१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

छाउगोठ बसेकामा पछुतो

चाँदनी कठायत

वीरेन्द्रनगर — छाउपडी प्रथा रहेको गाउँमा सोमबार पूर्वमिस नेपाल शृंखला खतिवडा पुगेकी छन् । सुर्खेतको पञ्चपुरी नगरपालिका–७ सान्ने पुगेकी हुन् । उनले ‘छुई बार्नु हुँदैन’ भनेर सम्झाइरहँदा स्थानीय रामबहादुर बुढा सोचमग्न भए । आफ्ना श्रीमती, छोरी, दिदीबहिनीहरूलाई अहिलेसम्म छाउगोठमा बसालेकामा उनले पछुतो बोध गरे ।

छाउगोठ बसेकामा पछुतो

‘सबैले पहिलादेखि नै मान्दै आएकाले हामीले पनि पछ्यायौं,’ उनले भने, ‘देउता रिसाउँछन् भन्ने डर मनमा रहेकाले घरका महिलालाई घामको झुल्कै नपर्ने घरमा बसाल्यौं ।’ महिनावारी भएका बेला बस्नका लागि बनाइएका छाउघर अब भत्काउने उनले बताए । ‘सहरकी बहिनी हाम्रो गाउँमा आएर यसरी सम्झाउनुभयो,’ उनले भने, ‘आफ्नो घर नजिक बनाएको छाउगोठ भत्काउँछु र घरका कसैलाई पनि त्यस्तो ठाउँमा बसाल्दिनँ ।’


महिनावारी भएको समयमा सरसफाइ र खानपानमा ध्यान दिनुपर्छ खतिवडाले भनिरहँदा स्थानीय विमला बुढा भावुक भइन् । उनले सम्झिन्– आफू घरभन्दा टाढाको सानो कटेरामा बसेको । जुन कटेरामा उनी आफूलाई निकै असहज महसुस गर्थिन् । न हावा पस्थ्यो, न घाम । ‘बहिनीको कुराले मलाई सोच्न बाध्य बनायो,’ उनले भनिन्, ‘संस्कारका नाममा आफ्नो ज्यान नै जोखिममा पारेका रहेछौं ।’ अबदेखि छाउगोठ भत्काएर महिनावारी भएका बेला घरमै बस्ने उनले बताइन् । श्रीमान् पनि खतिवडाको कुरामा सहमत भई छाउगोठ भत्काउन मानेकामा विमला निकै खुसी भइन् ।


गाउँ पैसराकी शर्मिला देउवालाई छाउगोठ भत्काउने अभियान निकै चित्त बुझेको छ । आफ्नो गाउँ पुगेकी खतिवडासँग कुरा गर्दै उनले छाउगोठ भत्काउनका लागि प्रतिबद्धता गरेको पनि सुनाइन् । ‘गाउँका केही केटीहरूले त पहिल्यैदेखि भनेका थिए,’ उनले भनिन्, ‘उनीहरूले समाज भाँड्ने कुरा गरेको जस्तै लाग्थ्यो तर अहिले हामी महिलाका लागि भनेका रहेछन् भन्ने बुझ्दै छु ।’ अब कहिल्यै छाउगोठमा निसास्सिएर नबस्ने उनको अठोट छ । ‘छाउगोठबाट मुक्ति पाउन मन थियो,’ स्थानीय तारा सुनारले भनिन्, ‘सबैको पहलले हाम्रा श्रीमान्, सासूससुरा पनि मानेका छन् । अब यसबाट छुटकारा मिल्दै छ ।’ छाउगोठमै कुन रात अन्तिम हुने हो भन्ने पिरले अब नपोल्ने उनी सुनाउँछिन् ।


पूर्वमिस नेपाल खतिवडाले गाउँका महिलाले छाउगोठ भत्काएर घरमा बस्ने कुरालाई सकारात्मक रूपमा लिएको बताइन् । ‘यहाँको मेरो अनुभव निकै राम्रो रह्यो,’ उनले भनिन्, ‘यहाँका किशोरी र महिलाले छाउगोठ भत्काउने अभियानमा साथ दिन्छौं भन्नुभएको छ ।’ गाउँका धामीले समेत आफ्नै घरबाट छाउगोठ भत्काउने अभियान सुरु गर्न पनि आग्रह गरेको उनले बताइन् । ‘गाउँका सबै महिला पुरुषहरू सकारात्मक भएकामा निकै खुसी छु,’ उनले भनिन्, ‘यो अभियान सफल पार्न सबैको यस्तै साथको खाँचो छ ।’


खतिवडा अहिले छाउपडी प्रथाविरुद्धमा अभियन्ताका रूपमा लागिपरेकी छन् । छाउपडी व्याप्त गाउँमै पुगेर स्थानीय सरकार, महिला, किशोरी र प्रहरीलगायतसँग छलफल गर्ने गरेकी छन् । यसअघि उनी अछामको बाब्ला गाउँमा पनि पुगेकी थिइन् । सुर्खेतका पश्चिम क्षेत्रमा छाउपडी बार्ने चलन छ । केही दिनअघि गृहमन्त्रालयले छाउगोठ भत्काउन निर्देशन दिएपछि पश्चिम सुर्खेतका १८ सय छाउगोठमध्ये ११ सय ६० भत्काइसकेको प्रदेश प्रहरी प्रमुख डीआईजी पूर्णचन्द्र जोशीले जानकारी दिए ।

प्रकाशित : माघ ७, २०७६ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?