री मोदीले यो वर्ष (सन् २०२०) मा नेपाल जाने समेत बताएका छन् । ‘प्रधानमन्त्री ओलीले दिनु भएको निम्तोका लागि धन्यवाद दिन चाहन्छु । र, यो वर्ष जसरी भए पनि मिलाएर नेपाल आउँछु’, मोदीले भने । गत जेठमा दोस्रो पटक प्रधानमन्त्री बनेयता मोदीले भुटान, माल्दिभ्सलगायतका छिमेकको भ्रमण गरिसके पनि नेपाल भने गएका छैनन् ।

प्रकाशित : माघ ७, २०७६ १३:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?