कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

पार्टीको केन्द्रीय भवन बनाउन समाजवादीले यसरी जुटाउँदै छ ५ करोड

बबिता शर्मा

काठमाडौँ — समाजवादी पार्टीले पाँच करोड रुपैयाँ संकलन गरेर पार्टी कार्यालय बनाउने भएको छ । समाजवादी पार्टी केन्द्रीय कार्यकारिणी समितिको मंसीर २६ गते बसेको बैठकले भवन निर्माणका लागि रकम संकलनको विधिसमेत बनाएको छ ।

पार्टीको केन्द्रीय भवन बनाउन समाजवादीले यसरी जुटाउँदै छ ५ करोड

‘हामीसँग जग्गा छ, आन्तरिक स्रोत जुटाएर भवन बनाउने निर्णय गरेका छौँ,’ पार्टी उपमहासचिव तथा कार्यालय प्रमुख प्रकाश अधिकारीले भने । उनका अनुसार ललितपुरको महालक्ष्मीस्थानमा भवन निर्माणको लागि पार्टीसँग जग्गा छ ।


प्रदेशको श्रोत र सम्भावनाहरु, पार्टी समितिहरु, पार्टीका सदस्यहरुको संख्या तथा प्रदेशसभामा प्रतिनिधित्वको अवस्था समेतलाई ध्यानमा राखेर न्यूनतम दायित्व प्रत्येक प्रदेशका लागि तोकिएको केन्द्रीय कार्यकारिणी समितिको मंसीर २६ गतेको बैठकपछि समाजवादी पार्टीले जारी गरेको आन्तरिक परिपत्रमा उल्लेख छ ।

परिपत्र अनुसार प्रदेश १ ले ५० लाख, प्रदेश २ ले २ करोड, वागमती प्रदेशले २५ लाख, गण्डकी प्रदेशले २५ लाख, प्रदेश ५ ले ५० लाख, कर्णाली प्रदेशले १० लाख र सुदुरपश्चिम प्रदेशले १० लाख रपैयाँ संकलन गर्ने दायित्व पाएका छन् ।


यसबाहेक पार्टी केन्द्रले गैरभौगोलिक विशेष प्रदेशलाई २५ लाख र प्रवास पार्टी समितिबाट १ करोड गरी कूल ४ करोड ९५ लाख रुपैयाँ भवन निर्माणका लागि संकलन गर्ने निर्णय लिएको छ । भवन निर्माणका लागि सबै केन्द्रीय सदस्यहरुले ५ हजार अनिवार्य, संघीय परिषद सदस्य २ हजार र पार्टी सदस्यका लागि ५ सय अनिवार्य तोकिएको छ ।


प्रदेश सभासद, प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश अन्तर्गतका राजनीतिक नियुक्तिहरु, प्रदेश समिति, राष्ट्रिय समिति, पार्टीका जिल्ला र स्थानीय तह तथा पार्टी सदस्यहरुको हकमा प्रदेश समितिले सहयोग संकलन गर्ने योजना बनाइएको छ । परिषद सदस्यहरु, संघीय संसद र सरकारी तथा राजनीतिक नियुक्तिहरुको हकमा भने सोझै भवन निर्माण समितिले नै सहयोग संकलन गर्ने समाजवादी पार्टीको निर्णय छ ।


समाजवादी पार्टीले केन्द्रीय कार्यालय भवन बनाउने कार्ययोजना अनुसार पार्टीको भवन निर्माणका लागि आर्थिक सहयोग जुटाउन पार्टी कार्यमा वल पुर्‍याउन सबैमा अपिलसमेत गरेको छ । भवन निर्माणका लागि १ लाख देखि ५ लाखसम्म सहयोग गर्नेको नाम शिलालेखमा, ५ लाख भन्दा माथिको सहयोगिको नाम ताम्रपत्रमा समावेश गर्ने पनि निर्णय गरेको छ ।


पार्टीका प्रदेश समितिहरुलाई आफ्नो प्रदेश भित्रको सम्पूर्ण श्रोत साधन र सम्भावनाहरुलाई परिचालित गरेर पार्टी भवन निर्माण कोष संकलन गर्न सक्रियता र तत्परतापूर्वक लाग्न निर्देशित दिएको छ । भवन निर्माणका लागि सहयोग गर्न इच्छुकले पार्टीको खातामा सोझै जम्मा गर्न सक्ने समाजवादीले जनाएको छ ।


यसअघि असोज २७ बैठकले पार्टीका वरिष्ठ नेता अशोककुमार राईको नेतृत्वमा ११ सदस्यीय भवन निर्माण समिति गठन गरेको थियो । भवन निर्माण समितिका सदस्यहरुमा राजेन्द्र श्रेष्ठ, हिसिला यमी, मोहम्मद इस्तियाक राई, दुर्गा सोब, प्रेमनारायण थापा, गणेश योञ्जन, वीरेन्द्र महतो, आङ्‌काजी शेर्पा, श्रवण अग्रवाल र कमला गुरुङ छन् ।

प्रकाशित : माघ ७, २०७६ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?