२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

दामनबाट उद्धार गरिएका ८ भारतीयको मृत्यु, मृतकमध्ये ४ नाबालक

प्रताप विष्ट

हेटौंडा — मकवानपुरको  थाहा नगरपालिका, सिमभञ्ज्याङमा रहेको पानोरमा रिसोर्टमा अचेत अवस्थामा भेटिएका ८ भारतीय नागरिकको उपचारको क्रममा काठमाडौंको ह्याम्स अस्पतालमा मृत्यु भएको छ । बिहान अचेत अवस्थामा भेटिएपछि हेलिकप्टरबाट उद्धार गरी  काठमाडौं पुर्‍याइए पनि उनीहरुलाई अस्पतालले मृत घोषित गरेको छ ।

दामनबाट उद्धार गरिएका ८ भारतीयको मृत्यु, मृतकमध्ये ४ नाबालक

दुई कोठा लिएर रिसोर्टमा बसेका भारतका केरालाका ३८ वर्षीय प्रविणकृष्ण नारायण, ३५ वर्षीया शारण्‍य शशी, ३४ वर्षीय रञ्जितकुमार एपी र इन्द्र लक्ष्मी, ९ वर्षीया श्री भद्र, सात वर्षीया आर्चा प्रविण, ५ वर्षीय अभिन शौरणय नायर, २ वर्षीय बैष्णव रञ्जित मंगलबार बिहान बेहोस अवस्थामा फेला परेका थिए ।


जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी सुशीलसिंह राठौरले अचेत रहेका उनीहरुको निधन भएको जानकारी दिए । दामनमा अत्याधिक चिसो रहेको र कोठा तातो बनाउनका लागि ग्यास हिटर बालेका कारण निसासिएर उनीहरुको मृत्यु भएको आशंका प्रहरीले गरेको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले दिएको जानकारी अनुसार उनीहरु सोमबार राति करिब १० बजे होटलमा पुगेका थिए । उनीहरु १५ जनाको टोली बनाएर भारतको केरलाबाट घुम्नका लागि नेपाल आएका थिए । उनीहरु बा.३ क ३७८८ नम्बरको बसमा थाहानगर क्षेत्रमा पुगेका थिए ।

‘केरलाबाट घुम्नका लागि छरछिमेकीहरु आएका रहेछन् । उनीहरुसँगै आएको अन्य सात जना भने बसबाट काठमाडौं गएका छन्,’ प्रजिअ भट्टले भने ।

प्रकाशित : माघ ७, २०७६ १२:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?